धनकुटा । उपाधिको दाबेदार मानिएको झापाको विर्तामोड युनाइटेड क्लबलाई पराजित गर्दै मोरङको बेलवारी फुटबल क्लब धनकुटामा जारी १८ औँ संस्करणको सहिद भीमनारायण गोल्डकप फुटबल प्रतियोगिताको फाइनलमा प्रवेश गरेको छ । धनकुटा सदरमुकामस्थित तल्लो टुँडिखेलमा शुक्रबार सम्पन्न सेमिफाइनल खेलमा विर्तामोड युनाइटेड क्लबलाई ३–० गोलअन्तरले पराजित गर्दै बेलवारीले उपाधि नजिकको यात्रा तय गरेको हो ।
बेलवारीको जितमा विदेशी खेलाडी सोलुमान किङ नायक बने । उनले खेलमा ह्याट्रिक पूरा गर्दै टोलीलाई सहज जित दिलाए । खेलभर उत्कृष्ट प्रदर्शन गरेका सोलुमान किङ ‘म्यान अफ द म्याच’ घोषित हुँदै नगद ६ हजार ५ रुपैयाँसहित ट्रफी प्राप्त गरे । प्रतियोगिताअन्तर्गत शनिबार हुने फाइनल खेलमा आयोजक धनकुटा र मोरङको बेलवारी फुटबल क्लबबीच उपाधिका लागि प्रतिस्पर्धा हुनेछ।
सहिद भीमनारायण स्मृति प्रतिष्ठानको आयोजनामा सञ्चालन भइरहेको प्रतियोगिताको विजेताले नगद ६ लाख रुपैयाँसहित ट्रफी प्राप्त गर्नेछ भने उपविजेता टोलीले ३ लाख रुपैयाँसहित ट्रफी हात पार्नेछ।
वि.सं. २०५५ सालदेखि सुरु भएको सहिद भीमनारायण गोल्डकप केही वर्ष स्थगित भएपछि २०६३ सालदेखि नियमित रूपमा सञ्चालन हुँदै आएको छ। प्रतियोगिता तत्कालीन राजा वीरेन्द्र शाहमाथि बम प्रहार गरेको अभियोगमा २०३५ सालमा मृत्युदण्ड दिइएका सहिद भीमनारायण श्रेष्ठको स्मृतिमा आयोजना हुँदै आएको हो। नेपाल सरकारले श्रेष्ठलाई २०७४ सालमा सहिद घोषणा गरेको थियो।
१८औँ संस्करणको सहिद भीमनारायण गोल्डकप


हुलाकी पाटी 
















प्रतिक्रिया दिनुहोस्