images
images
images

धनकुटा क्याम्पसका पूर्व विद्यार्थीहरूको भेला काठमाडौंमा

images

काठमाडौं । त्रिभुवन विश्वविद्यालयअन्तर्गतको आङ्गिक क्याम्पस धनकुटा बहुमुखी क्याम्पसका पूर्व विद्यार्थीहरूले काठमाडौंमा भेला भई क्याम्पसको शैक्षिक तथा प्रशासनिक उन्नयनमा योगदान गर्ने प्रतिबद्धता व्यक्त गरेका छन् । आज काठमाडौंमा आयोजित शुभकामना आदानप्रदान तथा भेटघाट कार्यक्रममा सहभागीहरूले सो प्रतिबद्धता व्यक्त गरेका हुन् ।

कार्यक्रमका विशिष्ट अतिथि नेपाल संस्कृत विश्वविद्यालयका पूर्व उपकुलपति प्रा. डा. यादव प्रकाश लामिछानेले धनकुटा क्याम्पसका विद्यार्थीहरूबीच नेटवर्किङ आवश्यक रहेको बताए । पुस्तान्तरणका कारण चिनजान नहुने अवस्थाको अन्त्य गर्न यस्ता भेटघाट कार्यक्रम उपयोगी हुने उल्लेख गर्दै उहाँले भावनात्मक एकताका लागि पनि यस्ता भेला आवश्यक हुने धारणा राखे । सामाजिक भावनाले संघ–संस्था गठन गर्न सजिलो भए पनि त्यसलाई निरन्तरता र सञ्चालन गर्न कठिन हुने अनुभव सुनाउँदै उनले विशुद्ध सामाजिक सेवा भावनाले आफू अध्ययन गरेको क्याम्पसको हितका लागि आ–आफ्नो स्थानबाट सहयोग गर्न सबैलाई आग्रह गरे ।

images
images

विशिष्ट अतिथि प्राध्यापक डा. विनोद लुइँटेलले लामो समय शैक्षिक केन्द्रको रूपमा रहेको धनकुटा क्याम्पसलाई संख्यात्मक मात्र नभई गुणात्मक रूपमा पनि सुदृढ बनाउन पूर्व विद्यार्थीहरूले योगदान गर्न सक्ने उल्लेख गरे । देशको समग्र सार्वजनिक सेवा प्रणाली कमजोर बन्दै गएको अवस्थामा शैक्षिक गुणस्तरमा पनि असर पर्न सक्ने हुँदा क्याम्पसको गुणस्तर अभिवृद्धिमा पूर्व विद्यार्थीहरूको चासो रहनु आवश्यक रहेको बताए ।

सानोठिमी क्याम्पसमा सहप्राध्यापक रहेका बलराम रायमाझीले धनकुटा क्याम्पसबाट उत्पादन भएको जनशक्ति देशका विविध क्षेत्रमा छरिएर रहेको बताउँदै अधिकतम् विद्यार्थीहरूलाई जोडेर सञ्जाल निर्माण गर्न सुझाव दिनुभयो। क्याम्पसको आवश्यकता पहिचान गरी पूर्व विद्यार्थीको तर्फबाट सहयोग जुटाउन छात्रवृत्ति कोष स्थापना गर्न सकिने भएकाले यसबारे थप छलफल अघि बढाउनुपर्ने सुझाव उनले दिए ।

धनकुटा–काठमाडौं सम्पर्क समाज स्थापना गरी सामाजिक कार्यमा सक्रिय प्रेम बस्नेतले काठमाडौंमा रहेका धनकुटेलीबीच कहिल्यै एकता हुन नसकेको उल्लेख गर्दै क्याम्पसका लागि खेलकुद सामग्रीलगायतका सहयोग गर्न आफू सकारात्मक रहने प्रतिबद्धता जनाए । लिभरपुल कलेजका प्रिन्सिपल विद्या अधिकारीले समेत क्याम्पसको आवश्यकता पहिचान गरेर सहयोग जुटाउने सुझाव दिए ।

