images
images
images

धनकुटाको चौविसेमा भूमिहिनलाई जग्गा वितरणको तयारी, आयोग र स्थानीय तहबीच अन्तरक्रिया सम्पन्न

images

धनकुटा । भूमि समस्या समाधान आयोग धनकुटा जिल्ला समितिले चौविसे गाउँपालिकामा बसोबास गर्दै आएका भूमिहिन सुकुम्वासी र अव्यवस्थित वसोबासीलाई जग्गा धनी पूर्जा वितरण गर्न अन्तिम तयारी गरिरहेको छ। यसै सन्दर्भमा शुक्रवार चौविसे गाउँपालिकामा आयोग र स्थानीय जनप्रतिनिधिहरूबीच अन्तरक्रिया कार्यक्रम सम्पन्न भएको छ।

गाउँपालिका अध्यक्ष राजकुमार चेम्जोङको अध्यक्षतामा सम्पन्न कार्यक्रममा आयोगका जिल्ला सदस्य तथा चौविसे, साँगुरीगढी गाउँपालिका र महालक्ष्मी नगरपालिकाका संयोजक विजय सन्तोषी राईले सहजीकरण गर्दै चाँडै पूर्जा वितरण हुने जानकारी दिए । उनले आयोग गाउँपालिकाको समन्वय, सहयोग र सहभागितामा तीव्र गतिमा कार्यान्वयन चरणमा रहेको बताए ।

images
images

कार्यक्रममा चौविसे गाउँपालिकाकी उपाध्यक्ष टंकमाया मगर, निमित्त प्रमुख प्रशासकीय अधिकृत सोभित तुम्बा, आयोगका विज्ञ सदस्य नवीनकिशोर शाक्य, महिला सदस्य देवकला पौडेल, विभिन्न वडाका अध्यक्ष, कार्यपालिका सदस्य तथा वडा सचिवहरूको सहभागिता थियो । उनीहरूले भूमिहिन दलित सुकुम्वासी, सुकुम्वासी र अव्यवस्थित वसोबासीलाई जग्गा वितरण गर्न सबै तहबाट सहयोग गर्ने प्रतिबद्धता जनाएका थिए ।

आयोगका संयोजक राईका अनुसार चौविसेमा हालसम्म ८ जना भूमिहिन दलित सुकुम्वासी, ३२ जना भूमिहिन सुकुम्वासी र ८४० जना अव्यवस्थित वसोबासी गरी ८८० जनाले जग्गा प्राप्तिको लागि निवेदन दिएका छन्। यसबाहेक आयोगले केही दिनअघि साँगुरीगढी गाउँपालिकामा समेत भूमिहिन सुकुम्वासीहरूलाई जग्गा उपलब्ध गराई पूर्जा वितरण गरिसकेको जानकारी पनि दिइएको थियो।

images
images

प्रतिक्रिया दिनुहोस्