धनकुटा । नेपाली कांग्रेस धनकुटाले फागुन २१ गते सम्पन्न प्रतिनिधि सभा निर्वाचन २०८२ को समीक्षा गर्दै आगामी दिनमा पार्टी संगठनलाई पुनर्संरचना गरी नयाँ ढंगले अघि बढ्ने निर्णय गरेको छ । साथै निर्वाचनमा मतदान गर्ने सम्पूर्ण धनकुटेली मतदातालाई धन्यवाद ज्ञापन गर्ने निर्णय समेत गरिएको छ ।
नेपाली कांग्रेस धनकुटा जिल्ला कार्यसमितिका सभापति तथा प्रतिनिधि सभा सदस्यका प्रत्यक्षतर्फका उम्मेदवार दिनेश राईको अध्यक्षतामा सम्पन्न विस्तारित समीक्षा बैठकले देशव्यापी रूपमा देखिएको राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) को लहर तथा पूर्वी नेपालमा जातीय आधारमा स्थापित श्रम शक्ति पार्टीको प्रभावको सूक्ष्म अध्ययन र सही आकलन गर्न नसक्दा कांग्रेसले आफ्ना मतदातालाई पर्याप्त रूपमा संरक्षण गर्न नसकेको निष्कर्ष निकालेको छ । यही कारणले थोरै मतान्तरले कांग्रेस उपविजेतामा सीमित भएको बैठकले ठहर गरेको छ ।
बैठकले अब मतपरिणामको आधारमा वडा तहसम्म विस्तृत समीक्षा गर्ने निर्णय पनि गरेको छ । साथै प्रत्यक्ष तथा समानुपातिक दुवै तर्फ नेपाली कांग्रेसको पक्षमा मतदान गर्ने सबै मतदाताप्रति आभार व्यक्त गर्ने निर्णय गरिएको छ ।
त्यसैगरी निर्वाचन सफलतापूर्वक सम्पन्न गराउन खटिएका सुरक्षाकर्मी, कर्मचारी, पत्रकार लगायत सम्पूर्ण पक्षलाई धन्यवाद दिने निर्णय गरिएको छ । निर्वाचन प्रचारप्रसारका क्रममा सक्रिय रूपमा खटिएका पार्टीका नेता, कार्यकर्ता तथा सम्पूर्ण कांग्रेसजनप्रति पनि बैठकले कृतज्ञता व्यक्त गरेको छ ।
समीक्षा बैठकमा नेपाली कांग्रेस धनकुटाका उपसभापति निर्मल ओझाले स्वागत मन्तव्य व्यक्त गरेका थिए भने निर्वाचनको मतपरिणाम तथा निर्वाचनसम्बन्धी प्रतिवेदन जिल्ला सचिव विजय सन्तोषी राईले प्रस्तुत गरेका थिए ।
कार्यक्रममा कांग्रेस नेता तथा महासमिति सदस्य आनन्द सन्तोषी राई, संविधानसभा सदस्य लिला सुब्बा, महासमिति सदस्यहरू महेन्द्र निरौला र सीता प्रधान, पाख्रिवास नगरपालिकाका नगर प्रमुख ज्ञानबहादुर गुरुङ, कोषाध्यक्ष सरस्वती मगर, जिल्ला सदस्यहरू रमेश बस्नेत, मीनबहादुर काकी, भक्त थापा, मोहन वान्तवा, रमेश इवाहाङ, बुद्धिकान्त घिमिरे, धनकुटा नगर कार्यसमितिका निवर्तमान सभापति नरेश श्रेष्ठ, उपसभापति अमित लो तामाङ, पाख्रिवास नगर सभापति प्रेम भण्डारी, महालक्ष्मी नगर कार्यसमितिका कार्यवाहक सभापति हिक्मत भण्डारी, साँगुरीगढी गाउँपालिका सभापति नेपालधन राई, धनकुटा नगरपालिका वडा नं. ५ का वडाध्यक्ष धनकुमार राई, वडा नं. ६ का वडाध्यक्ष मिलन खड्गी लगायत नेता तथा कार्यकर्ताले निर्वाचन परिणामबारे आ–आफ्नो धारणा व्यक्त गरेका थिए ।
बैठकले आगामी १५ दिनभित्र धनकुटा जिल्लाका सबै वडामा जिल्ला प्रतिनिधि पठाई वडा तहबाटै निर्वाचनको मतपरिणामको समीक्षा गर्ने निर्णय गरेको छ । वडा, पालिका र क्षेत्रीय समितिबाट तयार हुने समीक्षा प्रतिवेदन जिल्ला कार्यसमितिमा अनिवार्य रूपमा बुझाउनुपर्ने पनि निर्णय गरिएको छ । प्रारम्भिक समीक्षामा कांग्रेसका नेता–कार्यकर्ताको सक्रियता र मेहनत हुँदाहुँदै पनि पार्टीले आफ्नो मत आधार जोगाउन नसक्नु, देशव्यापी रूपमा रास्वपाको प्रभाव बढ्नु तथा पूर्वी पहाडी क्षेत्रमा श्रम शक्ति पार्टीको प्रभाव देखिनु उपविजेता बन्नुको प्रमुख कारण रहेको कांग्रेस धनकुटाले निष्कर्ष निकालेको छ।



हुलाकी पाटी 













प्रतिक्रिया दिनुहोस्