धनकुटा । पूर्वाधार विकास कार्यालय धनकुटाले जिल्लाका तीन महत्वपूर्ण सडक खण्डमा ‘सडक हेरालु’ राख्ने नयाँ अभ्यास सुरु गरेको छ । विगतमा निर्माण सम्पन्न भइसकेपछि नियमित हेरचाहको अभावमा बिग्रँदै गएका सडकलाई संरक्षण गर्ने उद्देश्यले यो पहल थालिएको पूर्वाधार विकास कार्यालय धनकुटाका निमित्त प्रमुख उत्तम नारायण खरेलले बताए । उनका अनुसार हिले–छिन्ताङ, बिहीवारे हटिया–कर्मिटार–छथर र गुठिटार–बाघखोर–छिरिङ सडक खण्डमा प्रत्येक सडकमा दुई जनाका दरले सडक हेरालु खटाइएको छ । प्रारम्भमा तीन महिनाका लागि सम्झौता गरिए पनि कार्यसम्पादनका आधारमा अवधि थप गरिनेछ । सडक हेरालुको जिम्मेवारी केवल सडक हेर्ने मात्र होइन । उनीहरूले नियमित मर्मत सम्भार, नाली सफा गर्ने, पहिरो पन्छाउने, सडक अतिक्रमण रोक्ने तथा आवतजावत सहज बनाउने काम गर्नेछन् । विशेष गरी वर्षायाममा हुने पहिरो, नाली पुरिँदा सडकमा पस्ने लेदो तथा बाढीका कारण सडक अवरुद्ध हुने समस्या समाधानमा उनीहरूको भूमिका महत्वपूर्ण हुने कार्यालय प्रमुख खरेलले बताए ।
कार्यालयका अनुसार हिले–छिन्ताङ सडक करिब १० किलोमिटर, बिहीवारे हटिया–कर्मिटार–छथर सडक करिब २१ किलोमिटर र गुठिटार–बाघखोर–छिरिङ सडक करिब १० किलोमिटर लम्बाइका छन् । यी सडकहरू धनकुटा सदरमुकामसँग ग्रामीण भेग जोड्ने मुख्य मार्गका रूपमा रहेका छन्, जसले स्थानीयको दैनिक जीवन सहज बनाएको छ ।
सडक निर्माणपछि सामान्यतया निर्माण कम्पनीले एक वर्षसम्म परीक्षण अवधिमा रेखदेख गर्ने व्यवस्था हुन्छ । तर सो अवधि सकिएपछि सडकहरू बेवास्तामा पर्ने समस्या देखिँदै आएको थियो । यही अवस्थालाई मध्यनजर गर्दै कार्यालयले स्थानीयलाई प्राथमिकता दिँदै सडक हेरालु नियुक्त गरेको जनाएको छ । सडक हेरालुहरूलाई आवश्यक उपकरण र सुरक्षा पोशाक समेत उपलब्ध गराइएको छ भने पारिश्रमिक जिल्ला दररेटअनुसार प्रदान गरिनेछ । स्थानीय तहकै व्यक्तिहरूलाई प्राथमिकता दिँदा रोजगारी सिर्जना हुनुका साथै सडकप्रतिको अपनत्व पनि बढ्ने उनले बताए ।
पछिल्लो समय यी सडकमा सवारी साधनको चाप उल्लेख्य रूपमा बढ्दै गएको छ । नियमित हेरचाह बिना सडकको दिगोपनामा असर परेको थियो । तर ‘सडक हेरालु’ को व्यवस्था भएसँगै केहि हदसम्म दीर्घकालीन रूपमा सडकको अवस्था सुधार्न र यात्रुलाई सहज सेवा दिन महत्वपूर्ण भूमिका खेल्ने विश्वास गरिएको छ ।



हुलाकी पाटी 













प्रतिक्रिया दिनुहोस्