images
images
images

धनकुटामा आयुर्वेद उपचार सेवाप्रति आकर्षण बढ्दै, सेवा विस्तारसँगै ओपीडीमा बिरामी संख्या उल्लेखनीय वृद्धि

images

धनकुटा । जिल्ला आयुर्वेद स्वास्थ्य केन्द्र धनकुटाले पछिल्ला वर्षमा सेवा दायरा विस्तार गरी प्रभावकारी रूपमा उपचार प्रदान गर्दै आएपछि धनकुटामा आयुर्वेद उपचार पद्धति तीव्र रूपमा लोकप्रिय बन्दै गएको छ ।  आधुनिक उपकरणसहित नयाँ–नयाँ उपचार विधि अपनाउन थालेसँगै आयुर्वेद केन्द्रमा सेवा लिन आउनेको संख्या दिनप्रतिदिन बढिरहेको केन्द्रका प्रमुख डा. विद्या श्रेष्ठले जानकारी दिइन् । आर्थिक वर्ष २०८०/८१ मा ६ हजार ७७४ जनाले र २०८१/८२ मा ७ हजार ७३० जनाले आयुर्वेद स्वास्थ्य सेवा लिएको तथ्यांक केन्द्रले सार्वजनिक गरेको छ ।

नेपाल पत्रकार महासंघ धनकुटाका पूर्व अध्यक्ष तथा केन्द्रको व्यवस्थापन–सञ्चालन समितिका सदस्य विजय सन्तोषी राईका अनुसार जनस्तरमा आयुर्वेद उपचार प्रणालीप्रति चासो, आवश्यकता र महत्व पछिल्ला वर्षहरूमा झनै बढेको हुँदा यसबारे जनचेतना विस्तार गर्नु आवश्यक रहेको छ ।

images
images

सेवा विस्तार र उपलब्ध सुविधा

जिल्ला आयुर्वेद स्वास्थ्य केन्द्रमा ओपीडी, प्रयोगशाला, निःशुल्क औषधि वितरण, योग, पूर्वकर्म/पञ्चकर्म, तथा सशुल्क फार्मेसी सेवा नियमित रूपमा सञ्चालन भइरहेका छन् । डा. श्रेष्ठका अनुसार प्रयोगशालामा अत्याधुनिक उपकरण प्रयोग गरी रगत, दिसा, पिसाबसहित विभिन्न परीक्षण सेवा उपलब्ध गराइन्छ । निःशुल्क औषधि वितरणअन्तर्गत २३ प्रकारका आयुर्वेदिक औषधिहरू उपलब्ध गराइँदै आएको छ भने केही महिनादेखि सशुल्क फार्मेसीमार्फत आयुर्वेद औषधि सुपथ मूल्यमा वितरण थालिएको छ ।

पूर्वकर्म–पञ्चकर्म सेवाप्रति आकर्षण

पूर्वकर्म/पञ्चकर्म सेवा त्यहाँका सबैभन्दा लोकप्रिय सेवामध्ये एक बन्दै गएको छ । गठिया,  वातरोग, पक्षघातसहित विभिन्न पुराना रोगको उपचारमा सफल परिणाम देखिन थालेपछि पञ्चकर्म सेवा लिन आउनेको संख्या उल्लेखनीय रूपमा वृद्धि भएको केन्द्रले जनाएको छ ।

विशेष समूहका लागि अनुकूल कार्यक्रम

  • ज्येष्ठ नागरिक : बलवर्धक अश्वगन्धाआमलकी चुर्ण निःशुल्क वितरण
  • स्तनपायी आमा सेवा : दुग्धवर्धक सतावरी चुर्ण र दशमूल तेल निःशुल्क
  • योग सेवा : योग प्रशिक्षकद्वारा रोगी तथा स्वस्थ दुवै वर्गलाई नियमित कक्षा
  • शिरोधारा उपचार : टाउको दुखाइ, माइग्रेन, अनिद्रा, डिप्रेसन, मानसिक थकानमा अत्यन्त प्रभावकारी

सहायक स्वास्थ्य केन्द्रमार्फत सेवा विस्तार

आयुर्वेद स्वास्थ्य केन्द्र धनकुटाका सहायक इकाइ रूपमा सहिदभूमि गाउँपालिकाको छिन्ताङ आयुर्वेद औषधालय, पाख्रिवासमा नागरिक आरोग्य सेवा केन्द्र,  महालक्ष्मी नगरपालिका र चैविसे गाउँपालिकाका आरोग्य सेवा केन्द्रहरू मार्फत पनि आयुर्वेद सेवाहरू प्रदान भइरहेका छन् ।

धनकुटामा आयुर्वेद उपचार प्रणालीको प्रभावकारिता र पहुँच विस्तारसँगै जनविश्वास बढ्दै गएको छ । सेवा दायरा, प्रभावकारिता र परिणामसँगै बिरामीको आकर्षण दिनानुदिन बढ्दा आयुर्वेद उपचार विधि यहाँका नागरिकका लागि प्राथमिक विकल्प बन्दै गएको देखिन्छ ।

images
images

प्रतिक्रिया दिनुहोस्