images
images
images

खाँदबारी–किमाथाङ्का सडक ‘ब्रेक थ्रु’, बजेट अभाव हुन नदिने मन्त्रीको आस्वासन

images

काठमाडौँ । जोगवनी नाकादेखि सङ्खुवासभाको किमाथाङ्का हुँदै चीन जोड्ने कोशी राजमार्गअन्तर्गतको सङ्खुवासभाको खाँदबारीदेखि किमाथाङ्कासम्मको सडक ‘ब्रेक थ्रु’ गरिएको छ ।

सङ्खुवासभा सदरमुकाम खाँदबारीदेखि चीनसँगको उत्तरी सीमा नाका किमाथाङ्कासम्म पर्ने एक सय ५८ किलोमिटर सडकको ट्र्याक खन्ने काम सम्पन्न भएसँगै उक्त सडकको आज ‘ब्रेक थ्रु’ गरिएको हो । खाँदबारी–किमाथाङ्का सडकअन्तर्गत च्याम्ताङ्गदेखि घोङघोप्पासम्मको साढे १० किलोमिटर सडकको चट्टानसहितको भीर नेपाली सेनाले फुटाएर ट्र्याक खुलाएसँगै आज सङ्घीय सरकारका तीन मन्त्रीको उपस्थितिमा उक्त सडकको ‘ब्रेक थ्रु’ गरिएको हो । भोटखोला गाउँपालिका–१ च्याम्ताङमा सङ्खुवासभाका प्रतिनिधिसभा सदस्य एवं ऊर्जा, जलस्रोत तथा सिँचाइमन्त्री दीपक खड्का, रक्षामन्त्री मानवीर राई र भौतिक पूर्वाधार तथा यातायातमन्त्री देवेन्द्र दाहालको उपस्थितिमा उक्त सडकको ‘ब्रेक थ्रु’ गरिए सँगै भारतदेखि चीनसम्मको कोशी राजमार्गको ट्र्याक खोल्ने कार्यसँगै सडक स्तरोन्नति र चौडा बनाउने काम हुनेछ ।

images
images

कार्यक्रममा मन्त्री खड्काले खाँदबारी–किमाथाङ्का सडक जोडिएसँगै त्रिदेशीय पारवहनमा महत्वपूर्ण भूमिका निर्वाह गर्ने बताए । उहाँले त्रिदेशीय नाका जोड्ने उक्त सडक सञ्चालनमा आएपछि नेपाल–भारत र चीनका साथै बङ्गलादेशले फाइदा लिनसक्ने उल्लेख गरे। सडक स्तरोन्नतिका लागि आवश्यक बजेट विनियोजन गर्न मन्त्री खड्काले भौतिक पूर्वाधार मन्त्रालयलाई आग्रह गरे। किमाथाङ्का क्षेत्र हुँदै अरुण नदीको बहाव रहेकाले उक्त क्षेत्रमा अन्य जलविद्युत् आयोजना निर्माण गर्न सकिने मन्त्री खड्काको भनाइ थियो । “यो सडकको पहुँचमार्फत जलविद्युत् विकासमा उल्लेख्य उपलब्धि हासिल गर्न सकिने हुँदा यो शीघ्र सञ्चालन गर्न आवश्यक छ,” उनले भने ।

कार्यक्रममा रक्षामन्त्री राईले समयअगावै सडकको ट्र्याक खोल्ने काम सम्पन्न भएकामा सेनाले गरेको कामको प्रशंसा गरे । मन्त्री राईले बाँकी रहेको काम चाँडो सम्पन्न गर्ने गरी काम गर्न समेत सेनालाई निर्देशन दिए । भौतिक पूर्वाधार तथा यातायातमन्त्री दाहालले उक्त सडकखण्डको बाँकी काम सम्पन्न गर्न आवश्यक बजेट अभाव हुन नदिने उल्लेख गरे । उनले उक्त सडकखण्डमा पर्ने पुल निर्माणका लागि सरकारले आवश्यक बजेट विनियोजन गर्ने समेत बताएका छन् ।

भोटखोला गाउँपालिकाका अध्यक्ष वाङछेदर भोटेले उक्त सडक निर्माणले भोटखोलाको आर्थिक विकासमा सहयोग पुग्ने बताए । “सडक ब्रेक थ्रुसँगै भोटखोला, सङ्खुवासभा र सिङ्गो मुलुकका लागि सुनौलो दिनको सुरुआत भएको छ । ” कार्यक्रममा सेनाले सडक निर्माणका लागि बजेट अपुग रहेकाले बजेट सुनिश्चित गरे सडक चौडाइको काम चाँडो सम्पन्न गर्न सकिने जनाएको छ ।

images
images

प्रतिक्रिया दिनुहोस्