धनकुटा । विश्व खाद्य स्वच्छता दिवस–२०२६ (जेठ २४, २०८३) को अवसरमा “सबैतिर स्वच्छ खानपान : खाद्यजन्य समस्याको समाधान” भन्ने नारासहित सप्ताहव्यापी कार्यक्रम सञ्चालन गरिरहेको खाद्य प्रविधि तथा गुण नियन्त्रण डिभिजन कार्यालय धनकुटाले राजमार्ग केन्द्रित होटलहरूको अनुगमन गरेको छ ।
खाद्य प्रविधि तथा गुण नियन्त्रण डिभिजन कार्यालयको नेतृत्वमा जिल्ला प्रशासन कार्यालय, घरेलु तथा साना उद्योग कार्यालय, प्रहरी चौकी मुलघाट, हिले तथा पाख्रिवास, सागुरीगढी गाउँपालिका, राष्ट्रिय उपभोक्ता मञ्च र सञ्चारकर्मीहरूको संयुक्त टोलीले सागुरीगढी गाउँपालिका, धनकुटा नगरपालिका तथा पाख्रिवास नगरपालिकास्थित २५ वटा होटलको अनुगमन गरेको हो।
अनुगमनका क्रममा म्याद नाघेका खाद्य तथा पेय पदार्थहरू जफत गरी नष्ट गरिएको थियो। साथै होटलमा कार्यरत कर्मचारीहरूको व्यक्तिगत सरसफाइमा समेत कमी पाइएको टोलीले जनाएको छ । कर्मचारीहरूले एप्रोन र हेयरनेट प्रयोग नगरेको, नङ बढाएको तथा नेलपोलिस लगाएको पाइएकाले तत्काल सचेत गराइएको खाद्य प्रविधि तथा गुण नियन्त्रण डिभिजन कार्यालय धनकुटाको कार्यालय प्रमुख अमृत राईले बताइन् ।
त्यसैगरी भान्सा कोठा र भाँडा माझ्ने स्थान छुट्टाछुट्टै राख्न, रङको बट्टामा खाद्य सामग्री भण्डारण नगर्न, मसलाजन्य पदार्थ बिर्को भएको भाँडामा राख्न, खानेकुरा छोपेर राख्न, फ्रिज नियमित सफा गर्न तथा खाद्य सामग्रीको लेबल र म्याद अवधि अनिवार्य जाँच गरी मात्र बिक्री–वितरण गर्न निर्देशन दिइएको खाद्य प्रविधि तथा गुण नियन्त्रण डिभिजन कार्यालय धनकुटाका खाद्य निरिक्षक सुशिल कोइरालाले बताए ।
टोलीले कच्चा पदार्थ उपयुक्त तरिकाले भण्डारण गर्न, खाद्य स्वच्छता कायम राख्न तथा सुरक्षित खानासम्बन्धी पाँच सन्देशबारे होटल व्यवसायी, यात्रु तथा उपभोक्तालाई जानकारी गराएको थियो। साथै आम उपभोक्ताका लागि सुझाव तथा होटल–रेष्टुरेन्टहरूले पालना गर्नुपर्ने खाद्य स्वच्छतासम्बन्धी मापदण्ड उल्लेखित ब्रोसरसमेत वितरण गरिएको कार्यालयले जनाएको छ।





हुलाकी पाटी 
















प्रतिक्रिया दिनुहोस्