धनकुटा । नयाँ वर्ष २०२६ को अवसरमा होटल एशोसिएशन भेडेटारले आयोजना गरेको १३ औँ फुड फेस्टिवलमा खाद्य प्रविधि तथा गुण नियन्त्रण डिभिजन कार्यालय धनकुटाले खाद्य स्वच्छता सचेतना स्टल सञ्चालन गरेको छ । पुस १६ देखि १८ गतेसम्म सञ्चालन भएको फेस्टिवलमा स्टलमार्फत होटल तथा फुड स्टल व्यवसायी र उपभोक्तालाई लक्षित गरी विभिन्न सेवासहित सचेतनामूलक गतिविधि गरिएको हो ।
स्टलमा होटल तथा फुड स्टल व्यवसायीलाई खाद्य स्वच्छता मापदण्ड, कोलटारङ र यसको प्रयोग, मसीले छापिएका कागजको प्रयोग, सुरक्षित खानाका पाँच सन्देश, खाद्य लेबल, होटल स्तरीकरणलगायत विषयमा जानकारी दिइएको थियो। साथै ब्रोसर वितरणसमेत गरिएको छ। उपभोक्ता लक्षित रूपमा खाद्य स्वच्छता, असल खानपान, ट्रान्स फ्याट, सन्तुलित भोजन र पोषणसम्बन्धी जानकारी प्रदान गरिएको कार्यालयले जनाएको छ।
कार्यालयको संयोजनमा साँगुरीगढी गाउँपालिका, होटल एशोसिएशन भेडेटार र इलाका प्रहरी कार्यालयको संयुक्त टोलीले होटल तथा फुड स्टलहरूको अनुगमनसमेत गरेको छ। अनुगमनका क्रममा म्याद नाघेका पेय पदार्थ, रंगीन कटन क्यान्डी (हवाई मिठाई) तथा रंग मिसाएर पकाइएका आलु चिप्स बरामद गरी नष्ट गरिएको छ। साथै फ्राइङ तेलको टोटल पोलार मटेरियल मापन गरी खान अयोग्य तेल नष्ट गरिएको खाद्य निरीक्षण अधिकारी सुशील कोइरालाले जानकारी दिए ।
खाद्य स्वच्छता सचेतना स्टलले व्यवसायी र उपभोक्तामा स्वच्छ खानपान र व्यक्तिगत सरसफाइबारे चेतना बढाएको होटल एसोसिएसन भेडेटारका कोषाध्यक्ष गोविन्द थापा मगरले बताए । स्टलबाट गृहिणी, विद्यार्थी, शिक्षक, होटल व्यवसायी तथा सर्वसाधारणले सेवा लिई खाद्य स्वच्छतासम्बन्धी जानकारी प्राप्त गरेका छन् ।






हुलाकी पाटी 
















प्रतिक्रिया दिनुहोस्