images
images
images

मुगामा प्रहरी चौकी स्थापना गर्न समन्त भद्र थापा दम्पतीद्वारा ४ रोपनी जग्गा निःशुल्क प्रदान

images

धनकुटा । पाख्रिवास नगरपालिका–८, मुगामा प्रहरी चौकी स्थापना गर्न स्थानीय वरिष्ठ समाजसेवी समन्त भद्र थापा र उनकी धर्मपत्नी रस्मी थापाले ४ रोपनी जग्गा जिल्ला प्रहरी कार्यालय धनकुटालाई प्रदान गरेका छन् ।

अमेरिकामा बसोबास गर्दै आएका थापा दम्पतीले मंगलबार जिल्ला प्रहरी कार्यालयमा आयोजित विशेष कार्यक्रममा प्रहरी प्रमुख एसपी सरत कुमार थापा क्षेत्रीलाई जग्गाधनी पूर्जा हस्तान्तरण गरेका हुन् । सो जग्गामा प्रहरी चौकीको भवन निर्माण गरिनेछ ।

images
images

कार्यक्रममा पूर्व मन्त्री तथा राष्ट्रपति रामचन्द्र पौडेलका राजनीतिक सल्लाहकार र नेपाली कांग्रेस केन्द्रीय कार्य सम्पादन समितिका सदस्य सुनिल बहादुर थापा, वरिष्ठ समाजसेवी डा. अरुण थापा, नेपाली कांग्रेस धनकुटाका जिल्ला सचिव तथा भूमि समस्या समाधान आयोगका सदस्य विजय सन्तोषी राई, कांग्रेसका पूर्वमहासमिति सदस्य असित नरसिंह थापा, जिल्ला सदस्य मिनबहादुर कार्की, धनकुटा–काठमाण्डौ सम्पर्क समितिका वरिष्ठ उपसभापति कुमार थापा,  प्रहरी निरीक्षक किशोर तामाङलगायत प्रहरी अधिकृत र कार्यालयमा कार्यरत प्रहरीकर्मी उपस्थित थिए ।

सो अवसरमा एसपी थापा क्षेत्रीले जग्गा दातालाई खादा–माला अर्पण गर्दै सम्मान व्यक्त गरेका थिए । उनले पूर्वमन्त्री सुनिल बहादुर थापालाई पनि चौकी स्थापना प्रक्रियामा विशेष भूमिका निर्वाह गरेकोमा धन्यवाद दिएका थिए ।

कार्यक्रमको संचालन प्रहरी निरिक्षक किशोर तामाङले गरेका थिए । उक्त जग्गा उपलब्ध गराउन राष्ट्रपतिका राजनैतिक सल्लाहकार सुनिल वहादुर थापाले विशेष भूमिका निर्वाह गरेका थिए ।

जिल्ला प्रहरी कार्यालयका अनुसार मुगा, भोजपुर–धनकुटा सीमाक्षेत्रमा पर्ने भएकाले शान्ति सुरक्षा प्रभावकारी बनाउन प्रहरी चौकी स्थापना आवश्यक भएको बताइएको छ । यस क्षेत्रका स्थानीयवासीको पनि यही माग रहेको र प्रक्रिया अगाडि बढाइएको प्रहरी प्रमुख थापा क्षेत्रीले जानकारी दिए । थापा दम्पतीले सोही दिन मालपोत कार्यालय धनकुटामा आफ्नो नामको ४ रोपनी जग्गा कित्ताकाट गरी जिल्ला प्रहरी कार्यालयको नाममा पास गरेका थिए ।

images
images

प्रतिक्रिया दिनुहोस्