images
images
images

बेलहरामा सरसफाई सचेतना कार्यक्रम सम्पन्न

images

धनकुटा l धनकुटा नगरपालिका वडा नं–९ बेलहरामा सरसफाई सम्बन्धि एकदिने सचेतना कार्यक्रमको आयोजना गरिएको छ ।  खानेपानी तथा सरसफाई डिभिजन कार्यालय धनकुटाको आयोजना र विश्रान्ति मिडिया एण्ड रिसर्च सेन्टर धनकुटाको सहजीकरणमा सरसफाइ सम्बन्धि एक दिने सचेतना कार्यक्रमको आयोजना गरिएको हो । वडा कार्यालयको सभाहलमा आयोजना गरिएको उक्त कार्यक्रममा करिब ५१ जना सहभागी भएका थिए । सहभागीहरूमा खानेपानी तथा सरसफाई उपभोक्ता समितिका पदाधिकारी, उपभोक्ता, जनप्रतिनिधि, विद्यार्थी तथा सरोकारवाला निकायका प्रतिनिधिहरूको उपस्थिति रहेको थियो ।

धनकुटा नगरपालिका वडा नं ९ का वडाध्यक्ष टंकप्रसाद रोइलाको अध्यक्षतामा सम्पन्न कार्यक्रममा स्वागत मन्तव्य खानेपानी तथा सरसफाइ डिभिजन कार्यालय धनकुटाका खानेपानी टेक्निसियन उत्सव भट्टराईले राखेको थिए ।

images
images

त्यस्तै सरसफाईको परिभाषा, सरसफाई नगर्दाको असर, व्यक्तिगत सरसफाईको उपाय, घर र विद्यालय सफा राख्ने उपायहरुको वारेमा खानेपानी तथा सरसफाई डिभिजन कार्यालय धनकुटाको फोकन पर्सन भावना श्रेष्ठले प्रस्तुतिकरण राखेकी थिइन् ।

कार्यक्रममा पर्डेप नेपालका महासचिव तथा सहजकर्ता मीनप्रसाद सुवेदीले पूर्ण सरसफाईसम्बन्धी सूचना, रणनीति, लक्ष्य र पानीसम्बन्धी महत्वपूर्ण तथ्यहरू श्रव्यदृश्य माध्यममार्फत प्रस्तुत गर्दै सहजीकरण गरेका थिए। सहजीकरणपछि सहभागीहरूले सरसफाईसम्बन्धी विभिन्न जिज्ञासा राखेका थिए, जसको उनले स्पष्ट रूपमा उत्तर दिएका थिए ।

धनकुटा नगरपालिका वडा नं ९ का वडाध्यक्ष टंकप्रसाद रोइलाले खानेपानीको माध्यमबाट व्यक्तिगत र घरायसी सरसफाई कसरी गर्न सकिन्छ भन्ने ज्ञान कार्यक्रमबाट प्राप्त भएको बताउँदै, आगामी दिनमा घरआँगनको फोहोरमैला व्यवस्थापनमा वडा कार्यालयको तर्फबाट सहकार्य गर्ने प्रतिबद्धता व्यक्त गरे । कार्यक्रमको सञ्चालन विश्रान्ति मिडिया एण्ड रिसर्च सेन्टरका प्रवन्धक हरिबहादुर लम्जेलले गरेका थिए ।

images
images

प्रतिक्रिया दिनुहोस्

images