धनकुटा । प्रतिनिधि सभा संसदमा बाँदर व्यवस्थापनबारे बहस चलिरहँदा धनकुटा नगरपालिका–९ बेलहराकी ७० वर्षीया नरमाया श्रेष्ठ भने आफ्नो मकैबारी जोगाउन दिनभर बारीको डिलमा बसेर बाँदर धपाउन बाध्य छिन्। उनले मकैबारीको डिलमा टिनको छानो हालेर बाँसको सानो टहरा बनाएकी छिन्। टहरामुनिको बारीमा मकैमा घोगा लागेको छ, टुसा पलाउन थालेका छन्। यही बेला बाँदरले सबैभन्दा बढी क्षति पुर्याउने भएकाले उनी केही दिनयता बिहानदेखि साँझसम्म बारीमै पहरा दिन थालेकी हुन् । “यसरी नबसे मकै जोगिँदैन,” नरमायाले भनिन्, “दिनभर यही टहरामा बसेर पहरा दिनुपर्छ।”
नरमायाको बारीभन्दा केही पर ६५ वर्षीय पूर्णबहादुर विश्वकर्मा पनि आफ्नै मकैबारी जोगाउन दिनभर बाँदर रुगिरहेका भेटिन्छन् ।उनको दैनिकी पनि पछिल्ला केही दिनयता यस्तै बनेको छ । “मकै घरमा नभित्र्याउँदासम्म यसरी नै रुग्नुपर्छ,” उनी भन्छन्, “बिहान ५ बजेदेखि बेलुका ६ बजेसम्म बारीमै बस्छु।” नरमाया र पूर्णबहादुर मात्र होइन, बेलहराका अधिकांश किसान यस्तै बाध्यतामा छन्।
नरमायाका अनुसार गाउँका करिब २०–२५ घरपरिवारले बारीको डिलमा टहरा बनाएर पालैपालो बाँदर धपाउने गरेका छन्।
मकै यस क्षेत्रको मुख्य खाद्यान्न बाली हो। तर मकैमा घोगा लाग्ने समयमा बाँदरको उपद्रव अत्यधिक बढ्ने गरेको छ। पछिल्ला वर्षहरूमा बाँदरले मकै मात्र होइन, नगदे बालीसमेत नष्ट गर्न थालेपछि किसानको चिन्ता झन् बढेको छ।
“के गर्नु, मकै नरोपौँ भने बारी बाँझै हुन्छ,” नरमाया भन्छिन् ।

बेलहरा आसपास मुलाबारी, साँवाबारी र भैसाखा गरी तीन वटा सामुदायिक वन छन्। ती वन बस्ती र खेतीयोग्य जमिनसँगै जोडिएका छन्। स्थानीयका अनुसार यी वन बाँदरको मुख्य वासस्थान भएकाले बिहान जंगलबाट निस्किने बाँदर दिनभर मकैबारीमा पस्ने गर्छन्।
नरमाया बिहानै टहरामा पुग्छिन्। भोक लागेपछि त्यहीँ बनाएको चुलोमा खाना पकाएर खान्छिन्। टहरा नजिकै दाउरा र भाँडाकुँडा पनि राखिएको छ।
बाँदर बारीमा आउँदा स्थानीयले थाल ठट्याउने, ढुंगा हान्ने र कुकुर लगाएर धपाउने गर्छन्। तर ठूलो हुलमा आउने बाँदरलाई धपाउन निकै कठिन हुने नरमाया बताउँछिन्।
“हुलै बाँधेर आउँछन्,” उनी भन्छिन्, “गन्नै नसकिने हुन्छन्। झुक्याएर मकै खाइदिन्छन्।”
दिनभर बारीमा बस्दा उनीहरू मोबाइल वा रेडियोमा गीत सुन्दै समय बिताउँछन्। तर ध्यान भने सधैं बारीतिरै हुन्छ।
पूर्णबहादुर विश्वकर्मा भन्छन्, “ढुंगा हान्यौँ, कुकुर लगायौँ, मान्छे भएर खेदायौँ। मकै नभाँचुञ्जेल यसरी नै रुग्नुपर्छ। घरका जवानहरू रोजगारीका लागि बाहिर छन्। महिलाहरू र केटाकेटीलाई बाँदरले टेर्दैनन्। त्यसैले हामी वृद्धवृद्धा नै बारीमा बस्नुपरेको छ।”
नरमायाले असार लागेदेखि बाँदर धपाउन थालेकी हुन्। “भदौसम्म यसरी नै रुग्नुपर्छ,” उनी भन्छिन्, “अहिले भर्खर मकै सेताम्मे हुँदैछ।”
धनकुटा नगरपालिका–९ का वडाध्यक्ष टंकप्रसाद रोइलाका अनुसार बाँदरको समस्या बेलहरामा मात्र सीमित छैन।
“यो अहिले राष्ट्रिय समस्या बनेको छ,” उनी भन्छन्, “मकै मात्र होइन, किसानले लगाएका नगदे बाली र घरमा भण्डारण गरिएको अन्नपातसमेत बाँदरले नोक्सान गर्ने गरेको छ।”
उनका अनुसार स्थानीय तहले विभिन्न उपाय अपनाए पनि स्थायी समाधान नहुँदा किसान वर्षेनि सास्ती बेहोर्न बाध्य छन्।
बाली जोगाउन दिनभर बारीमा बस्नुपर्ने अवस्था किसानका लागि शारीरिक रूपमा कष्टकर मात्र होइन, मानसिक रूपमा पनि थकाइपूर्ण बन्दै गएको छ। संसददेखि गाउँसम्म बाँदर व्यवस्थापनको बहस भइरहे पनि प्रभावकारी नीति र दीर्घकालीन समाधान नआउँदासम्म बेलहराका नरमाया र पूर्णबहादुरजस्ता किसानको दैनिकी भने बारीको डिलमा टहराको पहरामै बितिरहने देखिन्छ ।



हुलाकी पाटी 












प्रतिक्रिया दिनुहोस्