काठमाडौँ । माथिल्लो जुनबेसी खोला जलविद्युत् आयोजनाको वित्तीय व्यवस्थापन पूरा भएको छ । सोलुखुम्बुको सोलुदूधकुण्ड नगरपालिका–२ जुनबेसीमा निर्माण गरिने ५.८७५ मेगावाटको आयोजनामा दुई वटा बैंकले ऋण लगानी गर्नेगरी वित्तीय व्यवस्थापन पूरा गरिएको हो ।
गोर्खाज हिमालयन हाइड्रो लिमिटेडले प्रवर्द्धन गर्न लागेको आयोजनामा सहवित्तीयकरण ऋण लगानीको नेतृत्वकर्ता सानिमा बैंक लिमिटेडले ६५ करोड रुपैयाँ र मुक्तिनाथ विकास बैंकले २५ करोड रुपैयाँ लगानी गर्ने सम्झौता भएको प्रवर्द्धक कम्पनीका प्रबन्ध सञ्चालक सन्तोष भट्टराईले जानकारी दिए ।
आयोजनाको कुल लागत अनुमान एक अर्ब २९ करोड रुपैयाँ रहेको छ । यसमध्ये ७० प्रतिशतले हुन आउने ९० करोड रुपैयाँ ऋण र ३० प्रतिशतले हुन आउने ३९ करोड रुपैयाँ प्रवर्द्धकको स्वपुँजी लगानीबाट जुटाइने जनाइएको छ । विद्युत्को उच्च माग हुने समय (पिक आवर) मा दैनिक एक घण्टा पूर्ण क्षमतामा विद्युत् उत्पादन गर्न सक्ने गरी सो आयोजनालाई आंशिक जलाशयको रूपमा निर्माण गर्न लागिएको हो । ।
आउँदो फागुन १ गतेदेखि निर्माण सुरु गरेर २१ महिना (२०८३ साल कात्तिक) भित्र आयोजना सम्पन्न गरी लक्ष्य लिइएको छ ।
आयोजनाबाट वर्षायाममा २३.५३२ गिगावाट घण्टा र हिउँदमा ११.५२६ गिगावाट घण्टा गरी वार्षिक कुल ३५.०५९ गिगावाट घण्टा विद्युत् उत्पादन हुनेछ । नेपाल विद्युत् प्राधिकरणसँग भएको विद्युत् खरिद(बिक्री सम्झौता (पीपीए) अनुसार आयोजनाले उत्पादन गर्ने बिजुलीको मूल्य वर्षायामका ६ महिना ४.८० रुपैयाँ र हिउँदका ६ महिना ८.४० रुपैयाँ प्रतियुनिट रहने बताइएको छ ।
आयोजनाले उत्पादित बिजुली ३३ केभी आठ किलोमिटर लामो लाइन निर्माण गरी सोलुखुम्बुस्थित १३२ केभी तिङ्ला सबस्टेसनमा जोडेर राष्ट्रिय प्रसारण लाइनमा पुर्याउने छ ।



हुलाकी पाटी 













प्रतिक्रिया दिनुहोस्