धनकुटा । चौबिसे गाउँपालिकाको केन्द्र राजारानीमा आगामी वैशाख २९ गतेदेखि १२ औं संस्करणको रारा रनिङ गोल्डकप फुटबल प्रतियोगिता हुने भएको छ । आयोजक रारा फुटबल क्लबले बुधबार पत्रकार सम्मेलनको आयोजना गरेर आगामी वैशाख २९ देखि जेठ ४ गतेसम्म प्रतियोगिता संचालन हुन लागेकाे जानकारी दिएको हो ।
पुण्य माध्यमिक विद्यालयको खेल मैदानमा हुने प्रतियोगितामा आयोजक सहित आठ टिमको सहभागिता रहनेछ । प्रतियोगिता सञ्चालनका लागि आर्थिक व्यवस्थापन, प्रचारप्रचार र खेलमैदान व्यवस्थापन उपसमिति निर्माण गरिएको आयोजकले जनाएको छ। सो प्रतियोगितामा ४४ लाख ५० हजार आम्दानी र ४२ लाख २५ हजार रुपैयाँ खर्च हुने अनुमान गरिएको छ । धनकुटाको प्रतिष्ठित प्रतियोगिता मानिने रारा गोल्डकप ०५८ सालबाट सञ्चालन गर्न थालिएको हो ।
प्रतियोगिताको संरक्षकमा चौविसे गाउँपालिका र प्रायोजक गोर्खा ब्रुअरी छन् । अग्नी बसुन्धरा स्मृति प्रतिष्ठान एवम् खानेपानी तथा बजार व्यवस्थापन समिति सहयोग संस्थाको रुपमा छन् । त्यस्तै सपिङ पार्टनर टि स्मार्ट, मिडिया पार्टनर गोल नेपाल डटकम, मेरो गन्तव्य र हुलाकीपाटी, वैकिङ पार्टनर नबिल वैंक र सप्तकोशी डेभलपमेन्ट वैंक, किट पार्टनर जोया, एजुकेसन पार्टनर केटिएम कन्सल्टिङ ग्रुप र मेडिकल पार्टनर सेवक मेडिकल रहेको छ ।
ए डिभिजन लिग च्याम्पियन चर्च ब्वाइज सहभागी हुँदै
१२ औं संस्करणको रारा गोल्डकपमा ए डिभिजन लिग च्याम्पियन चर्च ब्वाइज सहित आठ टिमको सहभागिता रहनेछ । चर्च ब्वाइज २०८० सालको सहिद स्मारक ए डिभिजन लिग विजेता टिम हो । पत्रकार सम्मेलनमा दिइएको जानकारी अनुसार लिग च्याम्पियन चर्च ब्वाइज सहित आयोजक रारा फुटबल क्लब, सिराहाको सलहेश फुटबल क्लब, सर्लाहीको बागमती युथ क्लब, सुनसरीको गोल्डेन स्टार क्लब, मोरङको एलएक्स सिटी युथ क्लब, झापाको विर्तामोड युनाइटेड क्लब र धनकुटाको डाँडाबजार फुटबल क्लब सहभागी क्लवका अध्यक्ष मणी चेम्जोङले बताए ।
पुरस्कार राशिमा वृद्धि
यो पटक प्रतियोगिताको पुरस्कार राशि वृद्धि वृद्धि गरिएको छ। १२ औं संस्करणको विजेताले नगद ७ लाख र उपविजेताले ३ लाख सहित ट्रफी र मेडल प्राप्त गर्नेछन् । विधागततर्फ हरेक विधाका उत्कृष्ट खेलाडीले जनही १० हजार रुपैयाँ र हरेक खेलमा म्यान अफ द म्याच घोषित हुने खेलाडीले नगद ७ हजार ५ सय रुपैया पुरस्कार पाउने आयोजकले जनाएको छ । गतसंस्करणको विजेतालाई नगद ५ लाख र उपविजेतालाई २ लाख ५० हजार पुरस्कार प्रदान गरिएको थियो ।
उद्घाटन खेल आयोजक र गोल्डेनस्टार वीच हुने
प्रतियोगिताको उद्घाटन खेल वैशाख २९ गते आयोजक राजारानी फुटवल क्लव र सुनसरीको गोल्डेनस्टार वीच हुनेछ । खेल तालिका अनुसार वैशाख ३० गते मोरङको एलएक्स सिटी एफसी र धनकुटाको डाँडाबजार फुटवल क्लव वीच प्रतिस्पर्धा हुनेछ । त्यस्तै ३१ गते साविक विजेता सिराहाको सलहेश यूथ क्लव र झापाको विर्तामोड युनाइटेड क्लव र जेठ १ गते लिग च्याम्पियन चर्च ब्वाइज युनाइटेड र सर्लाहीको वागमति युथ क्लव वीच प्रतिस्पर्धा हुने आयोजकले जनाएको छ । प्रतियोगिताको सेमिफाइनलको खेल जेठ २ र ३ गते र फाइनल खेल जेठ ४ गते हुने आयोजक रारा फुटवल क्लवका अध्यक्ष मणी चेम्जोङले बताए ।




हुलाकी पाटी 













प्रतिक्रिया दिनुहोस्