जीवनप्रसाद राई
धनकुटा भौगोलिक रूपमा बरदान प्राप्त जिल्ला हो । भोजपुर, संखुवासभा र तेह्रथुमजस्ता जिल्लामा पुग्नका लागि पहिलेदेखि नै धनकुटा हुँदै जानुपर्ने अवस्था रहँदै आएको छ । पछिल्लो समयमा तमोर कोरिडोर सञ्चालनमा आएसँगै यो पहुँच झनै सहज बनेको छ । यसले ताप्लेजुङ, पाँचथर र इलाम जिल्लासँगको आवत–जावतलाई पनि सरल बनाएको छ । सडक पहुँच तथा यातायातका वैकल्पिक साधनका कारण पश्चिम उदयपुर र खोटाङ जिल्लासँग समेत आंशिक पहुँच विस्तार भएको छ ।
अधिक जनसंख्या र बजार सम्भावना भएका तराईका मोरङ, झापा र सुनसरी जिल्लाहरू धनकुटाका लागि ठूलो अवसर हुन् । यो भौगोलिक अनिवार्यता र सहजतालाई सूक्ष्म रूपमा विश्लेषण गर्दै धनकुटामा कृषि र पर्यटन क्षेत्रका विषयमा अब अनिवार्य रूपमा राजनीतिक प्रतिबद्धता आउनै पर्दछ ।
क) कृषि उत्पादनको मास्टर प्लान, प्रशोधन उद्योग र स्रोत केन्द्र निर्माणका लागि प्रतिबद्धता : पहाडी क्षेत्रमा आठ जिल्ला र तराईमा तीन जिल्ला गरी जम्मा ११ जिल्लासँग प्रत्यक्ष सम्बन्ध रहेको धनकुटाले कृषि योजना बनाउँदा यी सबै जिल्लालाई समेटेर अघि बढ्नुपर्दछ । धनकुटा जिल्लामा स्कुस खेती र यसको प्रवर्द्धन पहिलो प्राथमिकतामा पर्नुपर्छ । स्कुस खेती सहज हुनुका साथै प्रशोधन उद्योगमार्फत विभिन्न वस्तु उत्पादन गर्न सकिने ठूलो सम्भावना छ । स्कुसलाई कच्चा पदार्थका रूपमा प्रयोग गरी उद्योग स्थापना गर्न सकिने भएकाले यसलाई कृषि, कृषि पर्यटन र उद्योगबीचको सेतुका रूपमा विकास गर्न सकिन्छ । त्यसैले स्कुस खेतीको विस्तार र प्रवर्द्धन धनकुटाका चुनावी उम्मेदवारहरूले ध्यान दिनुपर्ने प्रमुख विषय हो ।
यसैगरी पाख्रीबासको कालो सुँगुर मासुका रूपमा मात्र नभई राई र लिम्बु समुदायको पूजा–आज तथा संस्कारमा अनिवार्य रूपमा प्रयोग हुने पशु हो । कालो सुँगुरमार्फत आर्थिक, सामाजिक र रोजगारी सिर्जनाका तीनवटै पक्षलाई एकसाथ सम्बोधन गर्न सकिन्छ । निजी क्षेत्रको सहकार्यमा स्रोत केन्द्र स्थापना गरी यसबाट ठूलो लाभ लिन सकिन्छ । धनकुटालाई कालो सुँगुरको पकेट क्षेत्रका रूपमा विकास गर्न सके आर्थिक गतिविधि उल्लेखनीय रूपमा बढ्नेछ र प्रशस्त रोजगारी सिर्जना हुनेछ । सरोकारवालाहरूको आवत–जावतले पर्यटन क्षेत्रको विकासमा समेत योगदान पुग्नेछ । साथै सुँगुर प्रशोधन उद्योगमार्फत अन्य आर्थिक क्रियाकलापहरू पनि विस्तार गर्न सकिन्छ ।
कृषिमा उत्पादनसँगै ब्रान्डिङ, प्याकेजिङ र प्रशोधन उद्योगमा विशेष ध्यान दिन आवश्यक छ । उदाहरणका लागि, एभोकाडोको ब्रान्डिङका लागि धनकुटाले स्पष्ट योजना बनाउनै पर्दछ । निजी क्षेत्रलाई आकर्षित गर्ने कार्यक्रमहरू ल्याउनुपर्छ । मसलाजन्य बालीका रूपमा अदुवा र बेसार उद्योग, सुन्तलाका स्रोत केन्द्रलाई थप प्रभावकारी बनाउने कार्य, घाँस खेती र यसको ब्रान्डिङ, गाईभैंसी पालन तथा दूध उत्पादन, दूधजन्य पदार्थका प्रशोधन उद्योगलगायत विषयलाई प्राथमिकताका साथ अघि बढाउन जरुरी छ ।
