धनकुटा । जिल्ला आयुर्वेद स्वास्थ्य केन्द्र धनकुटामा उपचार सेवा थप विस्तारसँगै सेवा लिनेको संख्या उल्लेखनीय रुपमा बढेको छ । आज धनकुटामा आयोजित आयुर्वेद कार्यक्रमहरूको समन्वयात्मक समीक्षा कार्यक्रममा यस्तो जानकारी गराइएको हो ।
कार्यक्रममा जिल्ला समन्वय समिति धनकुटाका प्रमुख तथा केन्द्रका व्यवस्थापन तथा सञ्चालन समितिका अध्यक्ष निरेन तामाङले आयुर्वेद उपचार विधि दिनप्रतिदिन लोकप्रिय बन्दै गएको बताए । प्राकृतिक उपचार प्रणाली भएकाले आयुर्वेद प्रभावकारी र सुरक्षित मानिँदै गएको उनको भनाइ थियो ।
धनकुटाका प्रमुख जिल्ला अधिकारी शिवराम गेलालले दुष्प्रभावरहित उपचारका कारण आयुर्वेदको महत्व बढ्दै गएको उल्लेख गर्दै यसको प्रचार–प्रसार जनस्तरसम्म पुर्याउनुपर्नेमा जोड दिए ।
जिल्ला आयुर्वेद स्वास्थ्य केन्द्रका प्रमुख डा. विद्या श्रेष्ठको अध्यक्षतामा सम्पन्न कार्यक्रममा कोशी प्रदेश स्वास्थ्य मन्त्रालयका प्रतिनिधि डा. केनिन राई, प्रदेश स्वास्थ्य निर्देशनालयका प्रतिनिधि विजयकुमार झा, व्यवस्थापन तथा सञ्चालन समितिका सदस्य विजय सन्तोषी राई, जिल्ला स्वास्थ्य कार्यालयका प्रतिनिधि कर्मचन्द्र राजबंशीलगायतले आयुर्वेद उपचारको प्रभावकारिताबारे धारणा राखे ।
जिल्ला आयुर्वेद स्वास्थ्य केन्द्र धनकुटामा उपचार सेवाको दायरा विस्तारसँगै सेवाग्राहीको संख्या उल्लेखनीय रूपमा वृद्धि भएको केन्द्रले जनाएको छ । केन्द्रबाट ओपीडी सेवा, प्रयोगशाला सेवा, निःशुल्क औषधि वितरण, योग सेवा, पूर्वकर्म/पञ्चकर्म सेवा तथा सशुल्क फार्मेसी सेवा सञ्चालनमा रहेको जानकारी दिँदै गत आर्थिक वर्षमा सम्पन्न कार्यक्रम तथा उपचार सेवासम्बन्धी प्रतिवेदन प्रस्तुत गरिएको थियो ।
केन्द्रकी प्रमुख डा. विद्या श्रेष्ठका अनुसार आर्थिक वर्ष २०८०/०८१ मा ६ हजार ७ सय ७४ जनालाई आयुर्वेदिक स्वास्थ्य सेवा प्रदान गरिएको थियो भने आर्थिक वर्ष २०८१/०८२ मा ७ हजार ७ सय ३० जनाले आयुर्वेद स्वास्थ्य सेवा लिएका छन् ।
आयुर्वेद स्वास्थ्य सेवा केन्द्र धनकुटा अन्तर्गत सञ्चालन भइरहेका सहिदभूमि गाउँपालिकाको छिन्ताङ आयुर्वेद औषधालयका श्रवण कुमार श्रेष्ठ, पाख्रिवास नागरिक आरोग्य सेवा केन्द्रकी मनिषा कुमारी उराव, महालक्ष्मी नगरपालिकाको आरोग्य सेवा केन्द्रकी मिना कुमारी मेहता र चौविसे गाउँपालिकाको आरोग्य सेवा केन्द्रकी चम्पा अधिकारीले केन्द्रबाट प्रदान भइरहेका सेवाको प्रगति प्रतिवेदन प्रस्तुत गरेका थिए । जिल्ला आयुर्वेद स्वास्थ्य सेवा केन्द्र धनकुटाका रविन्द्र कुमार मेहताले कार्यक्रमको सञ्चालन गर्दै स्वागत मन्तव्य व्यक्त गरे । सो अवसरमा पाख्रिवास नागरिक आरोग्य सेवा केन्द्रले उत्कृष्ट सेवा प्रदान गरेको भन्दै सोही केन्द्रकी मनिषा कुमारी उरावलाई प्रशंसापत्र प्रदान गरिएको थियो ।
जिल्ला आयुर्वेद स्वास्थ्य सेवा केन्द्र धनकुटाबाट ओपीडी सेवा अन्तर्गत विभिन्न पेटसम्बन्धी रोग, हाडजोर्नी तथा नसा रोग, मानसिक रोग, छाला रोग, जन्डिस, मधुमेह, उच्च रक्तचाप, मोटोपन, पत्थरी आदिको उपचार गरिँदै आएको जानकारी दिँदै केन्द्रकी प्रमुख डा. विद्या श्रेष्ठले प्रयोगशालामा अत्याधुनिक उपकरणहरूको प्रयोगमार्फत रगत, दिसा, पिसाब आदिको परीक्षण गरी रोगको पहिचानसमेत गरिँदै आएको जानकारी दिइन् ।
आयुर्वेद स्वास्थ्य सेवा केन्द्र धनकुटाबाट निःशुल्क औषधि वितरण कार्यक्रमअन्तर्गत २३ प्रकारका आयुर्वेदिक औषधिहरू निःशुल्क वितरण हुँदै आएको केन्द्रका प्रमुख डा. विद्या श्रेष्ठले जानकारी दिइन् ।
पूर्वकर्म/पञ्चकर्म सेवा मार्फत शरीरमा रहेका विकारहरू हटाउने, शरीर शोधन गर्ने तथा गठिया, वातरोग, पक्षघातलगायत विभिन्न रोगहरूको उपचार प्रदान भइरहेको डा. श्रेष्ठले बताइन् । उनका अनुसार ज्येष्ठ नागरिक सेवा कार्यक्रम अन्तर्गत बलवर्धक अश्वगन्धा र आमलकी चूर्ण निःशुल्क वितरण गरिँदै आएको छ । यस्तै स्तनपायी आमा सेवा कार्यक्रम अन्तर्गत दुग्धवर्धक सतावरी चूर्ण र दशमूल तेल प्रदान गरिँदै आएको छ । उनका अनुसार केन्द्रमा कार्यरत योग प्रशिक्षकमार्फत स्वस्थ व्यक्तिको स्वास्थ्य प्रवर्द्धनका साथै रोगीका लागि रोगअनुसार योग तथा ध्यान विधिहरू गराइने गरिएको छ । शिरोधारा उपचार प्रणाली टाउको दुख्ने, माइग्रेन, शारीरिक तथा मानसिक थकान, डिप्रेसन, अनिद्रा तथा मानसिक तनाव जस्ता समस्यामा अत्यन्तै प्रभावकारी रहेको समेत डा. श्रेष्ठले जानकारी दिए । धनकुटा जिल्लामा आयुर्वेद उपचार पद्धति दिनप्रतिदिन लोकप्रिय बन्दै गएकाले केन्द्रमा उपचारका लागि आउने सेवाग्राहीहरूको संख्या उल्लेख्य रूपमा वृद्धि हुँदै गएको छ ।






हुलाकी पाटी 













प्रतिक्रिया दिनुहोस्