धनकुटा । “खेलकुद हाम्रो पहिचान, एकता हाम्रो अभियान” भन्ने मूल नाराका साथ पाँचौँ खुवाफोक गोल्डकप साँगुरीगढी गाउँपालिका–३ मा सुरु भएको छ । खुवाफोकस्थित पिङबुङ खेल मैदानमा विहिवारदेखि सुरु भएको प्रतियोगिताको उद्घाटन साँगुरीगढी गाउँपालिका अध्यक्ष जितेन्द्र राईले रेफ्रीलाई बल हस्तान्तरण गर्दै गरेका थिए ।
प्रतियोगिताको उद्घाटन खेलमा साँगुरीगढी फुटबल क्लबले सुनसरीको दियालो जनकल्याण क्लब रामधुनीलाई ३–० गोलअन्तरले पराजित गर्दै विजयी सुरुआत गरेको छ । यस्तै दोस्रो खेलमा इटहरी फुटबल क्लबले मोरङको खोरिया ब्वाइज कानेपोखरी–४ लाई ३–१ गोलअन्तरले हराउँदै अघिल्लो चरणमा स्थान बनाएको छ ।
खुवाफोक खेलकुद विकास समितिको आयोजना तथा खुवाफोक युनाइटेड फुटबल क्लबको व्यवस्थापनमा सञ्चालन भइरहेको प्रतियोगिताको विजेताले नगद १ लाख २० हजार रुपैयाँसहित ट्रफी प्राप्त गर्नेछ भने उपविजेता टोलीले नगद ८० हजार रुपैयाँसहित ट्रफी हात पार्नेछ । जेठ १४ गतेदेखि सुरु भएको प्रतियोगिता आगामी १९ गतेसम्म सञ्चालन हुनेछ । प्रतियोगिताको मिडिया पार्टनर हुलाकीपाटी डटकम, मेरो गन्तव्य फेसबुक पेज र कुशल न्यूज रहेका छन् भने इन्टरनेट पार्टनर माउन्ट लिंक प्रालि रहेको आयोजकले जनाएको छ ।
पाँचाैं संस्करणको खुवाफोक गोल्डकप


हुलाकी पाटी 















प्रतिक्रिया दिनुहोस्