धनकुटा । साँगुरीगढी गाउँपालिका–३ का वडाध्यक्ष टेकप्रसाद लिम्बूको उपचारका क्रममा निधन भएको छ । आन्द्रामा क्यान्सर देखिएपछि लामो समयदेखि उपचाररत रहेका ५५ वर्षीय लिम्बूको भारतको नयाँ दिल्लीस्थित अस्पतालमा उपचारकै क्रममा निधन भएको गाउँपालिका अध्यक्ष जितेन्द्र राईले जानकारी दिएका छन् ।
नेपाली कांग्रेसको तर्फबाट निर्वाचित लिम्बू केही महिनादेखि क्यान्सरको उपचारका लागि भारतमा रहेका थिए । स्वास्थ्य अवस्था जटिल बन्दै गएपछि उनी निरन्तर उपचारमा थिए ।
लामो समयदेखि स्वास्थ्य उपचारमा रहनु परेकाले उनले वडा सदस्य केशर लिम्बूलाई कार्यवाहक वडाध्यक्षको जिम्मेवारी दिएका थिए । गाउँपालिकाले उनको निधनप्रति गहिरो दुःख व्यक्त गर्दै आज शोक बिदा दिने निर्णय गरिएको साँगुरीगढी गाउँपालिका अध्यक्ष जितेन्द्र राईले बताए ।
स्वर्गीय लिम्बू सामाजिक तथा राजनीतिक क्षेत्रमा सक्रिय व्यक्तित्वका रूपमा परिचित थिए । स्थानीय तहको विकास, सेवा प्रवाह तथा समुदायका समस्याहरू समाधान गर्न उनी सक्रिय रूपमा लागिपरेका थिए । उनको निधनले साँगुरीगढी गाउँपालिका–३ मात्र होइन, समग्र गाउँपालिकालाई नै अपूरणीय क्षति पुगेको अध्यक्ष राईले बताए । उनको पार्थिव शरीर अन्तिम संस्कारका लागि खुवाफोकमा ल्याउने काम भइरहेको पारिवारिक स्रोतले जनाएको छ ।



हुलाकी पाटी 













प्रतिक्रिया दिनुहोस्