त्यसैगरी मौरीपालन, चरणक्षेत्र विकास तथा महमा आधारित उद्योगहरूका लागि विशेष पकेट क्षेत्र घोषणा गर्नुपर्छ । यसलाई कृषि उत्पादन र पर्यटनसँग जोड्ने माध्यमका रूपमा समेत विकास गर्न सकिन्छ ।
ख) पर्यटन क्षेत्र विकासका लागि प्रतिबद्धता : धनकुटालाई प्रकृतिले नै पर्यटन विकासका लागि उपयुक्त बनाएको छ । संसारकै सबैभन्दा होचो उपत्यकाका रूपमा चिनिने अरुण उपत्यका क्षेत्रमा विभिन्न प्रजातिका चराहरू पाइन्छन् । यस क्षेत्रलाई चरा अवलोकन तथा अध्ययन केन्द्रका रूपमा विकास गर्नुपर्छ । चरा अवलोकन गर्ने पर्यटकको संख्या कम भए पनि उनीहरूको बसाइ अवधि लामो हुने भएकाले आर्थिक रूपमा अत्यन्त प्रभावकारी हुन्छ । त्यसैले अरुण उपत्यका र यहाँ पाइने विविध चराहरूलाई केन्द्रमा राखेर पर्यटन विकासको स्पष्ट योजना अघि सार्नुपर्छ ।
धार्मिक पर्यटन विकास र यसको बजारीकरण आवश्यक पर्ने महत्वपूर्ण क्षेत्रहरूमा नागेश्वर मन्दिरको ऐतिहासिकता, छिन्ताङदेवीको महत्व, त्रिवेणी क्षेत्रका किंवदन्तीहरू, मधुगंगा भीरगाउँ, साततले लुङधाङ गुफालगायत पर्दछन् । यी क्षेत्रहरूको प्रभावकारी पहिचान र बजारीकरणका लागि राजनीतिक प्रतिबद्धता अत्यन्त जरुरी छ । केन्द्र सरकारबाट विशेष बजेट प्राथमिकतामा पारेर राष्ट्रिय तथा अन्तर्राष्ट्रिय स्तरमा प्रचार–प्रसार गर्नुपर्छ ।
विशेषतः धनकुटामा मात्र बसोबास गर्ने आठपहरिया जातिको कला, संस्कृति र रीतिरिवाजलाई युनेस्कोमा सूचीकृत गर्न सके पर्यटन क्षेत्रबाट ठूलो लाभ लिन सकिन्छ । युनेस्कोमा सूचीकृत हुनु भनेको वार्षिक करिब ४० लाख डलर अर्थात् झन्डै ५० करोड रुपैयाँ नेपाल भित्रिनु हो । राजनीतिक प्रतिबद्धता र इमान्दारिताको अभावले हालसम्म यो सम्भव हुन सकेको छैन । यसलाई आगामी चुनावको प्रमुख एजेन्डा बनाउनै पर्दछ ।
निष्कर्ष : घोषणापत्र राजनीतिक दलहरूको मार्गदर्शक दस्तावेज हो । त्यसैले घोषणापत्र स्पष्ट, व्यवहारिक र दूरदर्शी हुनुपर्छ । चुनावमा कुनै न कुनै दल विजयी हुन्छ । तर हाम्रो संसदीय अभ्यासमा दोस्रो वा तेस्रो स्थानमा आउने दलहरू समेत सरकारमा सहभागी हुन सक्ने भएकाले सबैले आफ्नो एजेन्डा मजबुत बनाउनु आवश्यक छ ।
माथि उल्लेखित कृषि र पर्यटनका विषयलाई प्रमुख प्राथमिकतामा राखौं । यी सरोकार जित्नु भनेको धनकुटाको जित हो ।
जय कृषि पर्यटन, जय धनकुटा ।



हुलाकी पाटी 













प्रतिक्रिया दिनुहोस्