धनकुटा । सीमान्तकृत माझी जातीले कोशी पुजा गरेर लदी पर्व मनाएका छन् । माझी जातीले हरेक वर्ष फागुनको तेस्रो मङ्गलवार विशेष पर्वको रुपमा लदी पर्व मनाउने चलन छ । धनकुटाका तमोरनदीको वस्तीमा रहेका माझी जातीले पनि लदी पर्व धुमधामका साथ मनाएका छन् । तमोर गढको वस्ती भैसेटार, फलामेटार, सदमटार, साप्तिङटार, अरुण नदीको गढ लेगुवा क्षेत्रमा बसोवास गर्ने माझी जातीको दुई सय भन्दा बढी घरपरिवारको बसोवास छ । उनीहरुले तमोर तथा अरुण नदीमा पुजाआजा गरि लदी पर्व मनाए । नदीमा माछा मार्दा र डुङ्गा तार्दा मानवीय क्षति नहोस् भन्ने कामनासहित वर्षेनी माझी जातीले लदी पर्वको दिन कोशीमा विशेष पूजाआजा गर्दै आइरहेका छन् । माझी जातीले आजको दिन खोलाको संगममा सामूहिक विशेष पूजाआजा गर्दै खोलालाई बोका, कुखुरा र परेवाको बली दिने गर्छन् । तमोर गढको वस्तीमा समुदायको बाक्लो बसोबास रहेको छ । पछिल्लो समय लोप हुँदै गएको अवस्थामा माझी जाती यूवाहरुको सक्रियतामा लदी पर्व धुमधामका साथ मनाइएको साँगुरीगढी गाउँपालिका वडा नं. ३ का महेन्द्र माझीले बताए ।
सडक विस्तार गर्ने क्रममा नदिनालामा पुल निर्माण भएसँगै माझी जाती मुख्य पेशा माछा मार्ने, डुंगा (नाउ) मा मानिसहरुलाई नदी तार्ने काम बन्द भएपछि लदि पर्व मनाउने चलन पनि बन्द भएको थियो । तर लदि पर्वलाई संरक्षण गर्नुपर्छ भन्ने उद्देश्यले विगत तीन वर्षदेखि मनाउन सुरु गरिएको हो । लदी पूजाले माझी जातीवीच भेटघाट गर्ने अवसर समेत जुर्ने गरेको छ । लदि पूजामा आएका माझी जातीले मौलिक पोशाक गुनिउ चोली र फेटा स्टकोटमा सजिएका थिए । चामलको पिठोबाट वन्ने गोलमाडी परिकार खाने चलन रहेको छ । माझी जातीको लदी पर्व संरक्षणको लागि पछिल्लो समय स्थानीय तहले पनि सहयोग गर्दै आइरहेको साँगुरीगढी गाउँपालिका अध्यक्ष जितेन्द्र राईले बताए ।
नदीको किनारमा ढुंगाको देवता, सिमली र बाँसको थान बनाएर नाउ, माछा मार्ने जाल, माछा हाल्ने फुरुङ्गोलाई पुजा गर्ने चलन छ । माझी समुदायले मुख्य पर्वको रुपमा मनाउने यस पूजाको संरक्षण आवश्यकता भएको उनीहरूको भनाइ छ ।








हुलाकी पाटी 













प्रतिक्रिया दिनुहोस्