धनकुटा । धनकुटाको पाख्रिवास नगरपालिकामा प्रमुख प्रशासकीय अधिकृत (प्रअ) को तीव्र हेरफेरले नगर प्रमुख ज्ञानवहादुर गुरुङ असन्तुष्ट बनेका छन् । उनले आफ्नो असन्तुष्टि व्यक्त गर्दै संघीय मामिला तथा सामान्य प्रशासन मन्त्रालयलाई व्यङ्ग्यात्मक शैलीको पत्र पठाएका छन्, जुन सोमवार सामाजिक सञ्जालमा भाइरल बनेको छ।
मेयर गुरुङ २०७९ सालमा निर्वाचित भएयता पाख्रिवास नगरपालिकामा उपसचिव प्रकाशराज पौडेल, खगेन्द्र सुवेदी, पुरुषोत्तम ढकाल, विज्ञान कोइराला तथा निमित्त प्रमुख गोर्खबहादुर तामाङसहित ६ जना प्रअ फेरबदल भइसकेका छन् ।
पछिल्लो पटक गत २०८१ चैतदेखि कार्यरत उपसचिव विज्ञान कोइराला ९ महिनामै इलामको सूर्योदय नगरपालिकामा सरुवा भएपछि भूमि व्यवस्था मन्त्रालयका शाखा अधिकृत सुनिल पौडेललाई नयाँ प्रअ तोकिएको छ, तर उनी हालसम्म हाजिर भएका छैनन् ।
मन्त्रालयलाई पठाएको पत्र (प.सं. २०८२।८२, च.नं. ९६३) मा नगर प्रमुख गुरुङले प्रमुख प्रशासकीय अधिकृतको बारम्बार हुने हेरफेरले प्रशासनिक गतिविधिमा खासै प्रभाव नपर्ने उल्लेख गरेका छन् । उनले पाख्रिवासमा धान रोपाइँ, बालीनाली लगाउने र गाई–भैंसी ब्याउनेजस्ता स्थानीय गतिविधि प्रशासकीय नेतृत्व जति फेरिए पनि अवरुद्ध नहुने भन्दै व्यङ्ग्यात्मक टिप्पणी गरेका छन् ।
मेयर गुरुङले मन्त्रालयलाई महिनै–महिनामा वा आवश्यक परे दिनदिनै पनि छुट्टाछुट्टै प्रअ पठाए फरक नपर्ने भन्दै चरम असन्तुष्टि जनाएका छन्। उनले यो पत्रको बोधार्थ प्रधानमन्त्री तथा मन्त्रिपरिषद्को कार्यालय सिंहदरबारमा समेत पठाएका छन् ।



हुलाकी पाटी 















प्रतिक्रिया दिनुहोस्