images
images
images

स्मृतिमा स्व. मंगला देवी सिंह

images

सुमना तिम्सिना

मैले मंगला देवी सिंहको पहिलो पटक नाम सुनेको नै उहाँको देहावसान भएको दिन हो। म कक्षा ८ मा पढ्थेँ जस्तो लाग्छ। त्यसबेला मलाई चिरञ्जीवी तिम्सिना दाजुले गणित पढाउँदै हुनुहुन्थ्यो। बिहान ७ बजेको समाचारमा मंगला देवी सिंहको मृत्यु भएको खबर सुनेपछि दाजुले हतारहतार उहाँको डायरीमा मृत्यु भएको मिति टिप्नुभयो र भन्नुभयो, “लौ, मंगला देवी सिंह पनि मरिन्।” मलाई लाग्छ, दाजु त्यसबेला अधिकृतका लागि लोकसेवाको तयारी गरिरहनुभएको हुनुपर्छ। को रहिछिन् मंगला देवी सिंह? मेरो मनमा प्रश्न उठ्यो, तर मैले दाजुलाई सोध्ने आँट गरिनँ। उहाँको बारेमा मैले पछि सुन्दा र पढ्दा पो थाहा पाएँ, दाजुले किन महत्त्वका साथ मंगला देवी सिंहको मृत्यु भएको मिति टिप्नुभएको रहेछ भनेर।

images
images

नेपाल महिला संघकी संस्थापक अध्यक्ष मंगला देवी सिंहको जन्म १९८१ सालमा काठमाडौंमा भएको थियो। उहाँको विवाह लौहपुरुष गणेशमान सिंहसँग १९९७ साल असारमा भएको थियो। विवाह गरेको चार महिनापश्चात् अर्थात् सोही सालकै कात्तिकमा प्रजापरिषद् काण्डमा परी गणेशमान सिंह जन्मकैद भएपछि मंगला देवी सिंह राणाविरोधी आन्दोलनमा सक्रिय रहनुभएको थियो। वि.सं. २००४ सालमा भूमिगत रूपमा नेपाल महिला संघको स्थापना गरिसकेपछि २००५ सालमा राणाहरूको निर्णयको विरोध गर्दै दरबारमा महिलाहरूको जुलुस लिएर जानुभएको थियो भने २००७ सालको क्रान्तिमा पनि महत्त्वपूर्ण भूमिका खेल्नुभएको इतिहास साक्षी छ। २०१७ सालमा संसदीय व्यवस्थाको अपहरणको विरोध गर्दा उहाँलाई पाँच वर्ष कैद गरिएको थियो (स्रोतः महिला खबर, प्रकाशित मितिः २०७४ भदौ)। पारिवारिक सुख–सयल अनि काखको दुधे बालकको समेत प्रवाह नगरीकन गर्नुभएको यो योगदानको कदर कति गर्दा पनि नसकिने छ।

२००७ सालमा नेपाली कांग्रेसको नेतृत्वमा मुलुकमा राणा शासनविरुद्ध ठूलो सशस्त्र क्रान्ति भयो। उक्त क्रान्तिमा मंगला देवी सिंह लगायत दिव्या कोइराला, नलिनी उपाध्याय, इन्दिरा आचार्य, विजया लक्ष्मी, नोना कोइराला आदिले गोप्य रूपमा क्रान्तिका लागि ल्याइएका हातहतियार राख्ने र घाइतेको औषधोपचार गराउनुका साथै क्रान्ति सफल पार्नका लागि आवश्यक भूमिका निर्वाह गर्नुभएको थियो। कतिखेर राणाहरूले समातेर पक्राउ गर्ने हुन्, थुन्ने हुन् भन्ने कुराको कुनै प्रवाह नगरी जसरी पनि राणाहरू हट्नुपर्छ, जनताको शासन आउनुपर्छ भनेर एकजुट भएर लाग्नुहुने तमाम् अग्रजहरूलाई आजको दिन म स्मरण गर्न चाहन्छु।

नेपाल महिला संघको गठन प्रजातन्त्र प्राप्तिका साथै महिला हक–हितका लागि स्थापना भएको थियो। प्रजातन्त्र प्राप्तिपश्चात् महिलाहरूले भोट हाल्न पाउनुपर्छ, पढ्न पाउनुपर्छ भन्ने आवाज नेपालको इतिहासमा उठाउने पहिलो निर्भीक र साहसी वीरांगना स्व. मंगला देवी सिंहको आज ३०औँ स्मृति दिवस हो। उहाँ आज हामीसामु हुनुहुन्न, तर उहाँका अनुयायीहरूले आज पनि त्यही जगमा टेकेर जनताका अधिकारभित्र पनि महिलाका विशेष अधिकारको कार्यान्वयनको पाटोमा आन्दोलन अझै गर्नुपरिरहेको यथार्थता छ। उहाँले जहिले पनि अधिकारका साथै कर्तव्यको पाटो बिर्सन नहुने कुरा उल्लेख गर्नुभएको छ, जुन कुरा आजको दिनमा पनि उत्तिकै सान्दर्भिक छ।

