images
images
images

नमस्ते नेपालको आयोजनामा कानुनी सचेतना तथा तीजको शुभकामना कार्यक्रम

images

धनकुटा। महिलाहरूले नेतृत्व गरेको गैरसरकारी संस्था नमस्ते नेपाल ले आफ्नो ९ औँ वार्षिकोत्सव तथा साधारण सभाको अवसरमा धनकुटामा विशेष कार्यक्रम आयोजना गरेको छ । महिला कानुनी सचेतना तथा तीज पर्वको शुभकामना आदान–प्रदान गर्ने उद्देश्यले आयोजना गरिएको कार्यक्रममा धनकुटा नगरका प्रमुख, जनप्रतिनिधि, सुरक्षाकर्मी, चिकित्सक, संघ–संस्थाका पदाधिकारी, महिला दिदीबहिनी तथा स्थानीय नागरिकहरूको उल्लेख्य उपस्थिति रहेको थियो ।

कार्यक्रमको उद्घाटन धनकुटा नगरपालिकाका मेयर चिन्तन तामाङले गरेका थिए । उनले तीज पर्वलाई केवल गीत–नृत्य र मनोरञ्जनको पर्व मात्र नभई, महिलाबीच आत्मीयता, एकता र संस्कृतिको संरक्षण गर्ने माध्यमका रूपमा पनि लिनुपर्ने धारणा राखे । धनकुटाका प्रमुख जिल्ला अधिकारी टुवराज पोखरेलले तीज पर्वले महिलामा नयाँ उत्साह, आत्मबल र सामाजिक सहभागिता बढाउने बताउँदै सबैलाई शुभकामना दिए ।

images
images

सो अवसरमा धनकुटा नगरपालिकाकी उपमेयर भीमादेवी खनालले तीजले महिलामा चेतना र जागरण ल्याउने, समाजमा सकारात्मक सन्देश प्रवाह गर्ने, र सांस्कृतिक धरोहरलाई भावी पुस्तामा हस्तान्तरण गर्ने माध्यमका रूपमा काम गर्ने उल्लेख गरिन्  । धनकुटा उद्योग वाणिज्य संघका अध्यक्ष विजय सन्तोषी राईले तीजलाई धार्मिक, सांस्कृतिक र सामाजिक पर्वको रूपमा बहुआयामिक अर्थमा मनाउनुपर्ने आवश्यकता औंल्याए ।

नमस्ते नेपालकी अध्यक्ष अम्विका धमलाको अध्यक्षतामा सम्पन्न कार्यक्रममा जिल्ला प्रहरी कार्यालयका प्रहरी निरीक्षक किशोर तामाङले महिला हिंसा न्यूनीकरण र कानुनी उपचारका उपायबारे प्रशिक्षणात्मक प्रस्तुति दिए ।  त्यस्तै, जिल्ला अस्पतालका चिकित्सक डा. समानकंन पोखरेलले एसीएमसी (Adolescent and Community Maternal Care) सम्बन्धी स्वास्थ्य सचेतना र व्यावहारिक उपायबारे जानकारी दिए ।

कार्यक्रममा धनकुटा पुरुष सञ्जालका संयोजक धनबहादुर खड्का लगायत विभिन्न संस्थाका प्रतिनिधिहरूले शुभकामना मन्तव्य व्यक्त राखेका थिए । उपस्थित प्रमुख अतिथि, विशिष्ट अतिथि तथा महिला सहभागीहरूले एक–आपसमा शुभकामना साटासाट गर्दै नाचगानमा रमाइलो गरेका थिए । साथै, आयोजक संस्थाले तीज पर्वको परम्परागत परिकार दर खुवाएर सहभागीबीच आत्मीयता बढाएको थियो ।

नमस्ते नेपालका महासचिव मुना पोखरेलले सञ्चालन गरेको कार्यक्रममा संस्थाको वार्षिक प्रतिवेदन प्रस्तुत गरिएको थियो । साधारण सभाले विधान संशोधन गर्ने, आगामी वर्षका कार्यक्रम तय गर्ने तथा संस्थागत सुदृढीकरणमा विशेष जोड दिने निर्णय गरेको अध्यक्ष धमलाले जानकारी दिए ।

images
images

प्रतिक्रिया दिनुहोस्