धनकुटा । वि.सं. २०१२ साउन १४ गते स्थापना भएको धनकुटा बहुमुखी क्याम्पसमा निर्माण गरिएको बहुतले कक्षाकोठा भवनको उद्घाटन त्रिभुवन विश्वविद्यालयका उपकुलपति प्रा.डा. दिपक अर्यालबाट आज एक विशेष समारोहका बीच सम्पन्न भएको छ ।
उद्घाटन कार्यक्रममा पूर्वसांसद तथा क्याम्पस व्यवस्थापन समितिका सदस्य एवम् अनुगमन समिति संयोजक गोपाल गुरागाईं, त्रि.वि. प्राध्यापक भोजराज अर्याल, पूर्व सचिव लक्ष्मण अर्याल, त्रि.वि. पूर्व प्रशासक सुर्य अधिकारी, उपकुलपति कार्यालयका शाखा अधिकृत राजमान महर्जन, त्रि.वि. शाखा अधिकृत छलिसरा मगर, योजना लम्साल सहित विभिन्न समिति, विभाग र छात्र संगठनका प्रतिनिधिहरूको उपस्थिति रहेको थियो।
समारोहलाई सम्बोधन गर्दै उपकुलपति अर्यालले धनकुटा क्याम्पसका समस्या त्रिभुवन विश्वविद्यालयकै सामूहिक समस्या भएको उल्लेख गर्दै समस्या समाधानका लागि त्रि.वि. प्रतिबद्ध रहेको बताए । उनले क्याम्पसको भौतिक संरचना तथा प्रयोगशालाहरूको समेत अवलोकन गरेका थिए।
कार्यक्रममा पूर्वसांसद गोपाल गुरागाईं, त्रि.वि. प्राध्यापक संघ धनकुटा बहुमुखी क्याम्पसका सभापति उपप्राध्यापक शेषराज अधिकारीले प्राध्यापकको पेशागत विकासका अवसर र क्याम्पसका चुनौतीहरूबारे धारणा राखेका थिए । सोही कार्यक्रममा स्ववियु अध्यक्ष युवा तिम्सिनाले संगठनको तर्फबाट मागपत्र प्रस्तुत गरेका थिए ।
सहप्राध्यापक एवं क्याम्पस प्रमुख होमबहादुर बस्नेतको अध्यक्षतामा सम्पन्न कार्यक्रमका क्रममा बस्नेतले नवनिर्मित भवनको लागत विवरण समेत प्रस्तुत गरेका थिए । उनका अनुसार भवन निर्माणको कुल लागत अनुमान ६ करोड ४७ लाख १३ हजार ७३२ रुपैयाँ, भेरिएसन २५ लाख ९५ हजार ६४४.७१ रुपैयाँसहित कूल खर्च ५ करोड ८२ लाख ३१ हजार ५८७.३६ रुपैयाँ पुगेको छ ।
उद्घाटन समारोहमा क्याम्पस प्रमुख बस्नेतले त्रि.वि.का पूर्व तथा वर्तमान अधिकारीहरू-पूर्व उपकुलपति प्रा.डा. धर्मकान्त बास्कोटा, प्रा.डा. केशरजङ बराल, तत्कालीन शिक्षाध्यक्ष प्रा.डा. शिवप्रसाद भुसाल, पूर्व रजिष्ट्रार प्रा.डा. पेशल दाहाल, वर्तमान शिक्षाध्यक्ष प्रा.डा. खड्ग के.सी., रजिष्ट्रार प्रा.डा. केदारप्रसाद रिजाल—प्रति विशेष आभार व्यक्त गरेका थिए ।
यस्तै, नेपाल सरकारका पूर्व सचिव लक्ष्मण अर्याल, त्रि.वि.का प्राध्यापक तथा कर्मचारी, स्ववियु, कर्मचारी संघ, प्राविधिक इन्जिनियर मिङ्मा दोर्जे शेर्पा, अभिभावक, विद्यार्थी तथा निर्माण कार्य सम्पन्न गर्ने ब्राइटबुल निर्माण सेवा कम्पनी धरान–१३ प्रती समेत धन्यवाद व्यक्त गरिएको थियो ।





हुलाकी पाटी 













प्रतिक्रिया दिनुहोस्