धनकुटा । अफसिजनमा पर्यटक आकर्षित गर्ने उद्देश्यले धनकुटाको भेडेटारमा तेह्रौँ भेडेटार फुड फेस्टिभल सुरु भएको छ । होटल एसोसिएसन अफ भेडेटारको आयोजनामा बुधबारदेखि फेस्टिभल सुरु गरिएको हो । अङ्ग्रेजी नयाँ वर्ष सन् २०२६ को अवसर पारेर पर्यटन प्रवद्र्धन गर्ने तथा अफसिजनमा पर्यटक भित्र्याउने उद्देश्यले फेस्टिभल आयोजना गरिएको होटल एसोसिएसन अफ भेडेटारका अध्यक्ष तुमराज लिम्बूले जानकारी दिए ।
फेस्टिभलको उद्घाटन कोशी प्रदेश सरकारका वन, वातावरण तथा पर्यटन मन्त्री सदानन्द मन्डलले गरेका थिए । पूर्वी नेपालमा आउने विदेशी पर्यटकमध्ये सबैभन्दा बढी भारतीय पर्यटक हुने गरेको र नयाँ वर्षको अवसरमा भारतमा बिदा रहने भएकाले उनीहरूलाई लक्षित गरी फेस्टिभल आयोजना गरिएको आयोजकले जनाएको छ।
फुड फेस्टिभलले ओझेलमा परेका ऐतिहासिक, धार्मिक, सांस्कृतिक, परम्परागत तथा पर्यटकीय स्थलहरूको प्रचारप्रसारमा टेवा पुग्ने अपेक्षा गरिएको छ। फेस्टिभलमार्फत करिब २ करोड ५० लाख रुपैयाँ बराबरको आर्थिक कारोबार हुने र ५० देखि ६० हजार पर्यटक भित्र्याउने लक्ष्य रहेको एसोसिएसनका सचिव रमेश श्रेष्ठले जानकारी दिए ।
तीन दिनसम्म सञ्चालन हुने फेस्टिभलमा विभिन्न परिकारका स्टल, अर्गानिक खानाका स्टल, स्थानीय कृषि उत्पादन, तरकारी तथा फलफूलको प्रदर्शनी, हस्तकला तथा मौलिक परम्परागत सांस्कृतिक झाँकी प्रदर्शन गरिने आयोजकले जनाएको छ। त्यस्तै, फेस्टिभल अवधिभर साँगुरीगढी गाउँपालिकाको कृषि शाखाको आयोजनामा कृषि प्रदर्शनीसमेत गरिएको छ।






हुलाकी पाटी 














प्रतिक्रिया दिनुहोस्