धनकुटा । धनकुटामा रहेको करदाता सेवा कार्यालय हटाउने तयारीको विरोध गर्दै उद्योगी, व्यापारी तथा करदाताहरूले उक्त कार्यालयलाई नहटाई स्तरउन्नती गरी पूर्वी पहाडी जिल्लाहरूका लागि आन्तरिक राजश्व कार्यालयको रूपमा कायम राख्न माग गरेका
छन् ।
धनकुटा उद्योग वाणिज्य संघले आज प्रधानमन्त्री, अर्थमन्त्री र आन्तरिक राजश्व विभागका महानिर्देशकलाई धनकुटा प्रमुख जिल्ला अधिकारी बिनोद कुमार खड्का मार्फत ज्ञापनपत्र पठाउँदै यस्तो माग गरेको हो । संघका अनुसार करदाता सेवा कार्यालय हटाइएमा यस क्षेत्रका उद्योगी, व्यवसायी तथा करदाताहरूलाई कर सेवामा ठूलो असुविधा हुने भएकाले उक्त निर्णय पुनर्विचार गर्नुपर्ने बताएका छन् ।
ज्ञापनपत्र बुझाउने टोलीमा धनकुटा उद्योग वाणिज्य संघका अध्यक्ष विजय सन्तोषी राई, वरिष्ठ उपाध्यक्ष मनकुमारी तितुङ, उपाध्यक्ष खगेन्द्र विष्ट, महासचिव रामबहादुर रायमाझी, कोषाध्यक्ष रुपेश श्रेष्ठ तथा कार्यकारी सदस्यहरू अम्बिका धमला, नविन श्रेष्ठ, शोभा श्रेष्ठ, उज्वल कर्माचार्य लगायत उद्योगी, व्यवसायी र करदाताहरूको सहभागिता थियो । सो टोलीले सोही ज्ञापनपत्र करदाता सेवा कार्यालय धनकुटाका प्रमुख बुधराज लिम्बुलाई पनि बुझाएको छ।
कार्यक्रममा भीमदल गण सल्लेरी ब्यारेकका कर्णेल गणेश थापा, जिल्ला प्रहरी कार्यालय धनकुटाका डीएसपी राजन कार्की, जिल्ला प्रशासन कार्यालय धनकुटाका प्रशासकीय अधिकृतहरू पुष्पराज धमला र रामजी पौडेल, नेपाल पत्रकार महासंघ धनकुटाका अध्यक्ष विदुर खवास लगायत सञ्चारकर्मी तथा व्यवसायीहरूको उपस्थिति रहेको थियो।
धनकुटामा करदाता सेवा कार्यालय स्थापना भएको धेरै वर्ष भइसकेको र यसले यस क्षेत्रका उद्योगी, व्यापारी तथा करदाताहरूलाई प्रत्यक्ष कर सेवामा सहजता प्रदान गर्दै आएकोले स्थानीय पक्षले यस संस्थालाई हटाउने निर्णय प्रदेश र पहाडी क्षेत्रमा कर प्रशासन पहुँच कम गर्ने कार्य हुने चेतावनी दिएका छन् ।





हुलाकी पाटी 













प्रतिक्रिया दिनुहोस्