images
images
images

३०औं संस्करणको क्यान इन्फोटेक मेलामा अवलोकनकर्ताको उत्साहजनक उपस्थिति

images

काठमाडौँ । ३०औं संस्करणको क्यान इन्फोटेक मेलामा अवलोकनकर्ताले उत्साहजनक उपस्थिति देखाएका छन् । कम्प्युटर एसोसिएसन नेपाल (क्यान) महासंघको आयोजनामा बिहीबारदेखि ‘एचएमसी नेपाल हिक्सेमी क्यान इन्फोटेक २०२५’ मेला सुरु भएको छ । राजधानीको भृकुटीमण्डपस्थित प्रदर्शनीहलमा पाँच दिनसम्म सञ्चालन हुने क्यान इन्फोटेकको यो ३०औं संस्करणमा अवलोकनकर्ताको उपस्थिति उत्साहजनक रहेको आयोजकले जनाएको छ।

मेलामा क्यान महासंघकी अध्यक्ष सुनैना घिमिरे पाण्डेले सूचना प्रविधि सम्बन्धी नयाँ नीति, कानुन तथा निर्देशिकाहरूमा क्यान महासंघले निजी क्षेत्र र सरकार मिलेर प्रविधिको क्षेत्रमा धेरै काम गर्नुपर्ने आवश्यकता रहेको उल्लेख गरिन । १० वर्षमा पाँच लाख प्रत्यक्ष र १० लाख अप्रत्यक्ष रोजगारी प्रदान गरी ३० खर्बको आईटी सेवा निर्यातका लागि कार्ययोजना बनाउन मन्त्रालयसँग काम गर्न खोजेको भनाई पाण्डेको छ । उनले भनिन् “डेटा प्रोटेक्सन एक्ट, क्रिटिकल सर्भिसमा पर्ने डट एनपी सम्बन्धी नीति निर्माण गर्ने, राइड शेयरिङ सम्बन्धी नीति बनाउने, एआईका लागि अत्यन्त आवश्यक पर्ने डेटा मनिटरिङ र डेटा क्लिनजिङ सम्बन्धी काम, वैदेशिक लगानी ऐन २०२१ को संशोधन, ब्रोडब्यान्ड इन्टरनेटका लागि कर प्रणाली परिमार्जन गर्नुपर्ने, दूरसञ्चार पूर्वाधार सहप्रयोग सम्बन्धी निर्देशिका बनाउनुपर्ने, सूचना प्रविधि क्षेत्रका लागि चाहिने वर्कफोर्स तयार पार्ने सम्बन्धमा क्यान महासंघले अवधारणालाई अगाडि सारेको छ।”

images
images

यस प्रदर्शनीमा क्यान महासंघका सदस्य संस्थाहरूका साथै विभिन्न राष्ट्रिय र अन्तर्राष्ट्रिय सूचना तथा सञ्चार प्रविधिसम्बन्धी कम्पनीहरूको सहभागिता रहेको छ । क्यान इन्फोटेक व्यवसायीहरूले व्यापार विस्तार, नयाँ प्रविधिको प्रदर्शनी र ग्राहकसँग प्रत्यक्ष अन्तरक्रियाका लागि उत्कृष्ट अवसर प्रदान गर्ने विश्वास आयोजकको छ । प्रदर्शनीमा ब्राण्डिङ, आईसीटी एक्सेसरिज, गेम पार्लर, प्रडक्ट लन्चिङ, स्टार्ट–अप, रोबोटिक्स, इमर्जिङ टेक्नोलोजी, ई–गभर्नेन्स, इन्टरनेट कनेक्टिभिटी, लर्निङ सेन्टर लगायतका सेवा तथा उत्पादन राखिएको छ ।

मेलामा यस पटक मुख्य आकर्षणमा एआईमा आधारित क्यामेरादेखि ह्युमनाइड रोबोट र सेल्फ ड्राइभिङ कारसम्म रहेका छन्। त्यस्तै क्यान इन्फोटेकमै राष्ट्रिय परिचयपत्रको लाइभ इनरोलमेन्ट सुविधा दिइएकाले अवलोकनकर्ताको आकर्षण देखिएको छ । क्यान इन्फोटेकमा साइबर सुरक्षा सहायता डेस्कदेखि विद्यार्थीहरूले तयार पारेका डेटा साइन्स, सेन्सर टेक्नोलोजी, आर्टिफिसियल इन्टेलिजेन्स, रोबोटिक्स लगायतका प्रोजेक्टले अवलोकन कर्ताका लागि सिक्ने र बुझ्ने अवसर प्रदान गर्ने क्यानका महासचिव चन्द्र विलास भुर्तेलले जानकारी दिए ।

त्यस्तै, अवलोकनकर्ताले पहिलो पटक नेपालमै निर्मित मुनाल स्याटलाइट प्रर्दशनीमा हेर्न पाउने भएका छन् । महासचिव चन्द्र विलास भूर्तेलले क्यान इन्फोटेकमार्फत नेपाली नवप्रवर्तन, अनुसन्धान र आविष्कारका क्षेत्रका सक्रिय उत्पादन तथा प्रतिभालाई प्रोत्साहन गरिएको बताए । प्रदर्शनीमा सहभागी कम्पनीहरूले आफ्ना वस्तु तथा सेवाहरू उपभोक्तामाझ प्रवर्द्धन गर्दै ‘क्यान इन्फोटेक अफर’ अन्तर्गत छुट योजना सार्वजनिक गरेका छन् । साथै, कम्पनीहरूले उपभोक्तासँग नजिक हुन अन्तरक्रिया र रमाइला खेलहरू पनि सञ्चालन गरेका छन् ।

नेपालको सूचना तथा सञ्चार प्रविधि क्षेत्रको ठूलो उत्सवका रूपमा परिचित क्यान इन्फोटेकलाई भव्यताका साथ आयोजना गर्न नेपाल सरकार, सम्बन्धित निकायहरू, सूचना प्रविधि व्यवसायी, नीति निर्माता, विज्ञ, शिक्षण संस्था, सञ्चारकर्मी र प्रविधिप्रेमी सर्वसाधारणलाई क्यान महासंघले विशेष आह्वान गरेको छ ।

 

images
images

प्रतिक्रिया दिनुहोस्