धनकुटा । १३औँ संस्करणको रारा गोल्डकप फुटबल प्रतियोगिताको उपाधि झापाको विर्तामोड युनाइटेड क्लबले जितेको छ । राजारानी खेलमैदानमा सम्पन्न फाइनल खेलमा आयोजक रारा फुटबल क्लबलाई पेनाल्टी सुटआउटमा ५–४ गोलअन्तरले पराजित गर्दै विर्तामोडले लगातार दोस्रो पटक उपाधि उचालेको हो ।
निर्धारित समय १–१ गोलको बराबरीमा सकिएपछि खेल पेनाल्टी सुटआउटमा पुगेको थियो । खेलको दोस्रो हाफको ३३औँ मिनेटमा आयोजकका मनिकुमार लामाले पेनाल्टीमार्फत गोल गर्दै टोलीलाई अग्रता दिलाएका थिए । तर अतिरिक्त समयको अन्त्यतिर विर्तामोडका प्रशान्त लक्षमले फ्रिकिकमार्फत गोल गर्दै खेल बराबरीमा ल्याए ।
पेनाल्टी सुटआउटमा विर्तामोडका संजय लिम्बु, दिवश उराउ, प्रशान्त लक्षम, मौसम सुव्वा र विवेक पौडेलले गोल गरे । आयोजक राराका तर्फबाट किरन चेम्जोङ, मनिकुमार लामा, शिशिर लेखी र विशाल भण्डारीले मात्र गोल गर्न सके । दिपेश गुरुङको प्रहार भने विर्तामोडका गोलकिपर अभिषेक बरालले रोकेपछि खेल विर्तामोडको पक्षमा गएको हो ।
फाइनल खेलको म्यान अफ द म्याच झापाका प्रशान्त लक्षम घोषित हुँदै नगद ७ हजार रुपैया प्राप्त गरे । प्रतियोगिताको उदयीमान खेलाडी आयोजक टिमका लोकेन्द्र चेम्जोङ घोषित भए । झापाका अभिषेक बराल उत्कृष्ट गोककिपर, प्रतियोगिताभर ४ गोल गर्दै झापाका राजेश दाहाल सर्वाधिक गोलकर्ता वन्न सफल भए । उनीहरुले नगद ११ हजार रुपैया र ट्रफि प्राप्त गरे ।
त्यस्तै सर्वोकृत्ष्ट खेलाडी राष्ट्रिय टिमका कप्तान तथा गोलकिपर समेत रहेका आयोजक टिमका किरन चेम्जोङ घोषित हुँदै नगद २५ हजार रुपैया सहित ट्रफि प्राप्त गरे ।
उपाधिसँगै विर्तामोडले नगद ७ लाख रुपैयाँसहित ट्रफी हात पार्यो भने उपविजेता रारा फुटबल क्लबले नगद ३ लाख रुपैयाँमा चित्त बुझायो । जिल्लाकै सर्वाधिक नगद पुरस्कार राशी भएको प्रतियोगिता रारा फुटबल क्लबको आयोजनामा वैशाख १८ गतेदेखि सुरु भएको थियो । प्रतियोगितामा आयोजकसहित आठ टोलीको सहभागिता रहेको थियो ।
१३ औँ संस्करणको रारा गोल्डकप


हुलाकी पाटी 











प्रतिक्रिया दिनुहोस्