धनकुटा । तमोर करिडोर अन्तर्गत चौविसे गाउँपालिका–४ फलामेटारस्थित छरुवा खोलामा आएको भीषण बाढीले निर्माणाधीन पक्की पुलको पिल्लर बाहेकका सबै संरचना बगाएको छ।
अविरल वर्षापछि खोलामा आएको बाढीका कारण पुलको सम्पूर्ण संरचना बगाएको स्थानीय महेन्द्र न्यौपानेले जानकारी दिए । उनका अनुसार पुल बगेसँगै तमोर करिडोरमा सवारी साधनको आवतजावत पूर्णरूपमा ठप्प भएको छ।
आइतवार दिउँसो वर्षा केही समय रोकिए पनि फेरि निरन्तर परिरहेकाले छरुवा खोलासहित धनकुटा र पाँचथरको सीमा क्षेत्रमा पर्ने नावा खोलामा समेत बाढी बढेको छ ।
त्यसैगरी, तमोर कोरिडोर अन्तर्गत पर्ने चौविसे गाउँपालिका–४ भैसेटारस्थित वेशी फाँट क्षेत्रमा तमोर नदीको बाढीले निरन्तर कटान गरिरहेको स्थानीयले बताएका छन्। निरन्तरको कटान र बाढीका कारण क्षेत्रका बासिन्दा उच्च सतर्कतामा छन्।
प्रतिक्रिया दिनुहोस्