धनकुटा । धनकुटामा आजदेखि १८औँ संस्करणको सहिद भीमनारायण गोल्डकप फुटबल प्रतियोगिता सुरु भएको छ । दरमुकामस्थित तल्लो टुँडिखेलमा आइतबार भएको उद्घाटन खेलमा सिराहाको सलहेश फुटबल क्लबले विजयी सुरुआत गरेको छ । सलहेशले सुनसरीको राष्ट्रिय जागृति क्लबलाई ट्राइब्रेकरमा ४–३ गोलअन्तरले पराजित गरेको हो । निर्धारित समयमा दुवै टोलीबाट गोल हुन नसकेपछि खेलको निर्णय ट्राइब्रेकरबाट गरिएको थियो ।
ट्राइब्रेकरमा सलहेशका फागुराम थारु, दिवाकर चौधरी, विदेशी खेलाडी डेभिट ताओ चेस्सी र सुजन डंगोलले गोल गरे । रोमन भुजेलको प्रहार भने बाहिरिएको थियो । यता राष्ट्रिय जागृतिका निवास फुयल, विदेशी खेलाडी केल्भीन र दोर्जे तामाङले मात्र गोल गर्न सफल भए । सुजन चौधरीको प्रहार बारमा लागेर बाहिरिएको थियो भने विदेशी खेलाडी ओलाबी ओफ्रेजको प्रहार सलहेशका गोलरक्षक योगेश धिमालले बचाएका थिए ।
खेलको प्लेयर अफ द म्याच सलहेशका रोशन पहाडी घोषित भए । उनले नगद ६ हजार रुपैयाँसहित मेडल प्राप्त गरे ।
प्रतियोगिता अन्तर्गत सोमबार गाईघाट फुटबल क्लब उदयपुर र विर्तामोड युनाइटेड क्लब झापाबीच प्रतिस्पर्धा हुने आयोजक समितिका संयोजक शम्भु प्रधानले जानकारी दिनुभयो । जेठ १६ गतेसम्म सञ्चालन हुने प्रतियोगितामा आठ टोलीको सहभागिता रहेको छ ।
प्रतियोगिताको विजेताले नगद ६ लाख रुपैयाँ तथा उपविजेताले ३ लाख रुपैयाँसहित ट्रफी र मेडल प्राप्त गर्नेछन् । प्रत्येक खेलको प्लेयर अफ द म्याचलाई नगद ६ हजार रुपैयाँ प्रदान गरिनेछ भने प्रतियोगिताभर उत्कृष्ट प्रदर्शन गर्ने खेलाडीहरूलाई पनि विभिन्न विधागत पुरस्कारको व्यवस्था गरिएको आयोजकले जनाएको छ ।
यसअघि प्रतियोगिताको उद्घाटन कोशी प्रदेशका आन्तरिक मामिला तथा कानुन मन्त्री इन्द्रमणि पराजुलीले गर्नुभएको थियो ।
वि.सं. २०५५ सालदेखि सुरु भएको यो प्रतियोगिता केही वर्ष स्थगित भएपछि २०६३ सालदेखि नियमित रूपमा सञ्चालन हुँदै आएको छ । तत्कालीन राजा वीरेन्द्र शाहमाथि बम प्रहार गरेको अभियोगमा २०३५ सालमा मृत्युदण्ड दिइएका सहिद भीमनारायण श्रेष्ठको स्मृतिमा प्रतियोगिता आयोजना हुँदै आएको हो । श्रेष्ठलाई नेपाल सरकारले २०७४ सालमा सहिद घोषणा गरेको थियो ।




हुलाकी पाटी 
















प्रतिक्रिया दिनुहोस्