images
images
images

इन्जिनियरमाथि कुटपिटको घटनाप्रति धनकुटा र भोजपुरका पूर्वाधार विकास कार्यालयको आपत्ति, दोषीमाथि कारबाहीको माग

images

धनकुटा । भोजपुर–मानेभञ्ज्याङ–बैँकुटे–बाँसीखोरा–बालंखा–रानीटार सडक आयोजनाको अनुगमनका क्रममा सब–इन्जिनियर आनन्दकुमार साहमाथि भएको कुटपिट तथा सांघातिक आक्रमणको घटनाप्रति पूर्वाधार विकास कार्यालय धनकुटा र भोजपुरले गम्भीर ध्यानाकर्षण भएको जनाएका छन् ।

कार्यालयहरूले छुट्टाछुट्टै विज्ञप्ति जारी गर्दै गत असार १५ गते रामप्रसादराई गाउँपालिका–७ स्थित छापागाउँ–बाँसिखोरा सडकखण्डको निर्माण कार्यको स्थलगत अनुगमनका क्रममा गुणस्तर कायम गर्न निर्देशन दिने क्रममा स्थानीय कामदारहरूको एक समूहले सब–इन्जिनियर साहमाथि सांघातिक आक्रमण गरी घाइते बनाएको उल्लेख गरेका छन्।

images
images

विज्ञप्तिमा सार्वजनिक सेवा प्रवाहका क्रममा फिल्डमा खटिएका राष्ट्रसेवक कर्मचारीमाथि हुने हिंसात्मक, अमर्यादित तथा अराजक गतिविधि कुनै पनि दृष्टिकोणबाट स्वीकार्य नहुने उल्लेख गरिएको छ। यस्ता घटनाले कर्मचारीहरूको मनोबल कमजोर बनाउनुका साथै सुरक्षित र मर्यादित कार्य वातावरणमाथि चुनौती सिर्जना गरेको दुवै कार्यालयको भनाइ छ ।

पूर्वाधार विकास कार्यालय धनकुटाका कार्यालय प्रमुख उत्तम नारायण खरेलद्वारा हस्ताक्षर भएको विज्ञप्तिमा घटनाको कडा भर्त्सना गर्दै घाइते कर्मचारी आनन्दकुमार साहको शीघ्र स्वास्थ्यलाभको कामना गरेको छ । साथै घटनामा संलग्न व्यक्तिहरूको निष्पक्ष छानबिन गरी प्रचलित कानुनबमोजिम कडा कारबाही गर्न सम्बन्धित निकायसँग माग गरेको छ।

यस्तै, पूर्वाधार विकास कार्यालय भोजपुरले पनि विज्ञप्तिमार्फत घटनाको निन्दा गर्दै दोषीमाथि तत्काल कानुनी कारबाही गर्न आग्रह गरेको छ। कार्यालयले राष्ट्रसेवक कर्मचारीले सुरक्षित, सम्मानजनक र भयमुक्त वातावरणमा काम गर्न पाउने अधिकार सुनिश्चित गर्न सरकार तथा सम्बन्धित निकायको ध्यानाकर्षण गराएको छ।

images
images

प्रतिक्रिया दिनुहोस्