images
images
images

धरान-धनकुटा सडक खण्डको मुलघाट मास्तिर सवारी दुर्घटना हुँदा ११ जना घाइते (नामावलीसहित)

images

धनकुटा । धनकुटा नगरपालिका–९ च्याङच्याङबारीस्थित कोशी राजमार्गमा शुक्रबार यात्रुवाहक बस दुर्घटना हुँदा ११ जना घाइते भएका छन् । प्रहरीका अनुसार दिउँसाे  २ः४० बजे संखुवासभाबाट धरानतर्फ जाँदै गरेको को १ ख ७७८८ नम्बरको बस अचानक अनियन्त्रित भई सडकमा दुर्घटनाग्रस्त भएको हो ।

दुर्घटनाबारे जानकारी प्राप्त हुनासाथ प्रहरी चौकी मुलघाटबाट प्रहरी वरिष्ठ नायब निरीक्षक हरिकुमार राईको कमाण्डमा चार जनाको टोली घटनास्थलमा खटिएको थियो । त्यसैगरी जिल्ला प्रहरी कार्यालय धनकुटाबाट प्रहरी निरीक्षक रामप्रसाद खनालको नेतृत्वमा थप १३ जना प्रहरी परिचालन गरी उद्धार कार्य सञ्चालन गरिएको प्रहरीले जनाएको छ । बसमा सवार करिब १५ यात्रुमध्ये ११ जना सामान्य घाइते भएका छन्। घाइतेहरूलाई तत्काल उपचारका लागि स्थानीय स्वास्थ्य संस्थातर्फ पठाइएको प्रहरीले जनाएको छ ।

images
images

घाइते हुनेहरूमा सुनसरीको धरान उपमहानगरपालिका–११ निवासी २८ वर्षीया सबिता थापा र उनकी १६ वर्षीया छोरी आरुसी थापा रहेका छन्। उनीहरूको हातखुट्टामा चोट लागेको छ ।

यस्तै, मोरङको सुन्दरहरैंचा नगरपालिका–११ निवासी २६ वर्षीया अमृता तामाङको टाउको र अनुहारमा चोट लागी मध्यम अवस्था रहेको छ भने उनकी ३ वर्षीया छोरी सृयान्सी तामाङको बाहिरी चोट नदेखिएको र अवस्था सामान्य रहेको छ ।

संखुवासभाको धर्मदेवी नगरपालिका–१ निवासी ३४ वर्षीया अनिसा कटुवालको टाउकोमा सामान्य चोट लागेको छ। धनकुटाको महालक्ष्मी नगरपालिका–६ निवासी २५ वर्षीया सङ्गीता राईको बायाँ खुट्टामा चोट लागेको छ ।

त्यसैगरी, धर्मदेवी नगरपालिका–१ कै ११ वर्षीया पवित्रा कटुवाल, मोरङको कानेपोखरी गाउँपालिका–६ निवासी ४७ वर्षीय चक्रबहादुर तामाङ, धर्मदेवी नगरपालिका–३ निवासी १५ वर्षीया संजिला खत्री तथा बसका सहचालक धर्मदेवी नगरपालिका–१ निवासी ३५ वर्षीय इन्द्रबहादुर तामाङ घाइते भएका छन्। उनीहरूको अवस्था सामान्य रहेको प्रहरीले जनाएको छ।

दुर्घटनापछि केही समय अवरुद्ध भएको सडक हाल एकतर्फी रूपमा सञ्चालनमा आएको छ। दुर्घटनास्थल प्रहरी चौकी मुलघाटबाट करिब चार किलोमिटर उत्तरतर्फ रहेको छ । घटनाबारे थप अनुसन्धान भइरहेको प्रहरीले जनाएको छ ।

images
images

प्रतिक्रिया दिनुहोस्