काठमाडौं । राष्ट्र बैंकका पूर्व कार्यकारी निर्देशक नरबहादुर थापाले वर्तमान समयमा बैंकिङ क्षेत्र प्रतिस्पर्धात्मक र प्राविधिक चुनौतीबाट गुज्रिरहेको बताएका छन् ।
आज उडान शैक्षिक केन्द्रले आयोजना गरेको कार्यक्रममा बैंकिङ सेवामा प्रवेश गरेका विद्यार्थीहरूलाई बधाई दिँदै थापाले विश्वमै बैंकिङ क्षेत्र अहिले धेरै चुनौतीपूर्ण र प्रतिस्पर्धात्मक हुँदै गएको बताए । उनले बैंकिङ क्षेत्रमा भर्खरै प्रवेश गरेका विद्यार्थी र कर्मचारीहरूले नयाँ प्रविधिको प्रयोगमा सकेसम्म निपूर्ण हुनुपर्नमा जोड दिँदै भने, ‘काम गर्दा तपाईंहरूले केवल बैंकिङ प्रणालीका आधारभूत सीप मात्र होइन, नवीनतम प्रविधिहरू र आर्थिक विश्लेषणका विविध पद्धतिहरू पनि सिक्ने अवसर पाउनुहुनेछ।’
थापाले बैंकिङ क्षेत्र परम्परागत तहमा सीमित नरहेर नयाँ प्रविधिसँगै अघि बढिरहेको बताए । उनले नेपालमा बैंकिङ क्षेत्रका प्रतिस्पर्धात्मक चुनौतीहरु बढ्दो क्रममा रहेको उल्लेख गर्दै प्राविधिक चुनौतीको सामना गर्न नयाँ पिढी सक्षम हुनुपर्ने बताए ।
चुनौतीहरूको विश्लेषण गर्दै थापाले भने, ‘बैंकिङ क्षेत्र अब केवल परम्परागत तहमा सीमित छैन, यसको प्रतिस्पर्धा र चुनौतीहरू दिनानुदिन बढ्दै गइरहेका छन्। अहिले कामका लागि १२ घण्टा समय दिनुपर्ने र ठूलो दबाब भई जागिर छोड्ने प्रवृत्तिहरू देखिन थालेका छन्। यो अवस्था सुधार्न प्रविधि र नयाँ सीपहरूको प्रयोग अत्यन्त महत्त्वपूर्ण छ । नयाँ पुस्ता सजग हुनुपर्छ ।’

उनले प्रविधिको प्रभाव र यसको महत्त्व बढ्दै गैरहेको भन्दै बैंकिङ सेक्टरमा करिअर बनाउन चाहनेका लागि प्राविधिक ज्ञान र सीप अनिवार्य आवश्यकता भएको औंल्याए । ‘यदि तपाईं बैंकिङ क्षेत्रमा उत्कृष्ट करियर बनाउन चाहनुहुन्छ भने, डिजिटल प्लेटफर्म र प्रविधि सम्बन्धी ज्ञानका लागि तपाईँले अनिवार्य रूपमा ध्यान दिनुपर्छ। यससँगै ग्रीन फाइनान्स र म्याक्रो फाइनान्स जस्ता नयाँ क्षेत्रमा पनि ध्यानदिन आवश्यक छ,’उनले भने।
बैंकिङ क्षेत्रमा विद्यार्थीको भविष्य उज्वल रहेकाले अवसर र चुनौतीहरूलाई स्वीकार्दै नयाँ सीप र प्रविधिको उपयोग गर्न आवश्यक रहेको थापाको धारणा छ ।




हुलाकी पाटी 













प्रतिक्रिया दिनुहोस्