धनकुटा । गएराति आएको आँधी–हावाहुरीका कारण धनकुटामा सरकारी तथा निजी भवनका संरचनामा क्षति पुगेको छ । साथै कोशी राजमार्ग अन्तर्गत धनकुटा–हिले सडक खण्ड आसपास सल्लाका रुख भाँचिँदा सडक अवरुद्ध भएको थियो ।
धनकुटाका प्रमुख जिल्ला अधिकारी विनोदकुमार खड्काका अनुसार हिजो बेलुका करिब ४ बजेदेखि सुरु भएको आँधी–हावाहुरी रातिसम्म जारी रहँदा सल्लेरी आर्मी ब्यारेकदेखि जिल्ला आयुर्वेद स्वास्थ्य केन्द्रसम्मको क्षेत्रमा करिब ७–८ वटा रुख ढलेर सडक अवरुद्ध भएको थियो । उक्त सडक आज बिहान करिब ८ बजेसम्ममा खुलाइएको छ ।
आँधी–हावाहुरीकै कारण लोक सेवा आयोगको भवन, आयुर्वेद स्वास्थ्य केन्द्र, वन कार्यालय, संग्रहालय तथा निजामती विद्यालयलगायतका संरचनामा क्षति पुगेको प्रारम्भिक जानकारी प्राप्त भएको छ । केही स्थानमा पर्खाल भत्किएको पनि जनाइएको छ ।
यसैगरी, विहीबारे हटिया क्षेत्रमा समेत रुख ढलेर क्षति पुगेको छ । अन्य स्थानहरूको विस्तृत विवरण संकलन भइरहेको प्रमुख जिल्ला अधिकारी खड्काले बताए ।
उनका अनुसार हाल प्राथमिकताका साथ उद्धार (रेस्क्यु) कार्य भइरहेको छ । विशेषगरी कोशी राजमार्ग करिब १० घण्टा अवरुद्ध भएकोमा हाल सञ्चालनमा ल्याइएको छ ।
सडक सञ्चालनपछि घर तथा बस्तीमा ढलेका रुख हटाउने कार्य जारी रहेको छ । त्यसपछि क्षतिको विवरण संकलन गरी जिल्ला विपद् व्यवस्थापन समितिको बैठकमार्फत पीडितलाई राहत उपलब्ध गराउने प्रक्रिया अघि बढाइने जनाइएको छ ।
उद्धार तथा व्यवस्थापन कार्यमा नेपाल प्रहरी, नेपाली सेना, वन कार्यालय, स्थानीय तह, नगरपालिका, सडक डिभिजन तथा विद्युत प्राधिकरणका टोलीहरू परिचालन गरिएका छन्। सेनाको ब्यारेक क्षेत्रमा सल्लाका रुख धेरै ढलेका कारण त्यहाँ पनि सफाइ तथा व्यवस्थापन कार्य भइरहेको छ ।
सम्बन्धित सबै निकायसँग समन्वय गरी क्षति न्यूनीकरण तथा जनजीवन सामान्य बनाउने कार्य तीव्र रूपमा अघि बढाइएको प्रशासनले जनाएको छ ।



हुलाकी पाटी 












प्रतिक्रिया दिनुहोस्