महिला संघको गठनपश्चात् त्यस समयमा उहाँले शिक्षाको विकासका लागि महिला विद्यालयको स्थापना गर्न पहल गर्नुभएको थियो। त्यस बेलादेखि हालसम्मका महिला मुक्ति आन्दोलनको सफलताले राज्यको नीति निर्माण गर्ने तहमा महिलाहरूको उपस्थितिले ३३ प्रतिशत महिला आरक्षणको सुनिश्चितता भइसकेको वर्तमान सन्दर्भसम्मलाई हेर्दा नेपालमा महिला आन्दोलनले केही उल्लेख्य उपलब्धि हासिल गरेको छ, तर पूर्ण रूपमा भने छैनन्। महिला सहभागिता ५० प्रतिशत पुर्‍याउन तथा अन्य उल्लेख्य अधिकारको सुनिश्चितताका लागि महिला मुक्ति आन्दोलन जारी नै रहनेछ।

वि.सं. २००७ सालअघि राजनीतिमा महिला सहभागिता शून्य थियो। आर्थिक, सामाजिक, सांस्कृतिक र राजनीतिक अधिकारबाट महिलाहरू वञ्चित पारिएका थिए। यस्तो वञ्चितीकरण सहन नसकेर राणा शासनविरुद्ध आवाज उठाउन नेपालको पहिलो महिला योद्धा योगमाया न्यौपानेको योगदान अतुलनीय छ। महिलाको मात्र त के कुरा, त्यसबेला त सम्पूर्ण नेपाली जनताको अधिकार नै कुण्ठित भएका बेला पुरुषहरूलाई राजनीतिमा सफल बनाउनका लागि महिलाहरूको महत्त्वपूर्ण भूमिका रहेको देखिन्छ। त्यस्तै मंगला देवी सिंहको पनि गणेशमान सिंहलाई सर्वमान्य नेता बनाउनका लागि ठूलो योगदान रहेको छ।

महिलाहरूका लागि मताधिकार र विद्यालय स्थापना हुनुपर्ने मागबाट सुरु भएको आन्दोलनले महिलाहरूलाई राजनीतिकदेखि प्रशासनिक क्षेत्रको उच्च स्थानसम्म पुर्‍याउन सफल भएको छ। विगत र वर्तमानलाई तुलना गर्ने हो भने आर्थिक, सामाजिक, शैक्षिक तथा राजनीतिक रूपमा धेरै परिवर्तन भएको देखिन्छ। संविधानमा महिलाका कानुनी अधिकार तथा राज्यका हरेक तह र तप्कामा ३३ प्रतिशत अनिवार्य समावेश गर्नुपर्ने नीतिले महिलाहरूलाई देशको राजनीतिमा सशक्त भूमिका खेल्ने अवसर प्रदान गरेको छ।

त्यस्तो अप्ठ्यारो परिस्थितिमा पनि महत्त्वपूर्ण भूमिका निर्वाह गर्नुभएका महिला नेताहरूको सपना साकार पार्नका लागि उनै मंगला देवी सिंहको नेतृत्वमा स्थापना भएको नेपाल महिला संघले आजका महिलाहरूका जल्दाबल्दा समस्यासँगै विविध क्षेत्रमा कार्यरत कामकाजी महिलाहरूका समस्याहरू कस्ता छन्? गृहिणी महिलाहरूका समस्या के–कस्ता छन्? राजनीतिक तथा सामाजिक क्षेत्रमा काम गर्ने महिलाहरूका समस्याहरूलाई समेत मध्यनजर गरी सम्बोधन गर्नका लागि अझै जुझारु भएर लाग्नुपर्ने देखिन्छ। अझै पनि संविधानमा व्यवस्था भएअनुसार व्यवहारमा पूर्ण रूपमा लागू नभइसकेको अवस्था छ। त्यसलाई प्रभावकारी कार्यान्वयनमा ल्याउनका लागि नेपाल महिला संघले तल्लो तहदेखि माथिल्लो तहसम्म आन्तरिक छलफलमा जुट्नुपर्ने, महिलाहरूलाई थप सशक्त बनाएर संविधानले दिएको अधिकार प्राप्तिका लागि योग्य बनाउनुपर्ने जिम्मेवारी पनि देखिन्छ।

(लेखक तिम्सिना नेपाली कांग्रेसको महासमिति सदस्य र नेपाल महिला संघको महाधिवेशन प्रतिनिधि हुनुहुन्छ)

images
images

प्रतिक्रिया दिनुहोस्