धनकुटा । धनकुटाका स्थानीय तहमा बेरुजु रकम १ अर्ब १४ करोड रुपैयाँ नाघेको छ। महालेखा परीक्षकको कार्यालयले हालै सार्वजनिक गरेको आर्थिक वर्ष २०८०/८१ को वार्षिक प्रतिवेदनअनुसार जिल्लाका सात स्थानीय तहमा जम्मा १ अर्ब १३ करोड ९५ लाख ६५ हजार ८० रुपैयाँ बराबरको बेरुजु देखिएको हो ।
उक्त आर्थिक वर्षमा मात्रै स्थानीय तहहरूमा थप ११ करोड ८३ लाख ४ हजार ४८७ रुपैयाँ बेरुजु देखिएको छ। तर फछ्यौट भने तुलनात्मक रूपमा न्यून देखिएको छ। प्रतिवेदन अनुसार त्यही अवधिमा जम्मा २ करोड ८० लाख १४ हजार ८२२ रुपैयाँ बेरुजु मात्र फछ्यौट भएको हो ।
बेरुजु रकम वर्षेनि थपिँदै जानु र फछ्यौटको गति सुस्त हुनु स्थानीय तहहरूको वित्तीय व्यवस्थापन, पारदर्शिता र जवाफदेहितामाथि प्रश्न उठाउने विषय भएको प्रतिवेदनमा उल्लेख छ । जिल्लाका स्थानीय तहहरूमध्ये महालक्ष्मी नगरपालिकामा सबैभन्दा धेरै बेरुजु देखिएको छ भने चौविसे गाउँपालिकामा सबैभन्दा कम बेरुजु छ।
सबैभन्दा धेरै बेरुजु महालक्ष्मी नगपालिका र चौविसे गाउँपालिकामा सबैभन्दा कम
जिल्लाका सात स्थानीय तहमध्ये सबैभन्दा धेरै बेरुजु महालक्ष्मी नगरपालिकामा देखिएको छ। महालेखा प्रतिवेदनअनुसार महालक्ष्मीनगरपालिकामा हाल ३० करोड ७० लाख ६५ हजार ४०१ रुपैयाँ बेरुजु छ । यस वर्ष मात्रै सो नगरपालिकामा २ करोड २ लाख ८१ हजार ७५२ रुपैयाँ बेरुजु थपिएको छ । यस्तै जिल्लामै सबैभन्दा कम बेरुजु चौविसे गाउँपालिकामा देखिएको छ। हाल चौविसेमा ८ करोड ३ लाख ९४ हजार ४३८ रुपैयाँ बेरुजु छ । चालु आर्थिक वर्षमा ५८ लाख ५४ हजार ९७४ रुपैयाँ थपिएको हो । यसैगरी धनकुटा नगरपालिकामा कुल बेरुजु २३ करोड ९५ लाख ४३ हजार ९०२, यो वर्ष थपिएको १ करोड ४७ लाख ५० हजार ६०२, छथर जोरपाटी गाउँपालिकामा कुल बेरुजु १८ करोड १६ लाख ५२ हजार ८३, यो वर्ष थपिएको २ करोड ८९ लाख ४८ हजार ४४८ रहेको छ । पाख्रिवास नगरपालिकामा पनि कुल बेरुजु १४ करोड ७० लाख ६३ हजार २९७ रहेको मध्ये यो वर्ष २ करोड ८६ लाख १६ हजार ६७२ थपिएको छ । साँगुरीगढी गाउँपालिकामा कुल बेरुजु १० करोड २ लाख ६६ हजार ९८७ रहेको छ । यो वर्ष ३७ लाख ५२ हजार ५०४ थपिएको छ । यो वर्षको न्यूनतम बेरुजु वृद्धि हो । यसै गरी सहिदभूमि गाउँपालिकामा पनि कुल बेरुजु ८ करोड ३५ लाख ७८ हजार ९७२ रहेको छ । साे गाउँपालिकामा यो वर्ष १ करोड ६० लाख ९९ हजार ५३५ थपिएको प्रतिवेदनमा उल्लेख छ ।

फछ्यौटमा पाख्रिवास कमजोर, महालक्ष्मी अगाडि
बेरुजु फछ्यौटका दृष्टिले धनकुटाका स्थानीय तहहरूबीच ठूलो असमानता देखिएको छ । महालेखा परीक्षकको कार्यालयले सार्वजनिक गरेको आर्थिक वर्ष २०८०/८१ को प्रतिवेदनअनुसार फछ्यौटमा महालक्ष्मी नगरपालिका सबैभन्दा अगाडि देखिएको छ भने पाख्रिवास नगरपालिका अत्यन्त कमजोर देखिएको छ । महालक्ष्मी नगरपालिकाले १ करोड ३९ लाख ३९ हजार ३५१ रुपैयाँ बेरुजु फछ्यौट गरेको छ । तर अर्कोतर्फ, पाख्रिवास नगरपालिकाले जम्मा ६ हजार ३७५ रुपैयाँ मात्र बेरुजु फछ्यौट गर्न सकेको छ। चालु वर्षमा मात्रै पाख्रिवासमा २ करोड ८६ लाख १६ हजार ६७२ रुपैयाँ बेरुजु थपिएको थियो । यससँगै हाल सो नगरपालिकाको कुल बेरुजु १४ करोड ७० लाख ६३ हजार २९७ रुपैयाँ पुगेको छ।
चौविसे गाउँपालिकाले ७ लाख २७ हजार ५३६ रुपैयाँ, सहिदभूमि गाउँपालिका १४ लाख ५३ हजार ५६३ रुपैयाँ, साँगुरीगढी गाउँपालिकाले ६१ लाख ८६ हजार ५१७ रुपैयाँ, छथरजोरपाटी गाउँपालिकाले ३ लाख १८ हजार ३६४ रुपैयाँ र धनकुटा नगरपालिकाले ५३ लाख ८३ हजार ११५ रुपैयाँ बेरुजु फछ्याैट गरेको छ ।




हुलाकी पाटी 














प्रतिक्रिया दिनुहोस्