धनकुटा । सामुदायिक भवन निर्माण गर्ने उद्देश्यले धर्मगंगा तथा कैलाशनाथ धाम मन्दिर परिसरमा आयोजित पुरुस्वतम मास माहात्मा तथा श्रीमद्मत्स्य महापुराणबाट भएको आम्दानी तथा खर्च विवरण सार्वजनिक गरिएको छ ।
आयोजक राधारानी मिलीजुली महिला समूहले बुधबार नेपाल पत्रकार महासंघ धनकुटाको सभाहलमा पत्रकार सम्मेलन आयोजना गरी महापुराणको आय–व्यय विवरण सार्वजनिक गरेको हो । गत जेठ ६ गतेदेखि १३ गतेसम्म सञ्चालन भएको महापुराणमा विभिन्न भक्तजन, दाता, कार्यालय तथा संघसंस्थाबाट कुल ७ लाख ६२ हजार ९५ रुपैयाँ आम्दानी भएको जनाएको छ । त्यसमध्ये ५ लाख ८५ हजार ८ सय ५ रुपैयाँ खर्च भई १ लाख ७६ हजार २ सय ९० रुपैयाँ बचत भएको जानकारी पत्रकार सम्मेलनमार्फत दिइएको थियो ।
पत्रकार सम्मेलनमा राधारानी मिलीजुली महिला समूहकी अध्यक्ष निरुता कटुवालले मन्दिर परिसरमा सामुदायिक भवनको कोठा निर्माणका लागि विभिन्न दाताबाट सहयोग गर्ने प्रतिबद्धता प्राप्त भएको बताइन् । उनले धार्मिक तथा सामाजिक उद्देश्यका लागि आवश्यक पूर्वाधार निर्माणमा समुदाय र दाताको सहयोग महत्वपूर्ण रहने उल्लेख गरिन् । समूहले सामुदायिक भवन निर्माणका लागि थप सहयोग र सहकार्यको अपेक्षा गर्दै धार्मिक गतिविधिसँगै सामाजिक विकासका कार्यलाई पनि निरन्तरता दिने जनाएको छ ।



हुलाकी पाटी 
















प्रतिक्रिया दिनुहोस्