images
images
images

बेलबारी फुटबल क्लबलाई सहिद भीमनारायण गोल्डकपको उपाधि

images

शशिकला राई

धनकुटा । १८औँ संस्करणको सहिद भीमनारायण गोल्डकप फुटबल प्रतियोगिताको उपाधि मोरङको बेलबारी फुटबल क्लबले जितेको छ। धनकुटा सदरमुकामस्थित तल्लो टुँडिखेलमा शनिबार सम्पन्न रोमाञ्चक फाइनल खेलमा आयोजक धनकुटालाई सडनडेथमा ५–४ गोलअन्तरले पराजित गर्दै बेलबारीले उपाधिमाथि कब्जा जमाएको हो।

images
images

निर्धारित ९० मिनेट र थपिएको समयमा दुवै टोलीबाट गोल हुन नसकेपछि खेल ट्राइब्रेकरमा पुगेको थियो। ट्राइब्रेकरमा दुवै टोलीले ४–४ गोल गरेपछि खेलको निर्णय सडनडेथबाट गरिएको हो। सडनडेथमा बेलबारीले बाजी मार्दै उपाधि आफ्नो पक्षमा पारेको हो।

उपाधिसँगै बेलबारीले नगद ६ लाख रुपैयाँसहित ट्रफी प्राप्त गरेको छ भने उपविजेता आयोजक धनकुटाले नगद ३ लाख रुपैयाँसहित ट्रफीमा चित्त बुझाएको छ।

ट्राइब्रेकरमा आयोजक धनकुटाका विवेक गुरुङ, फेमी, ओलायमी र प्रिसोले गोल गरेका थिए भने राज बाजी र पृथ्वी चौधरी गोल गर्न असफल रहे। बेलबारीका सोलुमान किङ, शिशिर लेखी, मुटु, विशाल थिङ र श्याम मुर्मुले गोल गरे भने विवेक पौडेलको प्रहार सफल हुन सकेन।

प्रतियोगिताको सर्वोत्कृष्ट खेलाडी आयोजक टोलीका पदम भट्टराई घोषित हुँदै नगद २५ हजार रुपैयाँ प्राप्त गरे। यस्तै विधागततर्फ बेलबारीका अजय परियार उत्कृष्ट गोलकिपर, महेन्द्र कार्की उत्कृष्ट डिफेन्डर, सुमन श्रेष्ठ उत्कृष्ट प्रशिक्षक तथा सोलुमान किङ सर्वाधिक गोलकर्ता घोषित भए। त्यस्तै आयोजक धनकुटाका राज बाजी उत्कृष्ट मिडफिल्डर तथा प्रतिक थापा मगर उदयीमान खेलाडी घोषित भए। विधागततर्फ उत्कृष्ट घोषित खेलाडीहरूले जनही ११ हजार ५ सय रुपैयाँ पुरस्कार प्राप्त गरेका छन्।

सहिद भीमनारायण स्मृति प्रतिष्ठानको आयोजनामा सञ्चालन हुँदै आएको उक्त प्रतियोगिता वि.सं. २०५५ सालदेखि सुरु भएको हो। केही वर्ष स्थगित भएपछि २०६३ सालदेखि प्रतियोगिता नियमित रूपमा सञ्चालन हुँदै आएको छ।

तत्कालीन राजा वीरेन्द्र शाहमाथि बम प्रहार गरेको अभियोगमा २०३५ सालमा मृत्युदण्ड दिइएका सहिद भीमनारायण श्रेष्ठको स्मृतिमा प्रतियोगिता आयोजना हुँदै आएको हो। नेपाल सरकारले श्रेष्ठलाई २०७४ सालमा सहिद घोषणा गरेको थियो।

images
images
१८औँ संस्करणको सहिद भीमनारायण गोल्डकप

प्रतिक्रिया दिनुहोस्