images
images
images

बजेट खर्चमा साँगुरीगढी अब्बल, धनकुटा नगरपालिका कमजोर

साँगुरीगढी गाउँपालिकाले कुल ५७ करोड ७४ लाख ६९ हजार २ सय ७२ रुपैयाँ बजेट विनियोजन गरेकोमा ५० करोड ३० लाख ८२ हजार २ सय ५२ रुपैया खर्च गर्दै ८७ प्रतिशत बजेट उपयोग गरेको छभने धनकुटा नगरपालिकाले चालु आर्थिक वर्ष २०८१।८२ को लागि १ अर्ब १२ करोड २७ लाख २३ हजार रुपैयाँ वरावरको बजेट विनियोजन गरे तापनि ७४ प्रतिशत मात्र खर्च गर्न सकेको छ ।

images

धनकुटा । आर्थिक वर्ष २०८१/८२ को अन्त्यतिर आइपुग्दा धनकुटाका स्थानीय तहहरूको बजेट खर्चको अवस्था सार्वजनिक भएको छ । प्रकाशित तथ्यांकअनुसार साँगुरीगढी गाउँपालिकाले उच्चतम बजेट उपभोग गर्दै उत्कृष्ट कार्यसम्पादन प्रदर्शन गरेको छ । भने धनकुटा नगरपालिका अन्य स्थानीय तहको तुलनामा बजेट खर्चमा कमजोर देखिएको छ ।

images
images

बजेट खर्चमा साँगुरीगढीको अब्बल
साँगुरीगढी गाउँपालिकाले कुल ५७ करोड ७४ लाख ६९ हजार २ सय ७२ रुपैयाँ बजेट विनियोजन गरेकोमा ५० करोड ३० लाख ८२ हजार २ सय ५२ रुपैया खर्च गर्दै ८७ प्रतिशत बजेट उपयोग गरेको छ । गाउँपालिकाले चालु र पुँजीगत खर्च तर्फ पनि समान ८७ प्रतिशत नै खर्च गरेको छ । चालुतर्फ विनियोजित ४१ करोड २० लाख ५८ हजार ६६७ रुपैया मध्ये ३५ करोड ८६ लाख ९७ हजार ४३७ खर्च गरेको गाउँपालिकाका प्रमुख प्रशासकीय अधिकृत राजकुमार शाक्यले बताए । त्यस्तै पुँजीगततर्फ १६ करोड ५४ लाख १० हजार ६०४ मध्ये ८७ प्रतिशत अर्थात १४ करोड ४३ लाख ८४ हजार ८१५ रुपैया खर्च गरेको तथ्यांकमा उल्लेख छ । गाउँपालिकाको बजेट र खर्च अनुपातलाई आधार मान्दा योजना कार्यान्वयनमा सन्तुलन कायम गरिएको संकेत दिएको छ । उपभोक्ता समितिको सक्रियता र दिर्घकालीन् योजनामाथि केन्द्रित भएर बजेट खर्च बढाएको देखिएको छ ।

अन्य स्थानीय तहको तुलनामा धनकुटा नगरपालिकाको कमजोर प्रदर्शन

धनकुटा नगरपालिकाले चालु आर्थिक वर्ष २०८१।८२ को लागि १ अर्ब १२ करोड २७ लाख २३ हजार रुपैयाँ वरावरको बजेट विनियोजन गरे तापनि ७४ प्रतिशत मात्र खर्च गर्न सकेको धनकुटा नरपालिकाका लेखा अधिकृत नरबहादुर भूजेलले बताए । प्रतिशतको आधारमा जिल्लाका अन्य स्थानीय तहको तुलनामा न्यून हो ।

कुल बजेटमध्ये ८२ करोड ८१ लाख १५ हजार ४०४ रुपैयाँ बजेट खर्च भएको छ । चालु खर्चमा ९०.१९ प्रतिशत प्रगति देखिए तापनि पुँजीगत खर्च ५८ प्रतिशतमै सीमित छ । नगरपालिकाका अनुसार पुँजीगततर्फको खर्चमा देखिएको कमजोरीको मुख्य कारण हिले–भीरगाउँ सडक योजनामा बजेट खर्च हुन नसक्नु हो । शर्सत अनुदानका रुपमा प्राप्त भएकाे यो सडक योजना अन्र्तगत ३६ करोडको ठेक्का सम्झौंता भएतापनि चालु वर्षभित्र १७ करोड मात्र भुक्तानी भएको छ । त्यसैगरी आन्तरिक राजश्व स्रोतबाट अपेक्षित आम्दानी नहुँदा केही योजनाको भुक्तानी रोकिनु परेको र भुक्तानी दायित्व अर्को आर्थिक वर्षमा धकेलिएको नगरपालिकाले जानकारी दिएको छ ।

त्यसैगरी जिल्लाका अन्य स्थानीय तहमध्ये पाख्रिवास नगरपालिकाले कुल बजेट मध्ये ८० प्रतिशत खर्च गरेको छ । पाख्रिवास नगरपालिकाले यस आर्थिक वर्षमा कुल ६० करोड ५८ लाख ९६ हजार रुपैया बरावरको बजेट विनियोजन गरेको थियो । जसमध्ये ४८ करोड ४७ लाख १६ हजार ८०० रुपैया खर्च गर्दै ८० प्रतिशत खर्च गर्न सफल भएको छ । पाख्रिवास नगरपालिकाले चालुतर्फ विनियोजन गरेको ३७ करोड ३५ लाख ५२ हजार रुपैयामध्ये ८५ प्रतिशत अर्थात ३१ करोड ७५ लाख १९ हजार २०० रुपैयाँ खर्च गर्न सफल भएको छ । पुँजीगतर्फ पनि नगरपालिकाले राम्रो प्रगति गरेको देखिन्छ । कुल २३ करोड २३ लाख ४४ हजार रुपैया पुँजीगत बजेटमध्ये १६ करोड ९६ लाख ११ हजार १२० रुपैया खर्च गर्दै ७३ प्रतिशत कार्यान्वयन भएको छ ।

