धनकुटा । खाद्य प्रविधि तथा गुण नियन्त्रण कार्यालय विराटनगरको आयोजना तथा डिभिजन कार्यालय धनकुटाको सहयोगमा साँगुरीगढी गाउँपालिका–६ भेडेटार र नाम्जे क्षेत्रमा सञ्चालित होटल–रेस्टुरेन्टहरूको स्तरीकरण गरी लोगो टाँस गरिएको छ । खाद्य स्वच्छताको आधारमा स्तरीकरण गर्ने निर्देशिका, २०७४ अनुसार गरिएको अनुगमनमा ३१ होटलमध्ये २३ वटा होटल–रेस्टुरेन्ट स्तरीकरणमा परेका छन् भने ८ होटल–रेस्टुरेन्टहरूको सुधारका लागि निर्देशन दिइएको छ ।
अनुगमनमा एक होटलले अतिउत्तम स्तरको हरियो स्टिकर, ४ होटलले उत्तम हरियो स्टिकर, १४ होटलले सन्तोषजनक हरियो स्टिकर र ४ होटलले सामान्य स्तरको पहेँलो स्टिकर प्राप्त गरेका छन् । कार्यक्रमको शुभारम्भ गाउँपालिकाकी उपाध्यक्ष मुना राईले होटल लालीबसाहा रिसोर्ट प्रालिमा अतिउत्तम हरियो स्टिकर टाँस गरेर गरेकी थिइन् ।
कार्यक्रममा खाद्य प्रविधि तथा गुण नियन्त्रण कार्यालय विराटनगरका वरिष्ठ खाद्य अनुसन्धान अधिकृत पुष्पलाल राई, धनकुटाका खाद्य निरीक्षक सुशिल कोइराला, प्रमुख प्रशासकीय अधिकृत राजकुमार शाक्य, वडा अध्यक्ष यम प्रकाश मगर, होटल एशोसिएसन भेडेटारका अध्यक्ष तुमराज लिम्बु, सचिव रमेश श्रेष्ठसहित सरोकारवाला उपस्थित थिए ।
वरिष्ठ खाद्य अनुसन्धान अधिकृत राईका अनुसार स्तरीकरण कार्यक्रमले उपभोक्तालाई सुरक्षित खाद्य पदार्थ प्राप्त हुने सुनिश्चितता गर्नेछ भने व्यवसायीलाई खाद्य स्वच्छताको प्रमाण प्रस्तुत गर्ने अवसर दिनेछ ।



हुलाकी पाटी 













प्रतिक्रिया दिनुहोस्