हिराराज राई
धनकुटा । साँगुरीगढी गाउँपालिकाको केन्द्र भेडेटार देखि महाभारत, आहाले हुँदै बराहक्षेत्र जोड्ने ग्रामीण सडक अन्तर्गत ढुंगे खण्डमा निर्माणको कामले तीब्रता पाएको छ । सडक निमार्णको कामले तीब्रता पाएसँगै त्यस क्षेत्रका स्थानीय उत्साहित भएका छन् । चालु आर्थिक वर्ष २०८१/८२ मा संघीय सरकारको भौतिक पूर्वाधार तथा यातायात मन्त्रालयबाट विनियोजन गरिएको ५ करोड रुपैयाँ बजेटबाट निर्माण कार्य सुरु गरिएको साँगुरीगढी गाउँपालिका वडा नं. ८ का वडाध्यक्ष हृदयनारायण प्रसाद राईले बताए ।
उनका अनुसार बजेट सुनिश्चितताले काम सुरु गरिएको छ । सडक निर्माण अन्तर्गत मेसिनरीको कल्भट, ग्याभिन जाली सहित अन्य संरचना निर्माणको काम धमाधम भइरहेको छ । १० मिटर चौडाइको मापदण्ड अनुसार सडक विस्तार गरिनेछ ।
सडकखण्ड अन्तर्गत ८ नं वडाको ढुङ्गेदेखि सुरु भई ९ नं वडाको आहाले थुटेबरसम्म स्तरउन्नोतिको काम सम्पन्न गरिनेछ। वडाध्यक्ष राईका अनुसार यो सडक निर्माणले विशेष गरी आहाले, महाभारत क्षेत्रका स्थानीयलाई राहत हुनेछ । कृषि, पर्यटन तथा स्थानीय व्यापारमा समेत टेवा पुग्नेछ ।
विशेष गरी आहाले क्षेत्रका वासिन्दा सोझै पालिका केन्द्र भेडेटार पुग्नेछन् । ढुंगे नजिकै वर्खाको बेला पहिरो खस्दा पटक पटक बाटो अवरुद्ध हुने गर्छ । पछिल्लो समय सुख्खा समयमा पनि पहिरो जाने गर्छ । बाटो अवरुद्ध हुँदा आहाले क्षेत्रका वासिन्दा धरान हुँदै पालिका जाने पर्ने वाध्यता छ ।



हुलाकी पाटी 














प्रतिक्रिया दिनुहोस्