धनकुटा । १७ औं संस्करणको सहिद भीमनारायण गोल्डकपको उपाधिका लागि आज उदयपुरको गाईघाट फुटवल क्लव र सप्तरीको नमोवुद्ध युथ क्लव वीच प्रतिस्पर्धा हुँदैछ । धनकुटा सदरमुकाम स्थित तल्लो टुँडिखेलमा भीमनारायण गोल्डकपको फाइनल खेल हुँदैछ । यी दुई टोली वीच पहिलो पटक प्रतिस्पर्धा हुन लागेको हो ।
प्रतियोगितामा उत्कृष्ट खेल प्रदर्शन गर्दै फाइनल यात्रा तय गरेका यी दुई टिम विचको प्रतिस्पर्धा रोमाञ्चक हुने अनुमान गरिएको छ ।
पहिलो पटक सहभागिता जनाउँदै फाइनल पुगेको सप्तरीको नमोवुद्ध युथ क्लवले गतसंस्करणको साविक विजेता झापाको विर्तामोड युनाइटेड क्लवलाई सेमिफाइनलको खेलमा ३–१ गोलअन्तरले पराजित गरेको थियो । त्यस्तै उदयपुरको गाईघाट फुटवल क्लवले विभागीय टोली सशस्त्र प्रहरी वलको एपिएफ क्लवलाई २–१ गोलअन्तरले पराजित गर्दै फाइनलमा स्थान बनाएको थियो ।
गत चैत्र पहिलो हप्ता पाँचथरको फिदिममा सम्पन्न पाँचौ पाँचथर गोल्डकपको फाइनल खेलमा सहिद स्मारक एक डिभिजन क्लव मछिन्द्र एफसीलाई स्तब्ध पार्दै सप्तरीको नमो वुद्ध युथ क्लवले उपाधी जितेको थियो । त्यस्तै उदयपुरको गाईघाट फुटवल क्लवले धरानमा हालै सम्पन्न कोशी प्रदेश स्तरीय लिगको उपाधी जितेको थियो ।
आज हुने विजेता टिमले उपाधि सहित नगद ५ लाख रुपैया ट्रफी प्राप्त गर्नेछ । भने उपविजेताले २ लाख ५० हजार रुपैया ट्रफी प्राप्त गर्ने प्रतियोगिताको संयोजक शम्भु प्रधानले बताए । विधागत रुपमा उत्कृष्ट हुने खेलाडीलाई पुरस्कारको व्यवस्था समेत गरिएको उनले
बताए ।
सहिद भीमनारायण स्मृति प्रतिष्ठानको आयोजनामा गतचैत्र १७ गतेदेखि प्रतियोगिता सुरु भएको हो । २०५५ सालमा सुरु भएको यो प्रतियोगिताको यो १७ औ संस्करण हो । प्रतियोगितामा ८ टिमको सहभागिता जनाएका थिए । शहीद भीमनारायण श्रेष्ठलाई विराटनगरमा राजा विरेन्द्रलाई बम हानेको आरोपमा पक्राउ गरि २०३५ सालमा तत्कालिन सरकारले गोली हानी हत्या गरेको थियो । उनलाई तत्कालीन् सरकारले २०७३ सालमा राष्ट्रिय सहिद घोषणा गरेको थियो । श्रेष्ठकोसम्झनामा हरेक वर्ष प्रतियोगिता संचालन हुँदै आइरहेको छ ।





हुलाकी पाटी 













प्रतिक्रिया दिनुहोस्