खगेन्द्र बस्नेत
धनकुटा । धनकुटा कुनै समय मोरङ्गे राजाले मृत्युदण्ड दिने स्थानका रूपमा परिचित धनकुटाको साङ्गुरीगढी गाउँपालिका–१, बुढीमोरङस्थित ‘सूलीकोट’ अहिले सुन्दर पार्कका रूपमा विकास हुन थालेको छ। जनप्रतिनिधिको पहल तथा स्थानीय सहयोगदाताको सहकार्यमा उक्त क्षेत्रमा ‘सूलीकोट पार्क’ निर्माण गरिएको हो ।
स्थानीय तथा सहयोगदाता शिवकुमार इङनाम का अनुसार परापूर्वकालमा मोरङ्गे राजाको शासनकालमा राज्यविरुद्ध लाग्ने व्यक्तिहरूलाई यही स्थानमा मृत्युदण्ड दिने गरिन्थ्यो। सोही ऐतिहासिक घटनासँग जोडिएर यस स्थानको नाम ‘सूलीकोट’ रहन गएको बताइन्छ । ऐतिहासिक महत्व बोकेको स्थान भए पनि पर्याप्त प्रचारप्रसारको अभावमा ओझेलमा परेको उनले बताए ।
सूलीकोट पार्क निर्माणमा स्थानीयवासी तथा विभिन्न सहयोगदाताको महत्वपूर्ण योगदान रहेको छ । विशेषगरी गोविन्द लिम्बू को पहलमा स्थानीयसँग सहकार्य गर्दै श्रमदान र आर्थिक सहयोगमार्फत पार्क निर्माण कार्य अघि बढाइएको हो ।
हालसम्म सहयोगदाताको सहकार्यमा पार्क क्षेत्रमा सात वटा फलैँचा, ‘सूलीकोट’ नाम लेखिएको सेल्फी बोर्ड तथा एक शौचालय निर्माण भइसकेको छ। यद्यपि, चिन्डो र तोङ्बाको सालिक, आत्माघर, मोरङ्गे राजाले मृत्युदण्ड दिने स्थलको संरचना तथा आपतकालीन अवतरणका लागि हेलिप्याड निर्माण कार्य भने अझै बाँकी रहेको जनाइएको छ ।
वडाध्यक्ष गोविन्द लिम्बू का अनुसार आगामी दिनमा स्थानीय सरकारमार्फत बजेट विनियोजन गर्नुका साथै सहयोगदाताबाट समेत आर्थिक सहयोग जुटाएर बाँकी निर्माण कार्य सम्पन्न गरिनेछ । उनले पार्क निर्माण तथा संरक्षणका लागि समाजसेवी, बुद्धिजीवी तथा सरोकारवाला सबैलाई सहयोग गर्न अपिल समेत गरेका छन् ।
सूलीकोट केवल ऐतिहासिक स्थल मात्र नभई प्राकृतिक सौन्दर्यले भरिपूर्ण पर्यटकीय गन्तव्यका रूपमा पनि परिचित छ। यहाँबाट धनकुटाका विभिन्न क्षेत्रसँगै छिमेकी जिल्लाका रमणीय भू–भागसमेत अवलोकन गर्न सकिन्छ ।



हुलाकी पाटी 
















प्रतिक्रिया दिनुहोस्