images
images
images

धनकुटा नगरपालिकामा हाई–क्यास परियोजनाको सम्झौता

images

हरिबहादुर लम्जेल

धनकुटा ।  हिन्दुकुश हिमालय क्षेत्रमा जलवायु परिवर्तनका असर न्यूनीकरण तथा स्थानीय समुदायको उत्थानका लागि सञ्चालन भइरहेको इन्टिग्रेटेड क्लाइमेट एडप्सन सोलुसन फर द हिन्दुकुश हिमालय (हाई–क्यास) परियोजनाका लागि धनकुटा नगरपालिकासँग सम्झौता भएको छ ।

images
images

बुधबार आयोजित कार्यक्रममा धनकुटा नगरपालिकाका नगरप्रमुख चिन्तन तामाङ, अन्तर्राष्ट्रिय एकीकृत पर्वतीय विकास केन्द्र (इसिमोड)का महानिर्देशक पेमा ग्याम्त्सो र वातावरणीय तथा कृषि नीति अनुसन्धान, विस्तार तथा विकास केन्द्र (सिप्रेड)का कार्यकारी निर्देशक जय मुकुन्द खनालले संयुक्त रुपमा परियोजनाको आशयपत्रमा हस्ताक्षर गरेका हुन् ।

ग्लोबल अफेयर्स क्यानडाको सहयोगमा इसिमोडको नेतृत्व तथा सिप्रेडसँगको सहकार्यमा सञ्चालन भइरहेको हाई–क्यास परियोजना धनकुटा नगरपालिका वडा नं. ८ तथा काभ्रेपलाञ्चोकको रोशी गाउँपालिका वडा नं. १ र २ मा कार्यान्वयन भइरहेको छ । नेपालमा यो परियोजना सन् २०२६ मार्चदेखि सञ्चालनमा रहेको छ ।

परियोजनाअन्तर्गत लैङ्गिक समानता तथा सामाजिक समावेशीकरण, मुहान संरक्षण तथा व्यवस्थापन, नवीकरणीय ऊर्जा र कृषि जैविक विविधता संरक्षणलाई एकीकृत गरी स्थानीय रूपमा पहिचान भएका जलवायु जोखिम सम्बोधन गरिने बताइएको छ । परियोजनाले जोखिममा रहेका समुदाय, जीविकोपार्जन, पारिस्थितिक प्रणाली तथा कृषि जैविक विविधताको उत्थान गर्ने लक्ष्य राखेको छ

परियोजनाको एकीकृत अनुकूलन समाधान प्याकेजअन्तर्गत जलाधार क्षेत्र व्यवस्थापन, सिँचाइ पहुँच सुधारका लागि नवीकरणीय ऊर्जा तथा स्थानीय समुदायले पहिचान गरेका जलवायु जोखिमलाई सम्बोधन गर्न कृषि जैविक विविधता संरक्षणलाई जोड दिइएको छ ।
समझदारीपत्रमा हस्ताक्षर भएपछि परियोजना साझेदारबीच भूमिका र जिम्मेवारी स्पष्ट हुनुका साथै स्थानीय तहका योजना, कार्यक्रम, प्राथमिकता तथा बजेटसँग परियोजनाका गतिविधिलाई जोड्ने अपेक्षा गरिएको छ । यसले स्थानीय स्वामित्व, दिगोपना तथा प्रभावकारी जलवायु अनुकूलनका अभ्यासलाई विस्तार गर्न सहयोग पुग्ने जनाइएको छ ।

कार्यक्रममा धनकुटा नगरपालिकाका प्रमुख चिन्तन तामाङले नगरपालिकाले यसअघि नै लैङ्गिक समानता तथा सामाजिक समावेशीकरण उत्तरदायी जलाधार क्षेत्र व्यवस्थापनलाई प्रवद्र्धन गरिरहेको बताए । उनले जलवायु अनुकूलनका समाधानलाई अपनाउँदै आगामी दिनमा यसको विस्तार गर्ने अवसर रहेको उल्लेख गरे। त्यस्तै रोशी गाउँपालिकाका अध्यक्ष दिनेश लामाले हाई–क्यास कार्यान्वयनका लागि आवश्यक सहयोग प्रदान गर्न नगरपालिका प्रतिबद्ध रहेको बताए। उनले वर्तमान सन्दर्भमा परियोजना अत्यन्तै सान्दर्भिक रहेको उल्लेख गरे।

इसिमोडका महानिर्देशक पेमा ग्याम्त्सोले परिवर्तनशील जलवायुको प्रभाव प्रायः महिला र आदिवासी समुदायले बढी महसुस गर्ने बताउँदै जोखिममा रहेका समुदाय, विशेषगरी महिला, किशोरी, आदिवासी तथा सीमान्तकृत समूहको लचिलोपन सुदृढ गर्ने परियोजनामा रोशी र धनकुटाको सहभागिता महत्वपूर्ण रहेको बताए ।

हाई–क्यासका वरिष्ठ परियोजना संयोजक जेसिका फुलवुड थोमसले स्थानीय रूपमा नेतृत्व गरिएको अनुकूलनको महत्वलाई जोड दिँदै स्थानीय आवश्यकता र प्राथमिकतासँग अनुकूलनका प्रयासलाई जोडेर अघि बढाउनुपर्ने बताइन् । सिप्रेडका कार्यकारी निर्देशक जय मुकुन्द खनालले परियोजना सुरुदेखि नै दुवै स्थानीय सरकारको प्रतिबद्धता र उत्साहप्रति आभार व्यक्त गर्दै आगामी दिनमा पनि सहकार्यलाई निरन्तरता दिने बताए ।

आशयपत्रले परियोजना र नगरपालिका विकास प्राथमिकताबीचको समन्वय तथा समायोजनलाई सुदृढ पार्दै साझेदारबीचका भूमिका र जिम्मेवारीसमेत स्पष्ट पारेको छ । साथै लैङ्गिक समानता तथा सामाजिक समावेशीकरण, जलाधार क्षेत्र व्यवस्थापन, नवीकरणीय ऊर्जा तथा कृषि जैविक विविधता संरक्षणप्रतिको प्रतिबद्धतालाई समेत सुदृढ गरेको छ । हाई–क्यास परियोजना क्यानडा सरकारद्वारा ग्लोबल अफेयर्स क्यानडा (GAC) मार्फत वित्तपोषित छ र सन् २०२८ को अन्त्यसम्म सञ्चालन हुनेछ ।

फोटो क्याप्सन ः वुधवार ललितपुरको खुमलटारस्थित इसिमोडको सभाहलमा आयोजित कार्यक्रम

images
images

प्रतिक्रिया दिनुहोस्