आर्थिक वर्षको समाप्तिको संघारमा छथरजोरपाटी गाउँपालिकाले बजेट खर्चमा ७९ प्रतिशतको प्रगति गरेपनि चालुखर्च र पुँजीगत खर्चवीचमा अन्तर देखिएको छ । गाउँपालिकाका अनुसार चालु आर्थिक वर्षमा कुल ४७ करोड ३८ लाख १८ हजार रुपैयाँ विनियोजन गरिएको थियो । यस मध्ये ३७ करोड ३४ लाख ६३ हजार ३४८ रुपैयाँ खर्च गरिएको लेखा अधिकृत मातृका धितालले बताए । कुल बजेटको ७९ प्रतिशत हो । चालु खर्चमा ८९ प्रतिशत प्रगति गरेको छ । चालु तर्फ विनियोजित २९ करोड ५७ लाख ४३ हजार रुपैयाँ मध्ये २६ करोड ३२ लाख ११ हजार २७० रुपैयाँ खर्च भइसकेको छ, जुन ८९ प्रतिशत हो । त्यस्तै पुँजीगततर्फ विनियोजित १७ करोड ८० लाख ७६ हजार रुपैयाँ मध्ये ११ करोड १२ लाख ९७ हजार ५०० रुपैयाँ मात्र खर्च भएको छ, जुन ६३ प्रतिशत हो ।

सहिदभूमि गाउँपालिकाले ८४ प्रतिशत बजेट खर्च गरेको छ । गाउँपालिकाको कुल बजेटमा मात्रै होइन चालु र पुँजीगत दुवै खर्चमा समेत सन्तुलन देखिएको छ । यस आर्थिक वर्षमा ४९ करोड ३ लाख ४ हजार रुपैयाँ बराबरको बजेट विनियोजन गरेको थियो । जसमध्ये ४१ करोड २२ लाख २८ हजार ७६० रुपैयाँ खर्च गरेको लेखा अधिकृत नितेशकुमार यादवले बताए । सहिदभूमिले ३३ करोड ३५ लाख ७८ हजार ७८० रुपैयाँ चालु खर्चका लागि विनियोजन गरेकोमा त्यसको ८७ प्रतिशत, अर्थात् २९ करोड १५ लाख ४४ हजार ४०७ रुपैयाँ खर्च गरेको छ । यसैगरी पुँजीगत खर्चतर्फ सहिदभूमिले अपेक्षाकृत प्रगति गरेको छ । १५ करोड ६७ लाख २५ हजार २२० रुपैयाँ विनियोजन गरिएको पुँजीगत बजेटमध्ये १२ करोड ६ लाख ८४ हजार ३५३ रुपैयाँ खर्च गरिएको छ, जुन ७७ प्रतिशत हो ।

चौविसे गाउँपालिका बजेट खर्चको मामिलामा ७६ प्रतिशतको समग्र प्रगति गर्न सफल भएको छ । चालु खर्चमा उच्च प्रगति देखिए पनि पुँजीगत खर्च अपेक्षा अनुसार नभएको देखिएको छ । गाउँपालिकाले आर्थिक वर्ष २०८१/८२ मा ५३ करोड ८८ लाख ६ हजार १०६ रुपैयाँ बराबरको बजेट विनियोजन गरेको थियो । जसमध्ये ४१ करोड १३ लाख ६५ हजार ७८१ रुपैयाँ खर्च भएको लेखा अधिकृत सोभित  तुम्वाले बताए । कुल बजेटको ७६ प्रतिशत हो । त्यस्तै चालुतर्फ कुल ३६ करोड ९४ लाख ५७ हजार रुपैयाँ विनियोजन गरिएकोमा ८२ प्रतिशत, अर्थात् ३० करोड ४१ लाख ५७ रुपैयाँ खर्च गरिएको छ । पुँजीगततर्फ भने १६ करोड ९३ लाख ४९ हजार १०६ रुपैयाँ विनियोजन गरिएको थियो, जसमध्ये १० करोड ७२ लाख ६५ हजार ७२४ रुपैयाँ, अर्थात् ६३ प्रतिशत खर्च गरिएको छ ।

महालक्ष्मी नगरपालिकाले कुल बजेटको ८७ प्रतिशत खर्च गरेको प्रारम्भिक तथ्याङ्क प्राप्त भएको छ । प्रमुख प्रशासकीय अधिकृत चुडामणी गुरागाईंले सिस्टम नचलेको कारण अन्तिम तथ्यांक निकालिएको छैन । यो प्रारम्भिक तथ्यांक हो । यसमा थपघट पनि हुन सक्छ । उनका अनुसार चालु बजेट तर्फ नगरपालिकाको ९१ प्रतिशत र पुँजीगततर्फ ८२ प्रतिशत बजेट खर्च भएको छ ।

 

images
images

प्रतिक्रिया दिनुहोस्