धनकुटा । चौविसे गाउँपालिका वडा नं. ६ हात्तिटारस्थित शिखरपुर खेल मैदानमा आजदेखि तेस्रो जय दगलसिंह शिखरपुर गोल्डकप फुटवल प्रतियोगिता सुरु भएको छ । प्रतियोगिताको समुद्घाटन प्रमुख अतिथि चौविसे गाउँपालिका अध्यक्ष राजकुमार लिम्बुले गरेका थिए ।
उद्घाटन खेलमा धरानको राष्ट्रिय जागृति फुटवल क्लवलाई शुन्यका विरुद्ध २ गोलले पराजित गर्दै साँगुरीगढीको पञ्चकन्या स्पोर्टिङ क्लवले विजयी सुरुवात गरेको छ । पञ्चकन्याको जितमा सुरज चौधरी र तोषण कार्कीले गोल गरे । खेल सुरु भएको २५ औं मिनेटमा गोल गर्दै सुरजले पञ्चकन्यालाई अग्रता दिलाए । खेलको ४७ औं मिनेटमा तोषण कार्कीले गोल गर्दै पञ्चकन्याको अग्रता दोब्बर बनाए । खेलको म्यान अफ द म्याच पञ्चकन्याका सुरज चौधरी घोषित हुँदै नगद २ हजार ५ सय रुपैया सहित मेडल प्राप्त गरे ।
त्यस्तै आयोजक हात्तिटार स्पोट्र्स क्लव र धरानको देउराली फुटवल क्लव वीचको खेल खराव मौसमको कारण स्थगित भएको छ । निर्धारित समय गोलरहित वरावरीमा सकिएपछि खेल पेनाल्टी सुटआउटमा धकेलिएको थियो । अध्यारो भएको कारण पेनाल्टी सुटआउट हुन सकेन । खेल स्थगित गरिएको थियो । स्थगित गरिएको खेल भोली शनिवार विहान ९ बजे संचालन हुने आयोजक समितिका सदस्य रकेट राईले बताए ।
हात्तिटार स्पोट्र्स क्लवको आयोजनामा सुरु भएको प्रतियोगिताको विजेताले नगद १ लाख ५० हजार रुपैया सहित ट्रफी र प्रमाणपत्र प्राप्त गर्ने छ । भने उपविजेता हुने टिमले नगद ७५ हजार रुपैया सहित ट्रफी र प्रमाण पत्र प्राप्त गर्ने आयोजक हात्तिटार स्पोट्र्स क्लवका अध्यक्ष रत्नबहादुर राईले बताए ।
आगामी नयाँ वर्षको पहिलो दिन २०८२ को वैशाख १ गते सम्म संचालन हुने प्रतियोगिता संचालनको लागि १४ लाख रुपैया खर्च हुने अनुमान गरिएको छ । प्रतियोगितामा ८ टिमको सहभागिता रहेको छ । सहयोगी संस्थाको रुपमा चौविसे गाउँपालिका रहेको प्रतियोगितालाई प्रायोजक हिमालय ब्रुवरी लिमिटेडले गरेको छ । इन्टरनेट पाट्नर ईलिङ नेट प्रा.लि र मिडिया पाट्नरको रुपमा मेरो गन्तव्य र हुलाकीपाटी अनलाइन न्यूज पोर्टल रहेको छ । सम्पूर्ण खेलको प्रत्यक्ष प्रशारण मेरो गन्तव्य फेसवुक पेज र यूट्यूवबाट भइरहेको छ ।



हुलाकी पाटी 














प्रतिक्रिया दिनुहोस्