images
images
images

लक्ष्यअनुसार राजस्व संकलन सन्तोषजनक छैन, लक्ष्य भेट्ने गरी काम गर्नुपर्छ : अर्थमन्त्री पौडेल

images

काठमाडौँ । उपप्रधानमन्त्री तथा अर्थमन्त्री विष्णुप्रसाद पौडेलले सरकारी राजस्व सङ्कलनमा गत वर्षको तुलनामा केही सुधार देखिए पनि चालु आर्थिक वर्षको लक्ष्य भेट्न नसकेको बताएका छन् ।
भन्सार विभागले आज आयोजना गरेको ७३औँ अन्तर्राष्ट्रिय भन्सार दिवसका अवसरमा अर्थमन्त्री पौडेलले राजस्व सङ्कलनमा राखेको वार्षिक लक्ष्य पूरा गर्न चाप देखिएकाले भन्सारलगायत कर प्रशासनले चुस्त रुपमा काम गर्नुपर्ने उल्लेख गरे।“अहिले हामी राजस्वको लक्ष्यका हिसाबले चापमा छौँ । गत वर्षको तुलनामा केही बढेको भएपछि यस वर्षका लागि तोकिएको लक्ष्यअनुसार सन्तोषजनक छैन । हामीले यो वर्षका लागि निर्धारण भएको लक्ष्य भेट्ने गरी काम गर्नुपर्छ”, अर्थमन्त्री पौडेलले भने ।
सार्वजनिक सेवा प्रवाहमा सुधार गर्न, निजी क्षेत्रको मनोबल उकास्न र लगानीयोग्य वातावरण सिर्जना गर्न सरकारले अध्यादेशमार्फत केही कानुनहरु ल्याएकामा निजी क्षेत्रबाट पनि सरकारको सो कदमको स्वागत भएको जिकिर उनको छ ।“अहिले अर्थतन्त्रमा देखिएका समस्या समाधान गर्ने, उत्पादन–उत्पादकत्व र आर्थिक वृद्धिका लागि सरकारले चालेको यो कदम अन्तिम होइन । यस्ता कदम थप चाल्दै जानेछौँ”, मन्त्री पौडेलले थप भने, “यो सरकार बन्दै गर्दा अर्थतन्त्रमा जुन निराशा र शिथिलता थियो, त्यसलाई चिर्न सरकार सफल भएको छ । निराशालाई आशामा बदलेर अर्थतन्त्रमा गतिशीलता दिनुपर्छ भन्ने दिशामा सरकार निर्देशित छ । सबैले यही भावनाका साथ काम गरौँ ।”यस्तै, भन्सार कार्यालय र सुरक्षा निकायबीच समन्वय बढाउनुपर्नेमा पनि अर्थमन्त्री पौडेलले जोड दिएका छन् । “लक्ष्यअनुसार राजस्व सङ्कलन गर्नका लागि सुरक्षा संयन्त्र र भन्सार प्रशासनबीच समन्वय आवश्यक छ । सरकारले तपाईंहरुले गरेको कामको परिणामका आधारमा मूल्याङ्कन गर्छ”, अर्थमन्त्री पौडेलले भने ।
कार्यक्रममा राजस्व सचिव दिनेशकुमार घिमिरेले भन्सार प्रशासन सुधारका लागि प्रविधिको प्रयोग बढाउँदै लैजाने र जाँचपास प्रक्रियालाई सहज बनाउन सरकार गम्भीर रहेको उल्लेख गरे।
“भन्सार प्रशासनको कार्यक्षमता बढाउने विषयमा हामी गम्भीर छौँ । कर्मचारीको तजबिजी अधिकार घटाउनका लागि कार्यदक्षता बढाउनुपर्ने र प्रविधिको प्रयोगमा जोड दिनुपर्ने हुन्छ । यसका लागि जाँचपासमा ‘ब्लकचेन’ प्रविधिलाई प्रयोग गरेर अघि बढ्नुपर्नेबारे मन्त्रालयले सोचिरहेको छ”, उनले थपे, “एकीकृत भन्सार प्रणालीलाई अघि बढाउने र सन्दर्भ मूल्य सूचीसम्बन्धी व्यवस्थालाई अब कसरी अघि बढाउने भनेर पनि आन्तरिक गृहकार्य भइरहेको छ ।” भन्सार प्रशासनलाई पूर्ण स्वचालित बनाउनका लागि प्रविधिको प्रयोग बढाउँदै लगिएको भनाइ सचिव घिमिरेको छ ।
भन्सार विभागका महानिर्देशक हरिशरण पुडासैनीले वार्षिक लक्ष्यअनुसार राजस्व उठाउन विभागले अधिकतम प्रयास गरिरहेको उल्लेख गरे । “उन्नत प्रविधिको प्रयोगबाट भन्सार प्रशासन चुस्त बनाउने, व्यापार सहजीकरण र लागत घटाउने, अन्तर्राष्ट्रियस्तरको सेवा दिनेलगायत कुरामा हामी सचेत छौँ”, महानिर्देशक पुडासैनीले थपे, “यसमा निजी क्षेत्रबाट पनि आवश्यक सहयोग हुने हो भने राज्यले दिएको लक्ष्यअनुसार हामी राजस्व उठाउन सक्छौँ ।”

images
images

प्रतिक्रिया दिनुहोस्