images
images
images

खरखरेभिरको सुख्खा पहिरो रोकथाममा ढिलाइ, त्रासमा स्थानीय

images

काठमाडौँ । लमजुङको बेँसीसहर–चामे सडकअन्तर्गत बेँसीसहर नगरपालिका–६ स्थित खरखरेभिर पहिरो रोकथाममा ढिलाइ भएको छ । करिब आठ महिनादेखि जारी पहिरो रोकथामको काम अझै सम्पन्न हुन सकेको छैन । यहाँ गत असारयता निर्माण कार्य ठप्प छ ।

सङ्घीय सरकारको १६ करोड ४८ लाखमा खरखरेभिरमा पहिरो रोकथामका लागि निर्माण कार्य हुँदै आएको थियो । निर्माणमा संलग्न निर्माण व्यवसायीले बीचमा काम छाडेपछि निर्माण कार्य हुन सकेको छ्र्रैन । सुख्खा पहिरोले स्थानीय तथा पर्यटकलाई समस्या भएको छ । डुम्रे–बेँसीसहर–चामे सडक योजना कार्यालयका सूचना अधिकारी नवीन विष्टले भने, “पहिरो रोकथामको काम जटिल रहेको कारण देखाउँदै काम बन्द गरिएको छ ।”

images
images

भौगोलिक बनावट कठिन हुँदा काम गर्दा माथिको डाँडा नै खस्न सक्ने अवस्था छ । यसअघि निर्माण गरिएको सडकमाथिको संरचना पनि पहिरो खसेर भत्किएको छ । सडकको हालसम्म जम्मा ३२ प्रतिशत मात्र निर्माण प्रगति भएको सुचना अधिकारी विष्टले बताए । उक्त खण्डमा तीन सय मिटर पर्खाल सडक ढलान गर्नुपर्ने देखिन्छ । अझै ८० मिटर सडक ढलान गर्न बाँकी रहेको छ । सो काम सम्पन्न भएपछि पहिरो रोकथाम हुने सूचना अधिकारी विष्टको भनाइ छ ।

पहिरो रोकथाम नहुँदा सो सडक भएर यात्रा गर्न जोखिम भएको बेँसीसहर नगरपालिका–६ का कृष्णबहादुर आलेले बताए । “यात्रा गर्दा कतिबेला माथिबाट ढुङ्गामाटो तथा पहिरो खस्ने हो भन्ने डर रहन्छ । सडकबाट चिप्लए सिधैँ मस्र्याङ्दी नदीमा पुग्ने खतरा छ,” उनले भने ।

विश्व चर्चित चक्रीय अन्नपूर्ण पदमार्गमा पर्ने उक्त ठाउँको पहिरो हुँदै पर्यटक आवतजावत गर्छन् । बेँसीसहर–६ का वडाध्यक्ष प्रकाश थापाले भने, “यहाँ हिँड्दाहिँड्दै पहिरो खस्छ, जोखिम छ, धेरै गाह्रो छ । अझ बर्खायाममा बढी समस्या तथा जोखिम हुने गरेको छ ।”

पहिरोभन्दा माथि २४–२५ परिवार रहेको फाँटगाउँ छ । पहिरोले बस्ती भेट्न करिब पाँच सय मिटर मात्र बाँकी छ ।

कार्यालयका अनुसार खरखरेभिरका लागि बोलपत्र आह्वान गरेर २० करोड लागत अनुमान गरिएकामा १६ करोड ४८ लाखमा निर्माण सम्पन्न गर्नेगरी खरीढुङ्गा गोल्मेस्वर जेभीले कामको जिम्मा लिएको थियो।

सम्झौताअनुसार २०८० मङ्सिरभित्र काम सम्पन्न हुनुपर्ने हो । तर काम सम्पन्न हुन नसक्दा २०८२ मङ्सिरसम्मका लागि म्याद थप गरिएको कार्यालयले जनाएको छ ।

मनाङ जिल्लालाई सडक सञ्जालसँग जोड्ने सरकारको योजनाअनुसार २०५१ सालदेखि सडक डिभिजन कार्यालय दमौली, तनहुँले निर्माण सुरु गरेको थियो । विसं २०५७ देखि नेपाली सेनाले सो सडक बनाउने जिम्मा पाएको थियो । सेनाले २०६९ सालमा सडक निर्माण पूरा गरी डिभिजन सडक कार्यालय दमौलीलाई हस्तान्तरण गरेको थियो । पैसठ्ठी किलोमिटर रहेको उक्त सडक लमजुङतर्फ ३५ र मनाङतर्फ ३० किलोमिटर पर्छ । यो सडक खरखरे भिरको पहिरोको कारण अवरुद्ध हुँदैआएको छ । सो स्थानमा करिब सात वर्षदेखि पहिरो जान थालेको हो ।

images
images

प्रतिक्रिया दिनुहोस्