धनकुटा । १८ औँ संस्करणको शहीद भीमनारायण एक्स्ट्रिम एनर्जी ड्रिंक गोल्डकप फुटबल प्रतियोगिता २०८२ आगामी जेठ १० गतेदेखि १६ गतेसम्म सञ्चालन हुने भएको छ । प्रतियोगिताबारे जानकारी दिन आयोजित पत्रकार सम्मेलन कार्यक्रम सम्पन्न गर्दै आयोजकले प्रतियोगिताको सम्पूर्ण तयारी तीव्र पारिएको जनाएको छ ।
शहीद भीमनारायण स्मृति प्रतिष्ठान धनकुटाको आयोजनामा तल्लो टुँडिखेल खेलमैदानमा सञ्चालन हुने प्रतियोगितामा नेपाल तथा भारतका चर्चित क्लबहरूको सहभागिता रहनेछ । प्रतियोगितामा आयोजक शहीद भीमनारायण स्मृति प्रतिष्ठान धनकुटासहित बिर्तामोड युनाइटेड झापा, राष्ट्रिय जागृति क्लब इटहरी, बेलबारी फुटबल क्लब मोरङ, गाईघाट युनाइटेड उदयपुर, सल्हेस युवा क्लब सिराहा, सातदोबाटो युथ क्लब ललितपुर र जर्जियन फुटबल क्लब कालिम्पोङ भारत सहभागी हुने आयोजकले जनाएको छ ।
प्रतियोगिताको विजेताले नगद ६ लाख रुपैयाँसहित कप, मेडल तथा प्रमाणपत्र प्राप्त गर्नेछ भने उपविजेता टोलीले नगद ३ लाख रुपैयाँसहित कप, मेडल र प्रमाणपत्र हात पार्नेछ । त्यस्तै प्रत्येक खेलमा प्लेयर अफ द म्याचलाई नगद ६ हजार रुपैयाँ प्रदान गरिनेछ । साथै उत्कृष्ट खेलाडी, सर्वाधिक गोलकर्ता र उत्कृष्ट गोलकिपरलाई समेत नगदसहित पुरस्कारको व्यवस्था गरिएको आयोजकले जनाएको छ ।
प्रतियोगिताको अनुमानित आय–व्यय ४५ लाख रुपैयाँ रहेको बताइएको छ । धनकुटा नगरपालिकाको मुख्य सहयोग रहेको प्रतियोगिताको मुख्य प्रायोजक एक्स्ट्रिम एनर्जी ड्रिंक रहेको छ । प्रतियोगिताको प्रत्यक्ष प्रसारण गोल नेपालमार्फत गरिने आयोजकले जनाएको छ ।




हुलाकी पाटी 















प्रतिक्रिया दिनुहोस्