शिक्षा मन्त्रालयका उपसचिव धर्मप्रसाद तिवारीले सामाजिक सेवा भावनाले काम गर्दा औपचारिकताभन्दा कामको प्रभावमा जोड दिँदै  धनकुटा क्याम्पसको आवश्यकता पहिचान गरी सहयोग र समन्वय गर्न सकिने धारणा राखे । मन्त्रालयकै उपसचिव कुशल घिमिरेले क्याम्पसमा अध्ययन गरेको समय स्मरण गर्दै क्याम्पससँगको सम्बन्ध सदैव अविस्मरणीय रहने उल्लेख गरे ।

द काठमाडौँ पोस्टका पत्रकार मोहनप्रसाद गुरागाईंले कुनै समय पाँच हजारभन्दा बढी विद्यार्थी संचलित धनकुटा क्याम्पस अहिले पाँच सयको हाराहारीमा सीमित रहेको सुन्दा दुःख लाग्ने बताए । यसको कारण पहिचान गरी समाधान खोजिनुपर्ने धारणा राख्दै उनले पूर्व विद्यार्थीहरूको साझा पहललाई सशक्त रूपमा अघि बढाउन सुझाए ।

त्रिवि एलुम्नाई एसोसिएसन नेपालका सचिवालय सदस्य नोदनाथ त्रितालले यो समूह सञ्जाल निर्माणका लागि गरिएको संयोजन भएको बताउँदै विधान बनाएर संस्था दर्ता गर्ने प्रक्रियामा नलाग्ने स्पष्ट पारे । आवश्यकताअनुसार स्रोत जुटाई क्याम्पसलाई सहयोग गर्ने उद्देश्यले समूह अगाडि बढेको उनको भनाइ थियो ।

कार्यक्रममा महेशप्रसाद सापकोटा, प्रेम खड्का, विपिनकुमार भुर्तेल, डमरु दाहाल, दामोदर भट्टराई, देवेन्द्र रिजाल, टंकप्रसाद भट्टराई, दीपक सुवेदी, हेमचन्द्र कार्की, खगेन्द्र नेपाल, गुरुप्रसाद अधिकारी, अनिल पौडेल, भानुभक्त दाहाल, निर्मलकुमार राई, विमला राई, नन्दु राई, कुमार लुइँटेल, दिलकुमारी राई, नीरबहादुर गुरुङ, जीवन घिमिरे, तीर्थ अधिकारी, अर्जुन श्रेष्ठ, उमेश अधिकारी, कपुर अधिकारी, मीना खनाललगायतले क्याम्पसको शैक्षिक तथा प्रशासनिक उन्नयनका लागि पूर्व विद्यार्थीको तर्फबाट सुझाव प्रस्तुत गरे । उनीहरूले काठमाडौंमा रहेका पूर्व विद्यार्थीको पहिचान गरी प्रोफाइल तयार गर्ने र भावी योजना निर्माण गरी अघि बढ्न सुझाव दिए ।

कार्यक्रममा कलाकार नन्दु राईले विमला राईको रचनामा आधारित गीत प्रस्तुत गर्दै मनोरञ्जन प्रदान गरेका थिए । पूर्व विद्यार्थी समाज, काठमाडौंका संयोजक मदन घिमिरेले पूर्व विद्यार्थीहरूको सहभागिता राजनीतिक आस्था फरक भए पनि समाजलाई राजनीतिमुक्त राखिने प्रतिबद्धता जनाए । उनले आगामी दिनमा समाजलाई थप सक्रिय बनाउने, छात्रवृत्ति कार्यक्रम सञ्चालन गर्ने, पिकनिक कार्यक्रम आयोजना गर्ने, ठूलो उपस्थितिसहित अर्को कार्यक्रम गर्ने र क्याम्पस प्रशासनसँग समन्वय गर्दै निरन्तर सहयोगको प्रतिबद्धता व्यक्त गरे ।

कार्यक्रमको सफलताका लागि पूर्व सांसद सुनीलबहादुर थापा र धनकुटा क्याम्पसका प्रमुख होमबहादुर बस्नेतले पठाएको शुभकामना सन्देश प्रस्तुत गरिएको थियो । संयोजक घिमिरेको अध्यक्षतामा सम्पन्न कार्यक्रमको स्वागत वक्तव्य विष्णुप्रसाद खनालले गरेका थिए भने कार्यक्रमको सञ्चालन सचिव जमुना कुँवरले गरेकी थिइन् ।

images
images

प्रतिक्रिया दिनुहोस्