धनकुटा। जनता समाजवादी पार्टी (जसपा) नेपालका सहअध्यक्ष तथा समानुपातिक उम्मेदवार रकम चेम्जोङले आफ्नै गृहजिल्ला धनकुटामा न्यून मत प्राप्त गरेका छन्। जिल्ला निर्वाचन कार्यालय धनकुटाले सार्वजनिक गरेको अन्तिम मत परिणाम अनुसार जसपा नेपालले जिल्लाभरि समानुपातिकतर्फ १ हजार ३६ मत प्राप्त गरेको छ।
जसपा नेपालबाट समानुपातिक उम्मेदवारको सूचीमा चेम्जोङसँगै पार्टीका केन्द्रीय सचिव राजकुमार राई पनि रहेका थिए।
कुनै समय धनकुटामा प्रभावशाली नेताका रूपमा परिचित चेम्जोङ तत्कालीन नेकपा एमालेका केन्द्रीय स्तरका नेता समेत थिए। उनले एमाले परित्याग गरी अशोक राई नेतृत्वमा स्थापित जनता समाजवादी पार्टीमा आवद्ध भएका थिए। पछि अशोक राईले पार्टी फुटाउँदा चेम्जोङ उपेन्द्र यादव समूहसँगै बसेका थिए।
एमालेमा रहँदा चेम्जोङ सूचना तथा सञ्चार राज्यमन्त्री बनेका थिए भने २०६६ सालमा माधवकुमार नेपाल नेतृत्वको मन्त्रिपरिषद्मा शान्ति तथा पुनर्निर्माण मन्त्रीको जिम्मेवारी सम्हालेका थिए।
एमाले छोडेपछि भने उनको राजनीतिक यात्रा क्रमशः कमजोर बन्दै गएको देखिएको छ। २०७९ सालमा सम्पन्न प्रतिनिधि तथा प्रदेशसभा निर्वाचनमा केन्द्रमा नेपाली कांग्रेस, माओवादी केन्द्र र एकीकृत समाजवादीसहितको लोकतान्त्रिक वाम गठबन्धन बने पनि चेम्जोङ धनकुटा प्रदेशसभा ‘क’ बाट जसपा नेपालको उम्मेदवार बनेका थिए। उक्त निर्वाचनमा नेकपा एमालेका उम्मेदवार निरनकुमार राई १७ हजार १८ मत ल्याएर विजयी हुँदा चेम्जोङ ८ हजार २४७ मतसहित तेस्रो स्थानमा सीमित भएका थिए।
यस पटकको निर्वाचनमा उनको गृहपालिका चौबिसे गाउँपालिकाबाट जसपा नेपालले समानुपातिकतर्फ ६८५ मत प्राप्त गरेको छ। त्यसैगरी साँगुरीगढी गाउँपालिकामा २०७, छथरजोरपाटी गाउँपालिकामा ५, महालक्ष्मी नगरपालिकामा २४, सहिदभूमि गाउँपालिकामा २४, पाख्रिवास नगरपालिकामा १७ र धनकुटा नगरपालिकामा ७४ मत प्राप्त भएको छ।
यसपटकको प्रतिनिधि सभा सदस्य निर्वाचनमा जसपा नेपालले प्रत्यक्षतर्फ कुनै पनि सिट जित्न सकेन भने समानुपातिकतर्फ ३ प्रतिशतको थ्रेसहोल्ड पनि कटाउन सकेन। जसका कारण पार्टीले राष्ट्रिय दलको मान्यता गुमाएको छ। समानुपातिकको अन्तिम मत परिणाम अनुसार जसपा नेपालले देशभरिबाट १ लाख ८२ हजार २८५ मत प्राप्त गरेको छ।
प्रत्यक्षतर्फका उम्मेदवारले ५ सय मत पनि कटाउन सकेनन्
जसपा नेपालका तर्फबाट प्रत्यक्ष उम्मेदवार बनेका आइतराज लिम्बूले पाँच सय मतसमेत कटाउन सकेनन्। जिल्ला निर्वाचन कार्यालयको तथ्यांक अनुसार उनले जिल्लाभरि ४३२ मत प्राप्त गरेका छन्।
लिम्बूको गृहपालिका चौबिसे गाउँपालिकाबाट उनले २६१ मत प्राप्त गरेका छन्। त्यसैगरी साँगुरीगढी गाउँपालिकामा ८६, छथरजोरपाटी गाउँपालिकामा ६, महालक्ष्मी नगरपालिकामा २०, सहिदभूमि गाउँपालिकामा १२, पाख्रिवास नगरपालिकामा १३ र धनकुटा नगरपालिकामा ३४ मत प्राप्त भएको छ।



हुलाकी पाटी 













प्रतिक्रिया दिनुहोस्