images
images
images

आत्मनिर्भर स्थानीय तहका लागि बजेट निर्माणका वैकल्पिक सोच

images

अहिले देशैभरिका स्थानीय तहहरू आफ्नो बजेट निर्माणको अन्तिम तयारीमा लागेका छन् । हुन त बजेट निर्माणका सन्दर्भमा स्थानीय तहलाई दिशानिर्देश गर्ने थुप्रै नीति नियम, ऐन तथा कानुनहरू र सीमा रहेका छन् । बजेटलाई कनिका छरेजस्तो नछर्ने भनिएता स्थानीय तहमा रहेका सम्पूर्ण क्षेत्रहरू ग्रामीण सडक शिक्षा कृषि पर्यटन जस्ता सम्पूर्ण क्षेत्रहरूलाई समेट्नै पर्ने बाध्यता रहेको हुन्छ यसकारण पनि स्थानीय तह आत्मनिर्भर बन्ने तर्फ उन्मुख हुन सकिरहेका छैनन् यसलाई मध्यनजर गरि केही आत्मनिर्भर बन्ने किसिमका कार्यक्रमहरू स्थानीय निकायबाट बन्नु आवश्यक हुन्छ ।

– आफ्नो स्थानीय तहभित्र उत्पादन हुने कृषि उपजलाई किसानहरू मार्फत नै सङ्कलन गरि ब्रान्डिङ र प्याकेजिङ गरि निर्यात गर्ने किसिमका कार्यक्रम बनाउन सकिन्छ उदाहरणका लागी बेसारलाई प्रसोधन गरि ब्रान्डिङ सहित बजारमा पठाउने जस्ता कार्यक्रम बनाउन सके कृषकहरू लाभान्वित भई स्थानीय तह आत्मनिर्भर तर्फ उन्मुख हुने थियो ।

images
images

– पछिल्लो समय बाँदर आतङ्क बाट पीडित कृषकहरूका लागी बाँदरबाट कम क्षति हुने कृषि उपज, वन पैदावार तथा जडिबुटीका बेर्ना लगाउन सकिने कार्यक्रम बनाउन सकिन्छ जसमा प्रसस्त सम्भावना बोकेका केही बिरुवाहरू जस्तैः- बेल, निम, एलोभेरा, टिमुर लगायतका बिरुवा लगाउन प्रोत्साहन गर्ने किसिमका कार्यक्रम बनाउन आवश्यक छ ।

– पछिल्लो समय स्थानीय तहहरूमा आफ्नो भवन आसपास नै मूलबाट उम्रेको शुद्ध खानेपानी हुँदाहुँदै पनि विभिन्न बैठक तालिम तथा दैनिक जस्तो निकै ठुलो परिमाणमा मिनरल वाटरका बोटलहरू खपत हुने गरेका छन् यसको सट्टा स्थानीय तहभित्रका सम्पूर्ण कार्यालय तथा सञ्चालन हुने सम्पूर्ण किसिमका कार्यक्रममा स्थानीय पानीलाई मात्र प्रयोग गर्ने हो भने पनि स्थानीय तहको फजुल खर्च घट्ने देखिन्छ ।

– स्थानीय तहहरूमा बुढापाकालाई वितरण हुनै चाइनिज लौराको सट्टामा यहीँ पाइने कटुस, घंघौरी जस्ता काठका आकर्षक लौरा बनाई बितरण गर्ने किसिमका कार्यक्रम बनाउन सके एकातिर मौलिकता हराउने थिएन भने आम्दानीको समेत राम्रो स्रोत बन्ने   थियो ।

– स्थानीय तहभित्र सञ्चालन हुने कार्यक्रम, अतिथि सत्कार आदिमा प्लाष्टिकबाट निर्मित खादाको सट्टा स्थानीय फुलका माला, रुद्राक्षका माला आदि प्रयोग गर्ने किसिमका कार्यक्रम बनाउने हो भने फजुल खर्च जोगिनुका साथै वातावरण संरक्षणमा समेत सहयोग पुग्ने देखिन्छ जस्तै धनकुटाको महालक्ष्मी नगरपालिकाले विगत केही समय देखी हरेक कार्यक्रममा रुद्राक्षको माला प्रयोग गरिरहेको छ ।

– एक आर्थिक वर्षको बजेट निर्माण भैरहँदा कम्तिमा विदेशबाट फर्किएका आफ्नो पालिकाका १० युवा युवतीहरूलाई विदेशमा सिकेको सीप यहीँ प्रयोग गरि व्यवसाय सञ्चालन गर्न सक्ने गरि कार्यक्रम बनाउनु पर्छ । 

– हाल धेरै विद्यालयहरूमा विद्यार्थी सङ्ख्या अत्यन्त न्यून रहेको अवस्था छ र प्राय सबै ठाउँमा ग्रामीण सडकको पहुँच पुगेको अवस्था रहेको छ ति विद्यार्थी सङ्ख्या कम भएका विद्यालयलाई नजिकको विद्यालयसँग मर्ज गरि यातायातको साधन तथा दक्ष जनशक्ति र स्रोतसाधन सम्पन्न गरि गुणस्तरीय शिक्षा प्रदान गर्ने किसिमका कार्यक्रम बनाउन सकिन्छ ।

– पछिल्लो समय उच्च शिक्षा अध्ययनका लागी अनिवार्य विदेश जानै पर्ने जस्तो गरि विकास भइरहेको परिपाटीलाई केही हदसम्म भएपनि कम गर्नका लागी विद्यार्थीहरूलाई लोकसेवा आयोग, नेपाली सेना, प्रहरी आदिको तयारी कक्षा सञ्चालन गर्ने किसिमका कार्यक्रम राख्न सकिन्छ ।

अन्त्यमा स्थानीय तहबाट निर्माण हुने बजेटलाई वितरणमुखी भन्दा पनि अव कसरी आफ्नो स्थानीय तहलाई आत्मनिर्भरको बाटो तर्फ लान सकिन्छ भन्ने सोचका साथ बजेट तथा कार्यक्रमको निर्माण गर्नु आवश्यक रहेको छ ।

(लेखक:  महालक्ष्मी नगरपालिका धनकुटामा कृषि प्राविधिकको रुपमा कार्यरत छन्)  सम्पर्क न. 9862201830, ईमेल सम्पर्कः- [email protected]

 

images
images

प्रतिक्रिया दिनुहोस्