धनकुटा । १३ औँ संस्करणको रारा गोल्डकप फुटबल प्रतियोगिता आगामी वैशाख १८ गतेदेखि सञ्चालन हुने भएको छ । रारा फुटबल क्लबको आयोजनामा चौबिसे गाउँपालिका–राजारानीस्थित पुण्य माविको खेलमैदानमा वैशाख १८ देखि २२ गतेसम्म प्रतियोगिता हुने आयोजकले जनाएको छ ।
चण्डीपूर्णिमा तथा बुद्धजयन्तीको अवसर पारेर हरेक वर्ष आयोजना हुँदै आएको प्रतियोगिताको विजेताले नगद ७ लाख रुपैयाँसहित ट्रफी प्राप्त गर्नेछ भने उपविजेताले ३ लाख रुपैयाँ र ट्रफी पाउनेछ । प्रतियोगिता सञ्चालनका लागि चौबिसे गाउँपालिकाले १४ लाख रुपैयाँ आर्थिक सहयोग गरेको सचिव जीवन कटुवालले जानकारी दिए ।
विधागत पुरस्कारतर्फ सर्वोत्कृष्ट खेलाडीले २५ हजार रुपैयाँ प्राप्त गर्नेछन् भने उत्कृष्ट गोलकिपर, सर्वाधिक गोलकर्ता र उदयीमान खेलाडीले जनही १०/१० हजार रुपैयाँ पाउनेछन् । प्रत्येक खेलमा ‘म्यान अफ दि म्याच’लाई नगद ७ हजार रुपैयाँ प्रदान गरिनेछ ।
जिल्लाकै सर्वाधिक पुरस्कार राशी रहेको प्रतियोगितामा आयोजकसहित ८ टोलीको सहभागिता रहने क्लबका अध्यक्ष मणी चेम्जोङले जानकारी दिए । सहभागी टोलीमा रारा फुटबल क्लब, सलेह फुटबल क्लब (सर्लाही), विर्तामोड युनाइटेड (झापा), आरआइएफसी (काठमाडौं), केराबारी फुटबल क्लब (सुनसरी), धरान फुटबल क्लब (सुनसरी), गाईघाट फुटबल क्लब (उदयपुर) र डाँडाबजार फुटबल क्लब (धनकुटा) रहेका छन् ।
गत वर्षको उपाधि झापाको विर्तामोड युनाइटेड क्लबले जितेको थियो । यस वर्ष आयोजक टिमको कप्तानी नेपाली राष्ट्रिय टिमका कप्तान तथा गोलकिपर किरण चेम्जोङले गर्ने भएका छन् । उनको जन्मथलो राजारानी भएकाले घरेलु टिमको कप्तानी सम्हाल्दै उपाधि घरमै राख्ने लक्ष्य लिएको सचिव कटुवालले बताए ।
प्रतियोगिताको संरक्षक चौबिसे गाउँपालिका रहेको छ भने अग्नी बसुन्धरा स्मृति प्रतिष्ठान र राजारानी खानेपानी तथा बजार व्यवस्थापन समिति मुख्य सहयोगीका रूपमा रहेका छन् । गोर्खा ब्रुअरी मुख्य प्रायोजक रहेको प्रतियोगिता सम्पन्न गर्न करिब ३६ लाख ५० हजार रुपैयाँ खर्च हुने आयोजकले जनाएको छ ।



हुलाकी पाटी 












प्रतिक्रिया दिनुहोस्