काठमाडौँ । नेपाल व्यवस्थापन संघले आफ्नो ४४औं वार्षिक साधारणसभा तथा राष्ट्रिय व्यवस्थापन सम्मेलन सम्पन्न गरेको छ। उक्त सम्मेलनको उद्घाटन उपप्रधान तथा अर्थमन्त्री विष्णुप्रसाद पौडेलले गरेका थिए । उनले अर्थतन्त्रमा सुधारका लागि सरकार सार्वजनिक–निजी साझेदारी र निजी क्षेत्रको लगानी प्रवर्द्धन गरिरहेको जानकारी गराए ।
सम्मेलनमा पूर्वाधार फाइनान्सिङमा आन्तरिक स्रोत परिचालनसम्बन्धी अध्ययन प्रतिवेदन प्रस्तुत गरिएको थियो । उक्त प्रतिवेदन अध्येता कृष्णप्रसाद आचार्यले प्रस्तुत गरेका थिए भने लगानी बोर्ड नेपालका प्रमुख कार्यकारी अधिकृत सुशील ज्ञवाली र अर्थशास्त्री विश्वास गौचनले प्रतिवेदनमाथि टिप्पणी गरेका थिए । अध्ययनमा आधारित छलफल सत्रमा बीमा, सञ्चय कोष, विश्वविद्यालय तथा पूर्वाधार बैंकका प्रमुख वक्ताहरूले परियोजना कार्यान्वयन र पूर्वतयारीमा जोड दिएका छन् ।
दीर्घकालीन कोष परिचालनसम्बन्धी छलफलमा नागरिक लगानी कोष, कर्मचारी सञ्चय कोष, सामाजिक सुरक्षा कोष, पेन्सन फण्ड, जीवन बीमा फण्डलगायतका संस्थाहरूको करिब १५.५ खर्ब रुपैयाँको कोष रहेको छ । यसमध्ये ठूलो हिस्सा पूर्वाधार क्षेत्रमा लगानी गर्न सकिने सम्भावना देखिएको छ। हालसम्म औसतमा ८ प्रतिशत मात्र पूर्वाधारमा लगानी परिचालित भए पनि कर्मचारी सञ्चय कोषले १६.५ प्रतिशत लगानी गरेको उल्लेख गरेको छ ।
नेपाल व्यवस्थापन संघले हरेक वर्ष प्रदान गर्ने ‘म्यानेजर अफ द इयर अवार्ड’ बाट यस वर्ष उर्मिला श्रेष्ठलाई सम्मानित गरेको छ । श्रेष्ठले साल्ट ट्रेडिङ कर्पोरेसनमा ३७ वर्ष सेवा पुर्याएर वित्तीय दिगोपनामा उल्लेखनीय योगदान दिएको कदर स्वरुप उनलाई सो अवार्डबाट सम्मानित गरिएको हो ।

त्यस्तै, ‘वुमन म्यानेजर रिकगनिसन अवार्ड’ स्नेहा राजभण्डारीलाई दिइएको छ । बोटलर्स नेपाल लिमिटेडकी पब्लिक अफेयर्स, कम्युनिकेसन्स तथा सस्टेनेबिलिटी निर्देशकको रूपमा उनलाई कर्पोरेट सस्टेनेबिलिटी, नियामकीय मामिला तथा लैंगिक समावेशीकरणमा महत्वपूर्ण भूमिका खेलेकोमा दिइएको हो ।
यसैगरी, संघले पूर्वमुख्य सचिव तथा पूर्वअध्यक्ष डा.विमल कोइरालालाई सार्वजनिक नीति तथा प्रशासनिक सुधारमा पुर्याउनुभएको योगदानका लागि विशेष सम्मान प्रदान गरेको छ।
कार्यक्रममा नेपाल व्यवस्थापन संघका अध्यक्ष मोहनराज ओझाले दीर्घकालीन कोषलाई पूर्वाधार क्षेत्रमा परिचालित गर्दै रोजगारी र उत्पादन वृद्धिमा ध्यान दिनुपर्नेमा जोड दिए । सम्मेलनले व्यवस्थापन र पूर्वाधार विकासमा दीर्घकालीन कोषको महत्त्वलाई उजागर गरेको छ।



हुलाकी पाटी 













प्रतिक्रिया दिनुहोस्